काठमाडौँ । तमु धीं यूके र रसुवाको उत्तरगया गाउँपालिकाकी उपाध्यक्ष चमेली गुरुङबीच आर्थिक अवस्था कमजोर भएका मृतक परिवारका लागि सामूहिक घेवा गर्ने विषयमा छलफल भएको छ।
सुनधारास्थित आशीर्वाद होटलको बैठक कक्षमा भएको विशेष छलफलमा उत्तरगया गाउँपालिका, रसुवामा आर्थिक अवस्था कमजोर भएका मृतक परिवारका लागि सामूहिक घेवा गर्ने सम्भावनाबारे छलफल गरिएको हो ।
रसुवाबाट विस्थापित भएर नुवाकोटमा बसोबास गर्दै आएका पीडित घरपरिवारसँग छलफल गर्दा अहिलेको मुख्य समस्या घेवा गर्ने स्थान र त्यसका लागि लाग्ने खर्च रहेको जानकारी आएको थियो ।
तीन दिनसम्म गरिने घेवा पनि एक दिनमै सीमित गरेर गर्नुपर्ने अवस्था रहेको र ४९ दिनभित्र घेवा गर्न नसक्ने परिवारसमेत रहेकाले आर्थिक अवस्था कमजोर भएका परिवारका लागि सामूहिक घेवा गर्ने प्रस्ताव अघि सारिएको हो ।
नुवाकोटका समाजघर तथा गुम्बाहरूमा समय लिन कठिन भइरहेको अवस्थामा धेरै परिवारले आफ्नै घरमा परिवारका सदस्यबीच एकै दिन घेवा गर्दै आएका छन् । यस्तो अवस्थामा आर्थिक अवस्था कमजोर भएका परिवारलाई सामूहिक रूपमा घेवा गरिदिने विषयमा छलफल भएको जनाइएको छ ।
छलफलमा तमु धीं यूकेका अध्यक्ष श्री जुमकाजी गुरुङ, उपाध्यक्ष श्री कमल गुरुङ, महासचिव डा. विशाल गुरुङ, सचिव बिमल गुरुङ, आमा प्रमुख कमला देवी गुरुङ, पत्रकार तथा कार्यक्रम संयोजक डण्ड गुरुङ, लक्ष्मण गुरुङ, काठमाडौँ पोस्टका वासुदेव श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
यूकेबाट सहयोग गर्ने दातालाई उपाध्यक्ष गुरुङले धन्यवाद दिएकी थिइन् । उनले धन्यवादपत्रमा हस्ताक्षरसमेत गरेकी थिइन् ।
साथै, उपाध्यक्ष गुरुङले सामूहिक घेवा गर्ने विषयमा थप छलफल गरी आवश्यक समन्वय र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।