बेलायत । तमुधीँ यूकेले आगामी सेप्टेम्बरमा आयोजना हुने विश्वप्रख्यात परोपकारी खेल ‘१०० किलोमिटर ट्रेलवाकर २०२६’ का लागि आफ्नो तयारीलाई तीव्रता दिएको छ ।
यसै सिलसिलामा गत ९ अप्रिलका दिन सेन्ट ओमर ब्यारेकस्थित सार्जेन्ट मेसमा सल्लाहकार तर्कजङ्ग (टीजे) गुरुङको विशेष आतिथ्यतामा टोलीको पहिलो बैठक सम्पन्न भयो । शान्तकुमार गुरुङको नेतृत्वमा आधिकारिक रूपमा दर्ता भइसकेको यो टोलीले आगामी ११ देखि १३ सेप्टेम्बर २०२६ सम्म सञ्चालन हुने स्पर्धामा तमुधीँ यूकेको प्रतिनिधित्व गर्नेछ ।
पहिलो पटक प्रतिनिधित्व गर्न लागेको टोली यसलाई निरन्तरता शान्तकुमार गुरुङले प्रतिवद्धता जनाएका छन् । निरन्तरतासँगै पुस्तान्तरणमा पनि ध्यान दिने उनले बताए ।
प्रतियोगिताका लागि घोषित टोलीमा धावकका रूपमा टोली नेता एवं सल्लाहकार शान्तकुमार गुरुङ, तमुधीँ यूकेका उपाध्यक्ष कमल कोन्मे गुरुङ, सल्लाहकार तर्कजङ्ग (टीजे) गुरुङ र विश्वप्रख्यात धावक एवं गोर्खा किचनका प्रबन्ध निर्देशक भीम गुरुङ रहेका छन्। टोलीको शारीरिक क्षमता अभिवृद्धिका लागि आगामी २६ अप्रिल आइतबारदेखि औपचारिक प्रशिक्षण सुरु हुनेछ। विश्वप्रख्यात धावक भीम गुरुङको प्रत्यक्ष प्राविधिक निर्देशनमा सञ्चालन हुने उक्त प्रशिक्षणको पहिलो दिन १८ किलोमिटरको दूरी तय गरिने र पछि आवश्यकता अनुसार दूरी बढाउँदै लैजाने निर्णय भएको टोली नेता गुरुङले बताए। टोलीले सातामा कम्तीमा एक पटक सामूहिक अभ्यास गर्ने र बाँकी समय व्यक्तिगत रूपमा तयारीलाई निरन्तरता दिने सहमति गरेको छ।
यस अभियानलाई प्राविधिक र प्रशासनिक रूपमा सफल बनाउन सहारा यूकेका महासचिव प्रकाश गुरुङ र तमुधीँ यूकेका मिडिया सचिव एसके गुरुङलाई महत्वपूर्ण जिम्मेवारी सुम्पिएको छ। उनीहरूले टोलीको सम्पूर्ण व्यवस्थापकीय पक्ष सम्हाल्नुका साथै खेलका क्रममा कुनै धावकलाई समस्या परेको खण्डमा तत्काल स्थान लिने ’जगेडा’ सदस्यका रूपमा समेत भूमिका निर्वाह गर्नेछन्। सहयोगी सदस्यहरूको भूमिका टोलीका लागि मेरुदण्ड सरह हुने र उनीहरूकै सक्रियतामा दौड पूरा हुने विश्वास टोलीले लिएको छ।
आर्थिक तर्फ टोलीले गोर्खा वेलफेयर ट्रस्टका लागि १ हजार २०० पाउण्ड चन्दा संकलन गर्ने लक्ष्य राखेको छ। बैठकमा सहभागी धावकहरूका लागि आवश्यक पर्ने होका वा नर्थ फेस ब्रान्डका जुत्ता, जेब्रा क्याप, विशेष टिसर्ट, ट्रयाकसुट, ब्याकप्याक र अन्य मेडिकल सामग्रीहरूको व्यवस्थापनका विषयमा समेत विस्तृत छलफल भयो। तमुधीँ यूकेको गरिमा र प्रतिष्ठालाई उच्च राख्न सम्पूर्ण टोली मानसिक र शारीरिक रूपमा तयार भइरहेको गुरुङले बताए।