लन्डन । प्रतिभाशाली युवा कलाकार सुरज गुरुङको जीवन गम्भीर रोगसँगको संघर्षमा बितिरहेको छ । उनी केही समययता मिर्गौला फेलियरको पीडाबाट गुज्रिरहेका हुन् ।
सुरजको जीवन बचाउन मिर्गौला प्रत्यारोपण अत्यावश्यक भएको चिकित्सकले बताएका छन् । त्यसका लागि आवश्यक आर्थिक स्रोत जुटाउन कठिन भएपछि अहिले ‘सुरज गुरुङ बचाउ अभियान’ सञ्चालन गरिएको छ ।
सुरज, जो आफ्नो कला र मुस्कानले धेरैको मन जित्न सफल भएका थिए, केही समयअघि मात्र याङजाकोट गाउँमा गुरुङ गीतको छायांकन सम्पन्न गरेर फर्किएका थिए । त्यसको केही हप्तापछि नै उनलाई मिर्गौलासम्बन्धी गम्भीर समस्या देखियो । यो खबरले परिवार, आफन्त र शुभेच्छुक स्तब्ध छन् ।
अहिले अस्पतालको शय्यामा रोगनसँग जुधिरहेका सुरजका लागि उपचार खर्च जुटाउनु चुनौतीपूर्ण बन्दै गएको छ । यस कठिन घडीमा देश तथा विदेशमा रहेका मनकारीसँग आर्थिक सहयोगको हार्दिक अपिल गरिएको अभियानका संयोजक सदस्य साजन गुरुङले बताए ।
सानो–ठूलो जुनसुकै सहयोगले पनि सुरजलाई नयाँ जीवन दिन सक्ने भएकाले सबैमा सहयोगका लागि परिवारले अपिल गरेका छन् । परिवारका अनुसार, सुरजको मनोबल अझै बलियो छ र उनी फेरि पहिलेकै अवस्थामा फर्किने आशामा छन् ।
‘मानवता र सहानुभूतिको यो घडीमा, तपाईंको सानो सहयोगले पनि एउटा उज्यालो भविष्य बचाउन सक्छ,’ अभियानका संयोजक सदस्य साजनले भने, ‘कृपया सकेको सहयोग गरौँ ।’