लन्डन । अन्तर्राष्ट्रिय नेपाली साहित्य संस्था (अनेसास) यूकेले लन्डनको वूलविचस्थित गुल्मी रेस्टुरेन्टमा ११७औं देवकोटा जयन्ती तथा दीपावली शुभकामना कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ । आइतबार १९ अक्टोबर २०२५ मा संस्थाका अध्यक्ष राज श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रम उद्घाटन अध्यक्ष श्रेष्ठ र प्रमुख अतिथि सूर्य खड्का 'बिखर्ची' (गण्डकी प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति)गरेका थिए । कार्यक्रममा नेपाल र यूकेबाट करिब चार दर्जनभन्दा बढी साहित्यकारहरूको सहभागिता रहेको थियो ।
कार्यक्रमकी संयोजक तथा अनेसास यूकेकी उपाध्यक्ष माया गुरुङले उपस्थित अतिथिहरूलाई स्वागत मन्तव्य दिँदै देवकोटा जयन्तीको सन्दर्भमा नेपाली साहित्यलाई जीवन्त राख्न प्रवासमा समेत यस्ता कार्यक्रमहरू निरन्तर गरिनु आवश्यक रहेको बताइन् ।
कार्यक्रमको विशेष आकर्षणका रूपमा सुप्रमा–ईप्रमा अन्तर्राष्ट्रिय पुरस्कार २०२५ का विजेता डा. श्रीधर खनाललाई ५०१ पाउन्ड राशिसहितको पुरस्कार प्रदान गरियो । उक्त पुरस्कार डा. खनालको उपन्यास "सवर्णि"लाई प्रदान गरिएको हो । यसअघि ९ अगस्ट २०२५ मा आयोजना गरिएको भानु जयन्ती कार्यक्रममा प्रदान गरिने भनिएको पुरस्कार, उनको अनुपस्थितिका कारण यस कार्यक्रममा औपचारिक रूपमा हस्तान्तरण गरिएको हो ।
सो अवसरमा प्रमुख अतिथि 'बिखर्ची'लाई नेपाली साहित्यमा पुर्याएको योगदानको उच्च कदर गर्दै "अनेसास विशिष्ट सम्मान" प्रदान गरिएको थियो ।
प्रमुख अतिथि बिखर्चीले आफ्नो मन्तव्यमा प्रवासमा पनि नेपालीहरूको आफ्नो भाषा, संस्कृति र साहित्यप्रतिको लगाव अनुभूति गर्न पाउँदा अत्यन्त प्रभावित भएको जनाए । साथै संस्थाले गरेको सम्मानप्रति आभार प्रकट गर्दै साहित्यमा जिम्मेवारी थप महसूस भएको जनाए ।
त्यसैगरी विशेष अतिथि डा श्रीधर खनालले पनि पुरस्कारले उनमा साहित्य लेखनमा थप उर्जा मिलेको बताए ।
अनेसास यूकेका सल्लाहकारहरू डा. रुपक श्रेष्ठ र सुमलकुमार गुरुङलाई १५ वर्षभन्दा बढी समयदेखि संस्थामा रही पुर्याएको योगदानको कदर गर्दै "अनेसास दीर्घ सेवा विशिष्ट सम्मान" बाट सम्मानित गरिएको थियो ।

कार्यक्रममा अनेसास जापानकी सल्लाहकार तथा ट्रष्टी गृष्मा पौड्याललाई विशेष अतिथिको रूपमा स्वागत तथा सम्मान गरिएको थियो ।
कार्यक्रमको सञ्चालन महासचिव मञ्जु भण्डारी र मिडिया व्यवस्थापक कुमार केसीले संयुक्त रूपमा गरेका थिए ।
प्रमुख अतिथि सूर्य खडका, विशेष अतिथि डा श्रीधर खनाललगायत उपस्थित साहित्यकार, गृष्मा पौड्याल, डा. रुपक श्रेष्ठ,सुमलकुमार गुरुङ, माया गुरुङ, मञ्जु भण्डारी, प्रतिमा केसी,सारादेवी गुरुङ, कुमार केसी,विजयबहादुर गुरुङ, जीत बुढाथोकी, गंगा भण्डारी, रघु भण्डारी, डा. संगीता स्वेच्छा, विशन थापा, विष्णु थापा, प्रेम खड़का, सन्तोष खनाल, सरिता भट्टराई, मधुसूदन खनाल, सम्झना रायमाझी, दशुराम पाण्डे, ज्ञानु पाण्डे आदिद्वारा कविता, निबन्ध, गीत र समसामयिक विचारहरू प्रस्तुत गरिएका यस कार्यक्रमले प्रवासमा नेपाली साहित्यिक चेतनाको सशक्त उपस्थितिलाई पुष्टि गरेको छ ।
कार्यक्रमको अन्त्यमा सभाध्यक्ष राज श्रेष्ठले समापन मन्तव्य दिँदै कार्यक्रममा सहभागी सम्पूर्ण व्यक्तित्वहरूलाई आभार व्यक्त गर्नुका साथै अनेसास यूकेको आगामी कार्यक्रमहरूमा पनि साथ र सहयोगको अपेक्षा व्यक्त गरे ।





