काठमाडौँ । तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङसहितको टोलीले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङसँग काठमाडौंमा भेटघाट गरेको छ । नेपाल बसाइको अन्तिम दिन काठमाडौँ म्यारियट होटल, नक्सालमा भएको भेटमा पार्टीका सचिव तथा कोषाध्यक्षको पनि सहभागिता थियो ।
भेटका क्रममा २०२५ मा तमु धीं बेलायतले आयोजना गरेको १६औँ नेपाली मेलामा सहभागी भएकोमा घिसिङलाई धन्यवाद दिइएको थियो । साथै, नेपालको समसामयिक राजनीति, विदेशमा रहेका नेपालीको नागरिकता, विदेशी लगानी र ऊर्जा क्षेत्रबारे विचार आदानप्रदान भएको थियो ।
अध्यक्ष घिसिङले विदेशमा रहेका नेपाली तथा उनीहरूका सन्तानको वंशजको नागरिकताको निरन्तरताका विषयमा आफ्नो पार्टीले आवाज उठाउँदै आएको बताए । उनले जलविद्युत्, सौर्य ऊर्जा, चार्जिङ स्टेसन र डेटा सेन्टरलगायत क्षेत्रमा लगानीको सम्भावना रहेको उल्लेख गरे ।
नेपालमा विद्युत् आपूर्ति सहज हुँदै विद्युत् निर्यात गर्न सक्ने अवस्था बन्नु महत्वपूर्ण उपलब्धि भएको बताउँदै घिसिङले रसुवा बाढीका कारण जलविद्युत् आयोजनामा परेको क्षतिबारे पनि चर्चा गरे ।
भेटको अन्त्यमा तमु धीं यूकेले सन् २०२७ मा आयोजना गर्ने २५औँ गोर्खा कप तथा स्वर्ण महोत्सवमा सहभागी हुन घिसिङलाई निमन्त्रणा दिएको छ । कार्यक्रममा आपसी सहकार्य, सामाजिक योगदान र प्रवासमा रहेका नेपाली समुदायका विषयमा समेत छलफल भएको थियो ।