काठमाडौं । पूर्वप्रधानाध्यापक भिमकुमार सेलिङको इतिहाससम्बन्धी ‘ओयाम दर्पण’ र छोरी गीतकार तथा लेखक लीला सेलिङ माबोको कविताकृति ‘सेप्म्माङ्लक’ एकैसाथ विमोचन गरिएको छ ।
याक्थुङ लेखक संघ उपत्यका समितिले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति मुन्धमविद् तिलविक्रम नेम्वाङ ‘बैरागी काइँला’ले सेलिङ बाबुछोरीको नयाँ कृति विमोचन गरेका हुन् । पुस्तक विमोचन समारोहमा विशिष्ट अतिथि कवि प्राज्ञ श्रवण मुकारुङ, प्राज्ञ अमर तुम्याहाङ, लिम्बु भाषाविद् यहाङ लावती, लेखक तथा पत्रकार जीके पोखरेल, लेखक डिल्लीराम पोखरेल, साहित्यकार सन्दीप राईलगायत उपस्थित थिए ।
यस्तै मदन पुरस्कार विजेता पूर्व प्रमुख जिल्ला अधिकारी भगिराग इङ्नाम, नेपाल आदिवासी जनजाति महासंघका पूर्वमहासचिव आङ्काजी शेर्पा, जनता समाजवादी पार्टीका नेता खगेन्द्र माखिम, किरात याङ्थुङ चुम्लुङ केन्द्रीय अध्यक्ष प्राध्यापक प्रेम यक्तेन, नेपाल आदिवासी जनजाति महासंघका वरिष्ठ उपाध्यक्ष बुद्ध घर्तीमगरलगायत विभिन्न संघ संस्थाका अध्यक्ष, प्रतिनिधिहरु, चलचित्र निर्माता शैलेन्द्र नाल्बो, निर्देशक हाङ चेम्जोङलगायत उपस्थित थिए ।
भिमकुमारको यो दोस्रो कृति हो भने लीलाको तेस्रो कृति हो । उनले नेपाली,अंग्रेजी र लिम्बु भाषामा लेख्दै आएकी छन् ।
शिक्षा क्षेत्रमा चार दशकभन्दा धेरै समय बिताएका भिमकुमार पाँचथरको याङ्वरक ३, ओयाममा रहेको श्री गुप्तेश्वर माध्यमिक विद्यालयका पूर्व प्रअ तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष हुन् । उनले वि.सं २०७८ मा ‘शिक्षामा चौवालीस वर्ष’ पुस्तक प्रकाशित गरेका थिए ।
छोरी लीलाको पहिलो कवितासंग्रह 'लाहुरेनी पीडा', ‘मेम्मोवाज अफ ए गोर्खा वाइफ ड्युरिङ लकडाउन’ (बायोग्राफी) प्रकाशित भइसकेका छन् । नेपाली भाषा तथा लिम्बू भाषामा आधा दर्जन गीत रेकर्ड गरिसकेकी छिन् । उनको 'सिमाना' आधुनिक गीत निकै चर्चामा रहेको छ ।
लीला बेलायतमा ग्रेटर रसमुर नेपाली कम्युनिटी (जीआरएनसी) युकेको अध्यक्ष, नेपाल आदिवासी जनजाति महासंघ बेलायतकी वरिष्ठ उपाध्यक्ष, रसमुर हेल्थी लिभिङ बोर्ड टस्टी डाइरेक्टरलगायत विभिन्न संघ संस्थामा आबद्ध छिन् । उनले युनिभर्सिटी अफ सरीबाट एमएस्सीसमेत गरेकी छन् ।
पाँचथर जिल्लाको ओयाम–६ (हाल याङ्वरक–३) मा जन्मिएकी माबो नेपालमा शिक्षण पेसामा आबद्ध थिइन् भने अहिले युकेमा दन्त नर्सको रुपमा कार्यरत छिन् ।
याक्थुङ लेखक संघ उपत्यका समितिका अध्यक्ष सनी लिम्बुको अध्यक्षतामा भएको कार्यक्रम सेसेमी लिम्बुले सञ्चालन गरेका थिए । स्वागत मन्तव्य गायिका तथा गजलकार इन्दीरा नेम्वाङले दिएकी थिइन् । कार्यक्रम प्रायोजकको रुपमा होटेल लीला रहेको थियो ।