लन्डन । नेपाली संस्कृति, परम्परा र भातृत्वको प्रतीक मानिने चाड तिहार (दीपावली)को उल्लासमय वातावरणमा तमु समाज यूकेको यस वर्षको देउसी-भैलो कार्यक्रम सम्पन्न भएको छ ।
दीपावली पर्वले धनकी देवी लक्ष्मीको पूजा, दिदीबहिनी र दाजुभाइबीचको प्रेमको प्रतीक भाइटीका र देउसी-भैलोको माध्यमबाट सामाजिक सद्भाव र एकताको सन्देश प्रसारित गर्दछ। यही सांस्कृतिक महिमालाई जीवन्त तुल्याउँदै तमु समाज यूकेले २४ अक्टोबर २०२५ मा लन्डनस्थित बार्हाम पार्क, वेम्ब्लीमा रहेको सामुदायिक भवनमा कार्यक्रम आयोजना गरेको थियो ।
कार्यक्रमको सुरुवात तमु समाज यूकेकी अध्यक्ष बिन्दु गुरुङ घले, उपाध्यक्ष मिरा गुरुङ र ज्येष्ठ नागरिक बुद्धिकुमारी गुरुङले संयुक्त रूपमा लक्ष्मी पूजा र दीप प्रज्वलन गरी गरेका थिए । यसले तिहारको धार्मिक तथा सांस्कृतिक महत्वलाई झनै उजागर गर्यो।




महासचिव सुबा घलेले उपस्थित अतिथिहरूलाई स्वागत गर्दै कार्यक्रमको औपचारिक सुरुवात गरे । त्यसपछि उपाध्यक्ष केदारबहादुर गुरुङ र आमा समूहका पूर्वअध्यक्ष तथा सल्लाहकार माया गुरुङले देउसी-भैलोको सामाजिक र सांस्कृतिक पृष्ठभूमि र यसको महत्वबारे प्रकाश पारे ।
कार्यक्रममा परम्परागत देउसी-भैलो गीत र नृत्य प्रस्तुत गर्दै उपाध्यक्ष केदारबहादुर गुरुङ, युवा समूह अध्यक्ष प्रज्ज्वलमान गुरुङ र आमा समूहकी पूर्वअध्यक्ष माया गुरुङले सबैलाई मनोरञ्जन प्रदान गरे । यी प्रस्तुतिहरूले नेपाली मौलिक संस्कृति, भेषभूषा र परम्पराको सुन्दर झलक प्रस्तुत गरेका थिए । युवाहरूको उत्साही सहभागिताले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो भने पुराना पुस्ताबाट नयाँ पुस्तामा सांस्कृतिक पहिचानको हस्तान्तरण भएको अनुभूति गरिएको थियो ।

कार्यक्रममा संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, पूर्वअध्यक्षहरू अर्जुनकुमार गुरुङ, शिवचन्द्र गुरुङ, शिवकुमार गुरुङ, उपाध्यक्ष भिमबहादुर गुरुङ, आमा समूहकी उपाध्यक्ष मथुरा गुरुङ, कोषाध्यक्ष चन्द्रकान्त गुरुङ, युवा समूहका निवर्तमान अध्यक्ष ओमकार गुरुङ, सल्लाहकार बिजु गुरुङ, ज्ञानबहादुर गुरुङ, धरम बल गुरुङ, ज्येष्ठ नागरिक प्रेमबहादुर गुरुङ, गुमानसिंह गुरुङलगायत धेरै आजीवन सदस्य र युवा सदस्यहरूको सक्रिय उपस्थिति रहेको थियो ।
यसै अवसरमा, दुई जना नवआजीवन सदस्यहरू – टउ बहादुर गुरुङ र श्रीमती सिला गुरुङलाई संस्थाका अध्यक्ष बिन्दु गुरुङ घलेले समाजको खादा अर्पण गरी स्वागत तथा सम्मान गरिन् । यो कार्यले संस्थामा नयाँ सदस्यहरूको समावेश र सामुदायिक एकताको सन्देशलाई अझ सुदृढ बनाइएको थियो ।
कार्यक्रमको सञ्चालन महासचिव सुबा घलेले गरेका थिए । आमा समूहका सदस्यहरूले नेपाली परिकार, सेलरोटी आदिको स्वादिष्ट व्यवस्था गरे भने कोषाध्यक्ष चन्द्रकान्त गुरुङले पेय पदार्थ व्यवस्थापनको जिम्मेवारी सम्हालेका थिए । यसले नेपाली आतिथ्य संस्कृतिलाई झनै जीवन्त बनाएको थियो ।
यस वर्षको देउसी-भैलो कार्यक्रम सामुदायिक सहयोगको दृष्टिले पनि उल्लेखनीय रह्यो । कोषाध्यक्ष चन्द्रकान्त गुरुङ र वरिष्ठ उपाध्यक्ष भिमबहादुर गुरुङले चन्दा सङ्कलन व्यवस्थापन गरेका थिए ।

महासचिव सुबा घलेले सदस्यहरू र शुभेच्छुकहरूबाट प्राप्त दान रकमको विवरण प्रस्तुत गर्दै प्रत्यक्ष र अनलाइन माध्यमबाट सोचेअनुसारको दान रकम सफलतापूर्वक सङ्कलन गरिएको जानकारी दिए । दाताहरूको नाम बाचन गर्दै उनले सबैप्रति धन्यवाद र सम्मान प्रकट गरे ।
कार्यक्रमको समापनमा अध्यक्ष बिन्दु गुरुङ घलेले कार्यक्रम सफल बनाउन योगदान दिने सबै स्वयंसेवक, पदाधिकारी र सहयोगीहरूलाई धन्यवाद व्यक्त गरे । उनले तिहारको पवित्र अवसरमा प्राप्त सहयोगले सामुदायिक हितका आगामी योजनामा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरे ।
देउसी-भैलो कार्यक्रम साँझ ४:३० देखि राति १० बजेसम्म सञ्चालन गरिएको थियो । संगीतात्मक प्रस्तुतिमा केदारबहादुर गुरुङ, माया गुरुङ, धरम बल गुरुङ, ज्ञानबहादुर गुरुङ, अर्जुनकुमार गुरुङ, गंगबहादुर गुरुङ, प्रज्ज्वलमान गुरुङ तथा युवा समूहका सदस्यहरूको सहभागिता उल्लेखनीय रह्यो ।
समग्रमा तमु समाज यूकेको यो देउसी-भैलो कार्यक्रम तिहारको सांस्कृतिक महिमा, सामुदायिक एकता र सहयोग सङ्कलनका दृष्टिले अत्यन्तै सफल र उदाहरणीय सावित भएको तमु समाज यूकेले जनाएको छ ।


