बेलायत । बेलायतको रोयल बरो अफ ग्रीनविचमा नेपालमा आएको विनाशकारी बाढीबाट ज्यान गुमाएकाहरूको सम्झनामा श्रद्धाञ्जली तथा एकताका लागि विशेष कार्यक्रम आयोजना गरिएको छ ।
बेलायतको ग्रीनविचका पूर्वमेयर काउन्सिलर जीत रानाभाट र काउन्सिलर गौमाया गुरुङको संयोजनमा उक्त कार्यक्रम भएको हो । बाढीमा परी ज्यान गुमाएका, अझै वेपत्ता रहेका र विपत्तीमा प्रभावित वरिवार र समुदायप्रति एक्यवद्धता जनाउका लागि उक्त कार्यक्रम भएको हो । कार्यक्रम मेयर डेभिड गार्डेनर र पूर्व मेयर जित रानाभाटद्वारा संयुक्त रूपमा सञ्चालन गरिएको थियो।
त्यसपछि धर्म गुरुहरु निलहरि घिमिरे र चिरिञ्जिवी ढकालले स्वस्तिक वाचन गरेका थिए । उनीहरुले स्वस्तिक वाचन सकेपछि संयोजकद्वय रानाभाट र गुरुङसँगै मेयर र एम्बास्डरले पहिलो दीप प्रज्ज्वलन गरिएको थियो । त्यसपछि मन्तव्यका लागि मञ्चमा पुग्नेहरुले दीप बालेका थिए ।
नेपाल दूतावासका कार्यवाहक राजदूत बिपिन दुवाडी, पूर्वमेयर काउन्सिलर जीत रानाभाट र काउन्सिलर गौमाया गुरुङ, विभिन्न संघसंस्थाका तर्फबाट तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, काउन्सिल लिडर एन्थोनी ओकेरेकेसहित सम्पूर्ण जातजाति, धर्मालम्बीहरुले कार्यक्रममा मन्तव्य राखेका थिए ।
कार्यक्रममा नेपाल दूतावासका कार्यवाहक राजदूत बिपिन दुवाडी, ग्रीनविचका मेयर, काउन्सिल लिडर एन्थोनी ओकेरेके, काउन्सिलरहरू, विभिन्न धर्मका अगुवा, सामुदायिक अगुवा, नेपाली समुदायका सदस्य तथा स्थानीय बासिन्दाको सहभागिता रहेको थियो । सहभागीहरूले मृतकहरूको सम्झनामा दीप प्रज्वलन गर्दै प्रभावितहरूको पीडा साझा गरेका थिए।
कार्यक्रमका क्रममा उद्धार तथा राहतमा खटिएका उद्धारकर्मी, स्वयंसेवक, स्वास्थ्यकर्मी र प्रभावित समुदायका सदस्यहरूको योगदानप्रति समेत सम्मान व्यक्त गरिएको थियो । बाढीका कारण घर तथा जीविकोपार्जन गुमाएका सर्वसाधारणलाई सम्झँदै उनीहरूलाई आवश्यक सहयोग र साथको आवश्यकता औँल्याइएको थियो ।
कार्यक्रममा रोयल ग्रीनविचका तर्फबाट नेपाली समुदायलाई आफूहरू एक्लो नरहेको सन्देश दिइएको थियो । नेपाल हजारौँ माइल टाढा भए पनि नेपाली समुदायका लागि आफ्नो घर भएकाले नेपालमा हुने विपद्को पीडा ग्रीनविचमा रहेका नेपालीले समेत महसुस गर्ने बताइएको थियो ।
कार्यक्रममा सहभागीहरूले नेपालमा भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई धैर्य र शक्ति मिलोस्, बेपत्ताहरूको सकुशल खोजी होस् तथा प्रभावित समुदायले पुनर्निर्माण र पुनःस्थापनाका लागि आवश्यक सहयोग प्राप्त गरून् भन्ने कामना गरेका थिए ।
कार्यक्रम सफल बनाउन सहयोग गर्ने ग्रीनविच काउन्सिल, कर्मचारी, धार्मिक अगुवा, सामुदायिक संस्था, स्वयंसेवक तथा सहभागी सबैप्रति आयोजक पक्षले आभार व्यक्त गरेको छ । विपद्को समयमा मानवीय संवेदना, सहकार्य र एकतामार्फत प्रभावित समुदायसँग उभिनुपर्ने सन्देशसमेत कार्यक्रममा दिइएको थियो ।







