लन्डन । काठमाडौँमा ५० को दशकतिर गुरुङ युवा–युवतीको एउटा सक्रिय समूह ‘रोधी परिवार’को स्थापना भएको थियो । गुरुङ भाषा, साहित्य र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले स्थापना भएको यस समूहले देउसी-भैलो जस्ता सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने गर्दथ्यो।
फुपू उमा गुरुङको नेतृत्वमा सञ्चालन भइरहेको यस रोधी परिवारले गुरुङ भाषाको पहिलो चलचित्र — ‘पाते’ निर्माण गर्ने घोषणा गर्यो । फिल्मको पटकथा लेख्ने र मुख्य भूमिकामा अभिनय गर्ने दुवै अवसर प्रीतम गुरुङलाई प्राप्त भयो । यस चलचित्रले गुरुङ चलचित्र क्षेत्रमा एउटा ऐतिहासिक थालनी गर्यो र गुरुङ समुदायको लागि एउटा कोशेढुङ्गा साबित बन्न पुग्यो । यही आरम्भ बिन्दुबाट सुरु भयो प्रीतम गुरुङको चलचित्र यात्रा। गुरुङ चलचित्र इतिहासमा पहिलो चलचित्र पातेसँगै पहिलो नायक प्रीतम गुरुङ पनि जन्मिए ।
उनको सिर्जनात्मक यात्राले निरन्तरता पाएसँगै २०५८ सालमा चलचित्र विकास बोर्डमा दर्ता भएको पहिलो गुरुङ फिल्म 'डोल्स्यो (सोल्टीनी)' निर्माण गरे । यस फिल्ममा उनी नायक, लेखक, निर्देशक र निर्माता सबै भूमिकामा रहे । चलचित्र ङ्गोल्स्योले सिक्किममा छायांकन भएर, नेपाल बाहिर हङकङमा प्रदर्शन हुने पहिलो गुरुङ फिल्म बनेर इतिहास रच्यो ।
-1751389463.jpg)
उनले गुरुङ र मगर भाषाका फिल्महरूमा विशेष जोड दिएका थिए। 'काशी (कान्छी)', 'म्ही थेबा (ठूलो मान्छे)', 'नानु', 'आजि (आमाको बहिनी)', 'रोदीघर', 'आशीमाला (शुभकामना)', 'छ्याबरानी (राम्री केटी)' जस्ता गुरुङ फिल्महरू र 'यानिमाया', 'डौ कर्म (मेरो कर्म)', 'लाफ़ा (साथी)', जस्ता मगर फिल्महरू मार्फत उनले यी समुदायको कथा, संस्कृति र जनजीवनलाई पर्दामा उतारेका छन् ।
नेपाली फिल्म 'जीवनलिला' जस्ता केही फिल्म हलमा पनि प्रदर्शन भएका छन्, जसले उनको बहुमुखी प्रतिभालाई झल्काउँछ। प्रीतमले ५०औँ चलचित्रहरूमा लेखक, निर्देशक, निर्माता, र अभिनेता रूपमा काम गरिसकेका छन् ।
उनले बनाएका चलचित्र ढाका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, सार्क फिल्म फेस्टिभल, र काठमाडौँ इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल (KIMFF), नेपाल आदिवासी चलचित्र महोत्सव जस्ता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरूमा समेत प्रदर्शन भइसकेका छन् ।
प्रीतमले आफ्नो पेसागत जीवनमा जसरी सफलता प्राप्त गरे पनि व्यक्तिगत जीवनमा धेरै उतारचढाव पनि भोग्न परेको थियो। पर्दामा हाँसो छर्दै, आँखामा सपना भर्दै, तर भित्रभित्रै मनको अँध्यारो कुनामा गरुङ्गो पीडा बोकी हिँड्थे । कुनै समय उनको जीवनमा गहिरो अन्धकार पनि आयो । उनी गहिरो डिप्रेसनमा परे, जीवनप्रति मोह हराउँदै गएका उनले स्वनाश गर्नेसम्मको प्रयास पनि गरे । त्यो अन्धकारबाट उनी बाहिर निस्किन सक्ने छैनन् जस्तो लाग्थ्यो ।
तर उनलाई जोगायो परिवार, इष्टमित्रको साथ, फिल्मप्रतिको अथाह प्रेम, र समाजप्रतिको जिम्मेवारीबोधले । त्यो एक भयानक क्षणबाट बाँच्न सफल भएपछि उनले फेरि एकपटक आफूलाई फिल्म बनाउने यात्रामा समर्पित गरे र निर्माण गरे आफ्नो ४९औँ चलचित्र ‘रिपा’ आफ्नै वास्तविक जीवनमा भोगेका, घटनाहरूलाई पटकथामा कलात्मक ढङ्गले प्रस्तुत गरिएको फिल्म रिपाले स्वदेश तथा विदेशबाट दर्शकहरूको राम्रो प्रतिक्रिया पाएको थियो ।
