काठमाडौँ । नारायण वाग्लेको पुस्तक ‘कोरियाना कफी गफ’को अंग्रेजी अनुवाद लोकार्पण गरिएको छ। बुधबार काठमाडौंस्थित आरशालामा लेखक वाग्लेले एडअर्डो रिनकनलाई अनूदित पुस्तक उपहार दिएसँगै पुस्तक लोकार्पण गरिएको हो। 
पत्रकार–साहित्यकार हुँदै पछिल्लो समय कृषकका रूपमा आफ्नो गाउँ तनहुँ फर्किएका वाग्लेले बायोडायनामिक कृषि अभियानका एक अग्रणी व्यक्तित्व रिनकनलाई पुस्तक उपहार दिएका थिए।
पत्रकारिताका क्रममा वाग्लेले अनौपचारिक शैलीमा ‘कफी गफ’ लेखेका थिए। वाग्ले भन्छन्, ‘जुन शैलीले मलाई धेरै पाठक र माया दियो, मैले ‘कोरियाना कफी गफ’ पुस्तकमा त्यही शैली अपनाएँ। तर, यो मेरो पत्रिकाहरूको संग्रह नभई नयाँ सिर्जना हो।’
‘कोरियाना कफी गफ’लाई नेपालीबाट अंग्रेजीमा अनुवाद प्रवीण अधिकारीले गरेका हुन्। वाग्लेको त्यही कफी गफ शैलीबाट प्रभावित भएर आफूले अनुवाद गरेको प्रवीण बताउँछन्। पञ्चायतको बन्द समाजपछि भर्खर–भर्खर खुला हुन लागेको नेपाली समाजमा नेपाली भाषालाई यो स्तरको खुलापनमा लैजाने श्रेय आफूले वाग्लेलाई दिने गरेको अधिकारीको भनाइ छ।
नारायण वाग्लेले ‘पल्पसा क्याफे’ र ‘मयूर टाइम्स’ उपन्यासपछि सिर्जनशील गैरआख्यानका रूपमा ‘कोरियाना कफी गफ’ लेखेका हुन्। २० वर्षअघि प्रकाशन भएको ‘पल्पसा क्याफे’ले मदन पुरस्कार प्राप्त गरेको थियो। धेरै समीक्षक–समालोचकले नेपाली साहित्य लेखन, प्रकाशन र पठन इतिहासलाई ‘पल्पसा क्याफे’ अघि र पछिका रूपमा व्याख्या गरेका छन्।
नेपालयबाट ६ वर्षअघि प्रकाशित ‘कोरियाना कफी गफ’को अंग्रेजी अनुवाद प्रकाशन पनि पब्किलेसन नेपालयले नै गरेको हो। ‘कोरियाना कफी गफ’ नेपालका प्रमुख पुस्तक पसलहरूका साथै ‘थुप्रै डटकम’ वा अमेजनमार्फत पनि खरिद गर्न सकिनेछ।