राजनीति क्रूर हुन्छ । प्रतिस्पर्धीलाई सखाप नै पार्नेगरी यो खेल खेलिन्छ । राजनीति सत्ता र शक्ति प्राप्तिकै लागि खेलिने खेल पनि हो । तर, प्रजातान्त्रिक प्रणालीमा यो खेलको पनि केही नियम, मूल्भ्याय र सीमा हुन्छन् जुन यसका खेलाडीले अबलम्बन गर्न जरुरी छ ।
नेपालमा अहिले सहकारी समस्याबारे छानबिन समिति बनिसकेको छ । यसमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा गृहमन्त्री रवि लामिछाने पनि मुछिएका छन् । लामिछाने हुन् वा अरू, संसद्मा बहुमत र सत्तामा हुँदैमा सार्वजनिक पदमा बसेको व्यक्तिले जन सरोकारको विषयमा प्रश्न उठेपछि आफूमाथि छानबिन हुनै हुँदैन भन्नु आफूलाई कानुनमाथि भएको आभास दिलाउने एक ‘अथोरिटेरियन’ अभ्यास मात्र हो । (र, संसद् अवरोध गर्ने अभ्यास पनि राम्रो प्रजातान्त्रिक अभ्यास भने होइन।)
नेपालको राजनीतिका अधिकांश पुराना खेलाडी झैँ देखिँदै छन् लामिछाने पनि । उनले सहकारी मुद्दामा जुन अडान लिइरहेको र आफूमाथि छानबिन नगराउन सत्ता शक्तिको बलमा जे जस्ता तर्कहरू दिइरहेको देखेँ, यसले उनकै व्यक्तिगत र राजनीतिक उचाइलाई गिराएको छ भन्ने लाग्छ ।
उदाहरणको लागि, अघिल्लो निर्वाचनमा बेलायतमा बस्ने धेरै नेपालीले लामिछाने र उनको पार्टीलाई भरपुर सहयोग गरेको पाएको थिएँ । धेरैले नेपालमा बस्ने आफ्नो परिवार, आफन्त र साथीभाइलाई उनको पार्टीमा मतदान गर्न आव्हान गरेका थिए! तर लामिछानेको यस्ता गतिविधिबाट उनी र उनको पार्टीलाई समर्थन गर्ने धेरै बेलायतवासी नेपाली उनी र उनको पार्टीबाट बिच्किएको पाएको छु, अहिले । सम्भवतः धेरै बेलायतवासी नेपालीले अर्को निर्वाचनमा उनी र उनको पार्टीलाई त्यसरी सहयोग गर्ने छैनन् ।
नेपाल भित्रै पनि, सामाजिक सञ्जालमा देखिएका उनका केही समर्थक बाहेक, डेमोक्रेसी, कानुनी राज्य र सिस्टम बसेको देख्न चाहने सचेत नेपालीले लामिछानेको यस्ता हर्कत मन नपराएको पाएको छु । भर्खरै भएको इलामको चुनावी परिणामले पनि यो कुरा इंगित गरेको छ ।
मान्छेको जात हो, पदको लोभ सबैलाई हुन्छ तर दीर्घकालीन भलाइको लागि राजनीतिमा अल्पकालीन ‘स्याक्रिफाईस’ गर्न पनि तयार हुनुपर्छ । राजनीतिमा कहिलेकाहीँ दुई कदम अघि बढ्न एक कदम पछि हट्नु पनि बुद्धिमत्ता हुन्छ!
