लन्डन । तमु समाज युकेको १८औं साधारणसभा सम्पन्न भएको छ ।
शनिबार ३१ मे २०२५ मा विम्बलीस्थित वारहाम पार्कमा रहेको आफ्नै सामुदायिक भवनमा समाजको साधारणसभा सम्पन्न भएको हो । समाजकी अध्यक्ष विन्दुकुमारी गुरुङ घले, संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ र आमा समूहकी अध्यक्ष विमला गुरुङले दीप प्रज्वलन गरी संयुक्त रूपमा साधारणसभा उद्घाटन गरे ।

कार्यक्रम सञ्चालकसमेत रहेका महासचिव शुब घलेले हेल्थ एण्ड सेफ्टीका बारेमा प्रकाश पारे भने वरिष्ठ उपाध्यक्ष भीमबहादुर गुरुङले स्वागत मन्तव्य राखेका थिए । त्यसपछि समाजका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, पूर्वअध्यक्षहरू शिवचन्द्र गुरुङ, अर्जुन गुरुङ, निवर्तमान अध्यक्ष शिवकुमार गुरुङले समाजको स्थापना, उद्देश्य र समाजले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्याउँदै आएको परोपकारी कार्य तथा धर्म–संस्कार संस्कृतिको जगेर्ना गर्ने योगदानबारे चर्चा गरे ।
साधारणसभामा महासचिव घलेले समाजको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरे । आमा समूहको वार्षिक प्रगति विवरण अध्यक्ष विमला गुरुङले प्रस्तुत गरिन् । युथ ग्रुपका अध्यक्ष प्रज्वल गुरुङ अनुपस्थित भएकाले यसपटक युथ ग्रुपको प्रतिवेदन प्रस्तुत हुन नसकेको तमु समाज युकेले जनाएको छ ।
समाजले आगामी वर्ष आयोजना गर्ने चाडपर्व र अन्य कार्यक्रमहरूका विषयमा विस्तृत छलफल गरी मिति तय गरेको जनाइएको छ ।

दोस्रो चरणको कार्यक्रममा समाजका कोषाध्यक्ष चन्द्रकान्त गुरुङले यो वर्षको आम्दानी–खर्च विवरण प्रस्तुत गरे । हाउजिङ प्रोजेक्टसम्बन्धी आर्थिक विवरणमा निवर्तमान अध्यक्ष शिवकुमार गुरुङले थप प्रस्ट पारे । त्यसपछि सभामा ‘लाइफ टाइम अचिभ्मेन्ट अवार्ड’ र उत्कृष्ट समाजसेवा सम्मानपत्र वितरण, युवाहरूलाई समाजको मूलधारमा ल्याउने प्रेरणा, वार्षिक गृष्मकालीन भ्रमण कार्यक्रम, समाजको भवन र सामुदायिक भवनको भाडा परिमार्जन तथा व्यवस्थापन, तमु समाज युकेले राष्ट्रिय लोटरी कोषबाट प्राप्त गरेको अनुदान रकमको व्यवस्थापन र उपयोग साथै बुद्ध जयन्ती तथा वैशाख पूर्णिमाको अवसरमा घाँटु नाच आयोजना गर्ने सम्बन्धमा विशेष छलफल भएको तमु समाज युकेकी अध्यक्ष बिन्दुकुमारी गुरुङ घलेले जानकारी दिइन् । उनका अनुसार समाजको विधान परिमार्जन र अन्य विविध विषयमा पनि गहन छलफल गरी आवश्यक निर्णय लिइएको छ ।
सभाको अन्त्यमा सभाध्यक्ष बिन्दु कुमारी गुरुङ घलेले उपस्थित सबै सदस्यहरूलाई कार्यक्रम सफल बनाउन दिएको अमूल्य समय, सक्रिय सहभागिता र आमा समूहद्वारा व्यवस्थापन गरिएको स्वादिष्ट भोजनका लागि धन्यवाद ज्ञापन गरिन् । सभा करिब साँझ ७ बजे समापनको घोषणा गरिएको थियो ।
साधारणसभा सकिएपछि २३ औं गोर्खाकपको अवसरमा तमुधीं यूकेको निमन्त्रणामा पोखराबाट यूके आएका युवा व्यवसायी अरुणकुमार गुरुङलाई स्वागत सम्मान गरिएको थियो । कोभिड–१९ महामारीको समयमा तमु समाज युकेले नेपालमा राहत वितरण गर्ने कार्यक्रममा अरुणले पुर्याएको अतुलनीय योगदानको कदर गर्दै तमु समाज युकेकी अध्यक्ष, संस्थापक अध्यक्ष र आमा समूहकी अध्यक्षद्वारा खादा, फेटा र फूल अर्पण गरी समाजको लोगो अंकित प्लाक ‘मायाको चिनो’ प्रदान गर्दै उनलाई स्वागत तथा सम्मान गरिएको हो ।

कोभिडको समयमा राहत वितरण कार्यक्रमको नेतृत्व तमु समाज युकेको आमा समूहकी पूर्वअध्यक्ष माया गुरुङ र तमु समाज युकेकी आजीवन सदस्य तथा सोंपाल समाज युकेका पूर्वउपाध्यक्ष पार्वती गुरुङले लिएका थिए ।
सम्मान ग्रहण गर्दै युवा व्यवसायी अरुणले तमु समाज युकेको सम्मान र मायाको चिनोप्रति धन्यवादसहित आभार व्यक्त गरे ।
