मिचेट । नेपालमा हालै आएको बाढीबाट प्रभावित परिवारहरूको सहयोगार्थ पञ्चासे हर्पनडाँडा समाज यूकेले १३ लाख रुपैयाँ सहयोग रकम तमु धीं यूकेलाई हस्तान्तरण गरेको छ।
मिचेटस्थित तमु धीं यूकेको भवनमा आयोजित कार्यक्रममा समाजका अध्यक्ष देवकाजी गुरुङले १३ लाख रुपैयाँको चेक तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङलाई हस्तान्तरण गरेका हुन्।
कार्यक्रममा बोल्दै पञ्चासे हर्पनडाँडा समाज यूकेका अध्यक्ष देवकाजी गुरुङले गुरुङ समुदायको साझा संस्थाका रूपमा तमु धीं यूकेप्रति विश्वास व्यक्त गर्दै नेपालका बाढीपीडितका लागि संकलित सम्पूर्ण रकम तमु धीं यूकेमार्फत पीडितसम्म पुर्याउने उद्देश्यले हस्तान्तरण गरिएको बताए। आगामी दिनमा थप सहयोग रकम संकलन भएमा पनि तमु धीं यूकेमार्फत नै पीडितलाई सहयोग गरिने अध्यक्षले प्रतिबद्धता व्यक्त गरे।

समाजका महासचिव प्रकाश गुरुङले रसुवामा बाढीबाट प्रभावित ५७ जनामध्ये फ्लाई एभरेस्ट होलिडे प्रा.लि.मा कार्यरत सात जना कर्मचारीका परिवारलाई प्राथमिकताका साथ सहयोग उपलब्ध गराइदिन तमु धीं यूकेलाई अनुरोध गरे । गुरुङले हस्तान्तरण गरिएको १३ लाख रुपैयाँमध्ये सात परिवारलाई जनही ५० हजार रुपैयाँका दरले जम्मा ३ लाख ५० हजार रुपैयाँ प्रत्यक्ष रूपमा उपलब्ध गराइदिन आग्रहसमेत गरे ।
चार गाउँका बेलायतवासीबाट सहयोग संकलन
पञ्चासे हरपनडाँडा समाज यूकेले सञ्चालन गरेको सहयोग अभियानमा समाज अन्तर्गतका सिधाने, कुद्वीडाँडा, दम्दमे र मकनपुर गाउँका बेलायतवासी सदस्यहरूले योगदान गरेका थिए। अभियानमा समाजका चेलीबेटीहरूले समेत सहयोग गरेका थिए।
यसैगरी, हाल अमेरिकामा बसोबास गर्दै आएका डमर गुरुङ (कुद्वीडाँडा) र हाल अष्ट्रेलियामा रहेका चन्द्रप्रकाश गुरुङ (सिधाने) ले पनि अभियानमा आर्थिक सहयोग गरेको समाजले जनाएको छ।
तमु धीं यूकेको टोली नेपाल जाने
कार्यक्रममा तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङले सहयोग रकम सम्बन्धित बाढीपीडितसम्म पारदर्शी र प्रभावकारी रूपमा पुर्याउने प्रतिबद्धता व्यक्त गरे।
तमु धीं यूकेका अनुसार अध्यक्ष जुमकाजी गुरुङको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष परशु गुरुङ, उपाध्यक्ष तथा १७औँ नेपाली मेला संयोजक कमल गुरुङ, महासचिव डा. विशाल गुरुङ र सचिव विमल गुरुङ सम्मिलित पाँच सदस्यीय टोली २० सेप्टेम्बर २०२६ मा नेपाल जाने भएको छ।
टोलीले विभिन्न व्यक्ति तथा संस्थाबाट प्राप्त सहयोग रकम सम्बन्धित बाढीपीडित परिवारलाई प्रत्यक्ष हस्तान्तरण गर्ने जनाइएको छ।
कार्यक्रम तमु धीं यूकेका सचिव विमल गुरुङले सञ्चालन गरेको थियो। कार्यक्रममा तमु धीं यूकेका ट्रस्टी सूर्य गुरुङ, ट्रस्टी तथा पूर्वअध्यक्ष ज्ञाम गुरुङ, कोषाध्यक्ष अरुण गुरुङ, अफिसियल फोटोग्राफर मिलन तमु लगायतको उपस्थिति थियो।
त्यस्तै, पञ्चासे हर्पनडाँडा समाज यूकेका अध्यक्ष देवकाजी गुरुङ, उहाँकी धर्मपत्नी रील शुभा गुरुङ, उपाध्यक्ष रवि गुरुङ, अमृत गुरुङ, महासचिव प्रकाश गुरुङ, संगीना गुरुङ, सल्लाहकार मोन गुरुङ तथा धर्मावती गुरुङ लगायतको सहभागिता रहेको थियो।
नेपालमा बाढीपीडितका लागि सहयोग अभियानमा योगदान पुर्याउने सम्पूर्ण व्यक्ति, परिवार तथा संस्थाप्रति कार्यक्रममा धन्यवाद व्यक्त गरिएको थियो।