लामिछाने र रास्वपालाई जनताले सरकारमा जाने म्यान्डेट दिएकै होइन । अघिल्लो चोटि सरकारमा गएर उनीहरूले गल्ती गरे । फेरि सरकारमा गएर दोस्रो गल्ती गरे । त्यसमाथि, लामिछानेको सांसद पद गुम्दा रास्वपा पुरै पार्टी नै सरकारबाट बाहिरिनु तथा दोस्रो चोटि ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ हुदा हुदै पनि आफू नै गृहमन्त्री बन्नुले पनि रास्वपा एक व्यक्तिवादी र खासगरी लामिछाने केन्द्रित पार्टी हो भन्ने स्पष्ट भएको छ । हाम्रा पार्टी सभापति सहकारी मुद्दामा दोषी ठहरिए भने हामी रास्वपाका सबै सांसदले राजनीति छाडिदिन्छौ, भन्ने रास्वपाका एक सांसदको अभिव्यक्तिले त यो बुझाएको छ कि लामिछाने पार्टीभन्दा माथि छन् । यस पार्टीका सांसद लामिछानेका रैती हुन् । एउटा नयाँ राजनीतिक पार्टीको यो अवस्था हुनुले नेपालको डेमोक्रेसीलाई पक्कै सघाउँदैन ।
बेलायतको कुरा गर्दा भने, कोभिड केसमा बेलायतका वर्तमान प्रधानमन्त्री ऋषि सुनकमाथि नै छानबिन भएर दण्ड गरिएको थियो । सुनकले छानबिनलाई कुनै मुद्दा बनाएनन् । पब्लिकमा प्रश्न उठेपछि पदीय जिम्मेवारी बोकेका व्यक्तिहरू पब्लिकप्रति जिम्मेवार हुनैपर्छ र छानबिनको घेरामा आउनै पर्छ । यो एक डेमोक्रेटिक अभ्यास र पब्लिक प्रतिको पारदर्शिता पनि हो भन्ने बुझ्नुपर्छ ।
बेलायतको संसद्मा अहिले एक पब्लिक ‘इनक्वरी’ पनि भएको छ। जुन केही हदसम्म लामिछानेको सहकारी इस्युसँग मिल्दोजुल्दो छ । रायल मेअल नामको एक पोस्ट अफिस कम्पनीमा कार्यरत पैसा ह्यान्डलिङ गर्ने सामान्य कर्मचारीहरूले यो कम्पनीको पैसा हिनामिना गरेको देखियो । उनीहरू कानुनी कारबाहीमा परे, धेरै जेल पनि परे । तर लामो समयपछि यो थाह भयो कि खासगरी ती कर्मचारीहरू निर्दोष रहेछन् । त्यो त यो कम्पनीले प्रयोग गरेको सफ्टवेयर फल्ट रहेछ । यस इन्क्वेरीमा यस कम्पनिका पूर्वसीईओ पनि छानबिनको घेरामा तानिए । जुन घटना धेरै वर्षअघि यी सीईओको कार्यकालमा भएको थियो । मैले यो कम्पनी छोडिसकेँ भनेर ती सीईओले उन्मुक्ति पाएनन् । आफू एक एक्जेक्युटिभ भएर काम गरेको बेलामा भएको इस्युमा लामिछाने पनि जबाफदेही हुनैपर्छ, मैले त्यो कम्पनी छाडिसकेँ वा मेरो केही गल्ती छैन भनेर शक्तिको आडमा भाग्न पाउँदैनन् ।
लामो समय डेमोक्रेटिक अभ्यास गरेको बेलायत जस्तै भरखरै डेमोक्रेटिक अभ्यास गरिरहेको नेपाल हुनुपर्छ भन्ने मेरो आशय होइन यहाँ । तर नेपालले वेस्टमिन्स्टर मोडलकै डेमक्रटिक सिस्टम फलो गरिरहेको हुँदा लामिछाने र उनको पार्टीले बेलायतका यस्ता अभ्यासबाट केही सिक्न सक्छन् । खासगरी नेपालमा डेमोक्रेसी, कानुनी राज्य र सिस्टम प्रवर्द्धन गर्न यसले सहयोग नै पुर्याउँछ भन्ने लाग्छ ।
