लन्डन । बुद्धिस्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेले २५६९औँ बुद्ध जयन्ती भव्य रूपमा मनाउने तयारी गरेको छ । आगामी १२ मे २०२५ मा अल्डरसटस्थित एम्पायर हलमा धूमधामका साथ मनाउने भएको हो ।
कार्यक्रम बिहान ८ बजे सुरु हुनेछ । हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाको दिन बुद्ध जयन्ती मनाउने गरिन्छ । भगवान् बुद्धको जन्म, बुद्धत्व प्राप्त गरेको र महापरिनिर्वाण समेत वैशाख पूर्णिमाकै दिन भएकोले बौद्ध मार्गीहरूले यस दिनलाई विशेष पर्वको रूपमा मान्ने गर्छन् । यस दिन भगवान् विष्णुको नवौँ अवतारका रूपमा जन्म लिएको विश्वास गरिने सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि गरेको योगदानको स्मरण गरिन्छ ।
इसापूर्व ५६३ मा लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो । राजकुमारका रूपमा जन्म लिएका सिद्धार्थ गौतम मानिसले पाएका दुःख देखेर चिन्तित भऐ । २९ वर्षको उमेरमा दरबार छोडी तपस्याका लागि निस्किए ।
इसापूर्व ५२८ को वैशाख शुक्ल पूर्णिमाका दिन उनले वोधगयास्थित पीपलको रुख (बोधिवृक्ष) मुनि बुद्धत्व प्राप्त गरे । बुद्धत्व प्राप्त गरेपछि नै उनलाई गौतम बुद्ध, बुद्ध भगवान् आदि नामले पुकारिएको हो । दुःखलाई नाश गर्न तृष्णा क्षय गर्ने आठ मार्ग नै बुद्धले पाएको ज्ञान हो । सम्यक् सङ्कल्प, सम्यक् दृष्टि, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् आजीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति र सम्यक् समाधि हुन् यी आठ मार्ग हुन् भनी उनले ज्ञान बाँडेका थिए ।
यी ज्ञान पहिलोपटक सारनाथस्थित मृगदावनमा पञ्चवर्गीय भिक्षुहरूलाई प्रवचन (धर्मदेशना) का माध्यमबाट बाँडेका थिए । ४५ वर्षसम्म यस्तो ज्ञान बाँडेपछि ८० वर्षको उमेरमा इसा पूर्व ४८३ मा वैशाख शुक्ल पूर्णिमाकै दिन कुशीनगरमा उनले महापरिनिर्वाण (मृत्यु) प्राप्त गरे ।
विश्व जगत्मा शान्तिका अग्रदूत र एसियाका ताराका रूपमा भगवान् गौतम बुद्धलाई चिनिन्छ । बुद्धले आठ मार्गका माध्यमबाट शान्ति, अहिंसा, मैत्री र करुणाको शिक्षा आम मानिसलाई दिए । यसैकारण विश्वमा बुद्ध दर्शनले सम्प्रदाय वा पथको रूप धारण गरेको छ ।

२०१२ फागुन ७ गते लुम्बिनीमा बुद्ध जयन्तीका दिन हत्या, हिंसामाथि प्रतिबन्धको घोषणा गरिएको थियो । विश्वशान्तिका अग्रदूत भगवान् गौतमबुद्धको जन्मजयन्तीका दिन संयुक्त राष्ट्रसङ्घीय प्रणालीमा पनि सन् २००२ देखि सार्वजनिक बिदा दिइँदै आएको छ ।
हालसम्म विश्वका प्रकाशनमध्ये बुद्धसम्बन्धी सबैभन्दा बढी पुस्तक प्रकाशित भएको बताइन्छ । यिनमा बेलायतबाट प्रकाशित डेली टेलिग्राफका सम्पादक सर एडविन आर्नोल्डको ‘एसियाको ज्योति (१८७९)’ तत्कालीन भारतीय संविधान मस्यौदा समितिका अध्यक्ष डा.बाबा साहेब अम्बेडकरको ‘बुद्ध र उनको धम्म (१९५७)’ र सन् १९४६ मा साहित्यमा नोबेल पुरस्कार प्राप्त जर्मन उपन्यासकार हेर्मन हेस्सेको ‘सिद्धार्थ (१९२२)’ प्रसिद्ध छन् ।
यसैगरी जर्मनीका माथेरा न्यानातिलोकाले ‘बुद्धिस्ट डिक्सनरी’ (१९५०), ‘विश्वमा बुद्ध’ (१९०६), फ्रान्सका डा.वाल्पोला राहुलको ‘बुद्धको विचार’ (१९५९), इटलीका जिसेप्पे टिउचिलेको ‘मुस्ताङको भ्रमण’ (१९६९) आदि पुस्तकले बुद्धलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।
विश्वका अति प्रसिद्ध अक्सफोर्ड, क्याम्ब्रिज, हार्वर्ड आदि विश्वविद्यालयमा बौद्ध दर्शन अध्ययन हुँदै आएको छ । यसैगरी त्रिभुवन, नेपाल संस्कृत, लुम्बिनी बौद्ध विश्वविद्यालय लगायतले पनि बौद्ध दर्शनमा स्नातकोत्तरको अध्ययन अध्यापन गर्दै आएका छन् ।
आफ्नो कर्मलाई शुद्ध राख्दै, बुद्धले देखाएको मध्य मार्ग, करुणा, र मैत्री को पथमा अग्रसर हुन बीसीसी यूकेले अनुरोध गरेको छ । श्रद्धालु भक्तजन, बौद्ध अनुयायी तथा यूकेवासी नेपाली समुदायलाई बुद्ध जयन्ती २०२५ को अग्रिम शुभकामनासहित कार्यक्रममा निमन्त्रणसमेत गरेको छ ।