-1751389483.jpg)
‘म मरेको भए, मेरा कथाहरू मसँगै अन्त्य हुने थिए। तर म बाँचेँ — र ती कथाहरू आज पनि पर्दामा बोलिरहेका छन्,’ उनी भन्छन्
प्रीतमले सुरुवाती दिनमा फिल्म सम्बन्धी कुनै औपचारिक तालिम तथा शिक्षा नलिईकन, आफ्नै अनुभवबाट सिक्दै दर्जनौँ चलचित्रहरू निर्देशन गरे। पछि नवीन सुब्बा, छिरिङ रितार सेर्पा, राजेश गंजबू, अनुप बराल, अनुप सुबेदी, मार्कोस जस्ता अनुभवी चलचित्रकर्मीसँग फिल्ममेकिंग सम्बन्धी तालिम पनि लिएका छन्। उनका चलचित्रहरू प्राय: आदिवासी र महिला आवाजमाथि केन्द्रित हुने गर्छन् ।
तीन दशकभन्दा लामो चलचित्र यात्रा उतारचढावले भरिए पनि उनले थुप्रै महत्त्वपूर्ण सफलता पनि हासिल गरेका छन्। यस क्रममा उनले विभिन्न सम्मान तथा पुरस्कारहरू प्राप्त गरेका छन् । जसमध्ये २०७३ सालमा जिफान/जक्सन डट कमबाट प्राप्त लाइफटाइम अचिभमेन्ट अवार्डले चलचित्र क्षेत्रमा उनको दीर्घकालीन योगदानलाई सम्मान गरेको थियो ।
२०७६ सालमा उनको चलचित्र 'रीजे नास'ले उत्कृष्ट आदिवासी जनजाति चलचित्र अवार्ड जितेर जातीय चलचित्र निर्माणमा उनको उत्कृष्टतालाई प्रमाणित गर्यो । हालै, २०८० सालमा गुरुङ चलचित्रकर्मीको रूपमा उनले राष्ट्रपति सम्मान प्राप्त गरेका थिए । जसले गुरुङ चलचित्रको विकासमा उनको अतुलनीय योगदानलाई राज्यस्तरबाटै कदर गरेको छ । यी सम्मानहरूले प्रीतमलाई नेपाली चलचित्र, र विशेषगरी आदिवासी जनजाति चलचित्रको क्षेत्रमा एक अग्रज र सफल चलचित्रकर्मीको रूपमा स्थापित गरेका छन्।
प्रीतम आज पनि निरन्तर चलचित्र निर्माणमा सक्रिय छन् । उनको ५०औँ चलचित्र ‘मुख्या’ प्रदर्शनको तयारीमा छ । न्यूनतम लगानीमा निर्माण भएका गुरुङ चलचित्र पनि विदेशी बजारमा लगातार प्रदर्शन हुनु, गुरुङ समुदाय, स्वतन्त्र चलचित्रकर्मीहरूको लागि गर्वको कुरा हो। प्रीतम गुरुङका दुई चलचित्रहरू ‘नुमा’ र ‘रिपा’को प्रदर्शनपश्चात् अब तेस्रो फिल्म ‘मुख्या’ यूके मा प्रदर्शन हुँदै छ । उनको यो निरन्तरताले धेरै नयाँ कलाकार र फिल्मकर्मीलाई प्रेरणा प्रदान गरिरहेको छ ।
उनले डिजिटल माध्यमको प्रयोग गरेर गुरुङ समुदायको भाषा र संस्कृतिको संरक्षणमा समेत महत्त्वपूर्ण योगदान पुर्याइरहेका छन्। उनी 'Podcast with Pritam Gurung' मार्फत चलचित्र, भाषा, पहिचान र समाजका विविध विषयमा गहन विश्लेषण प्रस्तुत गर्छन्। साथै, 'Gurung Ma Tapai' नामक अन्तर्वार्ता कार्यक्रममार्फत उनले असाधारण कार्य गर्ने गुरुङ व्यक्तिहरूलाई आमन्त्रित गरी उनीहरूका सामाजिक कथा र आवाजहरूलाई समेट्ने काम गरिरहेका छन्।
उनका यी पहलहरूले गुरुङ समुदायको संस्कृतिलाई नयाँ पुस्तामाझ पुर्याउन र यसको जगेर्ना गर्न मद्दत पुगेको छ। उनको यो अथक प्रयास र समर्पण गुरुङ चलचित्र उद्योगका लागि प्रेरणाको स्रोत बनेको छ।
‘चलचित्र नै आफ्नो जीवन ठान्ने’ प्रीतमले चलचित्रलाई भाषा, संस्कृति र पहिचानको संरक्षणको माध्यम बनाएका छन्। प्रीतम गुरुङ कुनै एउटा फिल्म निर्माता मात्र होइनन्। उनी एक संस्कृतिकर्मी, सामाजिक कार्यकर्ता, जीवनमा पुनर्जन्म पाएका व्यक्ति, र नेपाली आदिवासी सिनेमा आन्दोलनका आधार हुन् । उनलाई गुरुङ चलचित्र क्षेत्रको विकास, संरक्षण र प्रवर्धनमा अग्रपंक्तिका स्रष्टा मान्न सकिन्छ — जसको योगदान सदैव स्मरणीय रहनेछ। उनी अझै फिल्म बनाइरहेका छन्— किनभने उनका कथाहरू सकिएका छैनन् ।