अनि, यस्तै इस्युहरूमा लामिछानेले प्रतिपक्षमा बस्दा गरेको प्रश्न आफू सत्तापक्षमा बस्दा आफूमाथि चाहिँ लागू नहुने भन्ने हुँदैन । थिति र अवस्था बदल्छु भनेर राजनीतिमा आएका उनीजस्ता नयाँ व्यक्ति र पार्टीले नै खाली पदप्राप्ति वा पदमा बसिरहन पुरानालाई नै माथ गर्ने गरी दोहोरो चरित्र निभाउने हो भने त यसले नेपालको राजनीतिप्रति जनतामा झनै वितृष्णा बढाउने निश्चित छ ।
फेरि, उनी र उनका पार्टीका सांसदले पुरानाले गरेको गलत कार्यको हवाला दिँदै सहकारी इस्युमा पुरानालाई यो पनि भनिरहेको पाएँ– ‘तिमीहरूले गर्न हुने, हामीले चाहिँ गर्न किन नहुने?’ खाली पद प्राप्तिकै लागि मात्र लामिछाने र उनका सांसदले राजनीति गरेको भए त भन्नु केही छैन । तर नेपालको राजनीतिमा रहेको फोहर सफा गर्न आएका हुन भने चाहिँ यो बुझ्नुपर्छ कि दुई वटा गलतले एउटा सही कदापि बनाउन सक्दैन ।
अझ, एक रास्वपा सांसदले संसद्मा यो पनि भनेको सुनेँ– ‘पुरानाले गरेनन् र हामी गर्छौं भनेर राजनीतिमा आएका होइनौँ ।’ यसले के संकेत गरेको पाएँ भने, उनीहरू नयाँ हुन् तर पुराना भन्दा फरक होइनन्!
त्यस्तैगरी, लामिछाने र रास्वपा दीर्घकालीन रूपमा नै नेपालको राजनीतिमा आएका हुन् भने आफ्नो सोच र गतिनिधिमार्फत पुरानाभन्दा फरक देखाउनै पर्छ । आफ्नो राजनीतिक दर्शन, संस्कार, भिजन, पोलिसी र यसको कार्यान्वयन गर्ने तरिकामा स्पष्ट बन्नै पर्छ । अर्कातिर, लामिछाने र रास्वपाका सांसदको एक्सनमा फरकपन र सही नियत देखिनै पर्छ ।
रास्वपाले तान्ने भनेका पुराना ठूला पार्टीका मतदाता नै हुन् । पुराना ठूला पार्टीका बफादार मतदाता यति अबुझ पनि छैनन् कि खाली नयाँ भएर गफ दिएकै भरमा नयाँप्रति आकर्षण हुन् । वेटरको गफमा लठ्ठिएर ‘मोमो’ छाडेर पिज्जा खान पुगेका नेपालीले ‘पिज्जा’ बासी पाएपछि फेरि मोमोतिरै फर्किए भने यसलाई पनि अस्वाभाविक मान्न नसकिएला । यस अर्थमा, यो सहकारी इस्यु, लामिछाने र रास्वपाको एक परीक्षण पनि हो ।
हुनतः अहिले ‘पपुलिज्म’को ट्रेन्ड छ संसारभरि नै । तर पनि लामिछानेले यो पनि बुझ्नुपर्छ कि पपुलिज्मले एक दुईचोटी जनता झुक्याउन सकिएला, सधैँ होइन ।
अझ मुख्यकुरा, लामिछानेमा राजनीतिक परिपक्वता र राम्रो सुझबुझको अभाव देखिन्छ । पदको लोभले हो वा भिडको दम्भले, राजनीतिक अनुभवको अभावले हो वा अज्ञानताले, सहकारी इस्युमा जस्तै उनले एकपछि अर्को गल्ती गर्दै गइरहेछन् । यही क्रम रहिरह्यो वा बढ्दै गयो भने लामिछाने र रास्वपा पनि एक ‘कमल थापा वा नानीमैयाँ दाहाल फेनोमेना’ मात्र हुनेछन् । राजनीतिमा जसरी द्रुत: गतिमा उदाए, त्यही गतिमा अस्ताउने छन् ।
(याे लेखककाे निजी विचार हाे।)