लन्डन । तमु समाज यूकेले तमुहरुको महान् पर्वको अवसरमा बाघ वर्गलाई बिदाई र बिरालो वर्गलाई स्वागत गर्ने ल्होछार/ल्होसार कार्यक्रम ग्रहशान्ति तथा शुद्धीकरण पूजा गरेर सम्पन्न गरेको छ ।
बरहामपार्क वेम्बली लन्डनस्थित तमु समाज यूकेको आफ्नै भवनमा ३१ डिसेम्बर २०२२ तदनुसार २०७९ पुस १६ गते शनिबार बिहान ११ बजेदेखि शुभारम्भ भई दिउँसो ४ बजे समापन गरिएको हो । समाजका सक्रिय सदस्य हरिमान गुरुङको संयोजकत्वमा आयोजना गरिएको ग्रह शान्ति तथा शुद्धीकरण पूजा अध्यक्ष शिवकुमार गुरुङ, संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, सल्लाहकार काउन्सिलर कमल गुरुङ, आमा समूहका अध्यक्ष उमादेवी गुरुङद्वारा संयुक्तरुपमा दीप प्रज्ज्वलन र छ्योक अर्पण गरी पूजा कार्यक्रम आरम्भ गरेका थिए । कार्यक्रममा समाजका कार्यसमितिका पदाधिकारीहरु, सल्लहाकारहरु, आजीवन सदस्यलगायत समाजका जेष्ठ नागरिकहरुदेखि युवा तथा बालबलिकाहरुको बाक्लो उपस्थिति रहेको थियो ।
पूजा कार्यक्रमको निर्देशन र रेखदेख समाजका महासचिव धरमबल गुरुङ र धार्मिक संयोजक हरिमान गुरुङले गरेका थिए भने धर्मगुरुहरूमा रङजङ यासे ओडियान यूके बुद्धिस्ट सेन्टर फान्बोरोका मूल लामागुरु द्रुब्ला लाङगृग साङ्गपो, लामा गुरु दिनेश गुरुङ र सहयोगी रवीन्द्र लोसालद्वारा ग्रहशान्ति तथा शुद्धीकरण पूजा धार्मिक विधि विधानअनुसार पूजा गरी द्रुब्ला लाङगृग साङ्गपो, गुरुले ग्रहाशान्ति र शुद्धीकरण पूजाको बारेमा स्पष्ट बुजिन गरी प्रवचन दिएका थिए । यसै प्रकारले तोकिएको समयअनुसार पूजा आरम्भ गरी दिउँसोको करिब ४ बजेतिर पूजा कार्यक्रम समापन गरेको थियो ।
पूजा कार्यक्रम समापनको अवसरमा संस्थाका महासचिव धरमबल गुरुङले पूजा कार्यक्रम राम्रोसँग सम्पन्न गरिदिएकोमा, धर्मगुरुहरु, पूजा संयोजक हरिमान गुरुङ र पूजा कार्यक्रममा स्वतस्फूर्तले भोजनदान, द्रव्यदान गरिदिने र पूजामा सहभागी सबै जनालाई र पूजा कार्यक्रमका लागि आ-आफ्नो ठाउँबाट अहोरात्र खटी पूजा कार्यक्रम सफल पारिदिएकोमा सबैलाई आभार प्रकट गर्दै धन्यवादसहित कार्यक्रम समापन गरेका थिए ।
यसैगरी महासचिव धरमबल गुरुङले तमु समाज यूकेले यही जनवरी ७ तारिख २०२३ शनिबारको दिन ह्यारो लेजर सेन्टरमा हर्षोल्लास साथ तमु ल्होछार/ल्होसार उत्सव मनाउने कार्यक्रम आयोजना गरेको जानकारी दिँदै सबै जनालाई कार्यक्रममा उपस्थित भइदिन अनुरोध गरेको छ।
(मिडिया संयोजक तमु समाज यूके)