पोखरा । तमु धीं यूकेको टोलीलाई पोखरामा भव्य स्वागत तथा सम्मान गरिएको छ ।
तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, आमा समूहका अध्यक्ष कमला देवी गुरुङ, उपाध्यक्ष कमल गुरुङसहितको टोलीलाई तमु धीं नेपाल तथा विभिन्न संघ-संस्थाका प्रतिनिधिले स्वागत गरेका हुन् ।
स्वागतका अवसरमा पोखरा-८ स्थित तमु धीं नेपालको प्रांगणमा विशेष कार्यक्रम आयोजना गरिएको थियो । तमु धीं यूकेको टोली रसुवा-भोटेकोसी बाढीका पीडितलाई राहत एवं सहयोग प्रदान गरेर पोखरा पुगेको हो ।
टोलीले प्रधानमन्त्री राहत कोषमा १ करोड ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको थियो भने बाढी प्रभावित क्षेत्रमै पुगेर पीडितलाई राहत सामग्रीसमेत वितरण गरेको थियो ।
राहत वितरण टोलीमा अध्यक्ष जुमकाजी गुरुङसहित, वरिष्ठ उपाध्यक्ष परशु गुरुङ, आमा समूहका अध्यक्ष कमला देवी गुरुङ, उपाध्यक्ष कमल कोने गुरुङ, महासचिव डा. विशाल गुरुङ, सचिव विमल गुरुङलगायत सहभागी थिए।त्यसपछि टोली पोखरा पुगेको हो ।
स्वागतका क्रममा विपद्को कठिन समयमा पुर्याएको मानवीय सहयोगका लागि टोलीलाई धन्यवाद ज्ञापन गरिएको थियो । उनीहरूले आगामी दिनमा पनि यस्ता सामाजिक तथा मानवीय कार्यलाई निरन्तरता दिन आग्रह गरेका थिए । त्यसअघि पोखरा विमानस्थलमा पनि स्वागत गरिएको थियो ।
स्वागत तथा सम्मानका लागि तमु धीं यूकेले उपस्थित हुने सबैप्रति धन्यवाद तथा आभार व्यक्त गरेको थियो ।