ब्याक प्रबलम अर्थात् ढाड, कम्मर दुख्ने समस्या मानवीय जीवनमा संसारभरिकै साझा समस्या हो । यो समस्या निम्तिनुको प्रमुख कारण हो, जीवनशैली । जानकारहरुका अनुसार विश्वका ८०/९० प्रतिशत मानिस यस्तै समस्यामा ग्रुजिरहेका छन् । सैनिक सेवा, एउटै पोजिसनमा काम गरिबस्ने व्यक्ति, मोटोपन भएका मानिसहरुमा ढाड दुख्ने समस्या बढी देखिने गरेको छ । यस्तो समस्यालाई कम गर्न जीवनशैली बदल्ने सम्बन्धित व्यक्तिको जिम्मेवारी हो । तर, कम नभए चिकित्सकको सल्लाह, सुझाव लिनु पर्ने आवश्यकता औंल्याउनुहुन्छ, वरिष्ठ न्यूरोसर्जन डा. निकुञ्ज योगी । डा. योगी लामो समयदेखि न्यूरो सर्जनको काम गर्दै आउनुभएको छ ।
झण्डै ८ वर्ष कास्कीको पोखरास्थित मणिपाल अस्पतालमा कार्यानुभव बटुल्नु भएका डा. योगी हाल काठमाडौंको बाँसबारीस्थित उपेन्द्र देवकोटा मेमोरियल न्यूरो अस्पतालको न्यूरोसर्जरी विभागको प्रमुखको रुपमा कार्यरत हुनुहुन्छ । उहाँको टिमले पछिल्लो समय इन्डोस्कोपिक स्पाइन सर्जरी विधिमा काम गरिराख्नुभएको छ । ब्याक प्रबलम, यसको जटिलता, सर्जरी र सचेतनाबारे गोर्खा मिडियाका सहसम्पादक प्रकाश गुरुङले डा. योगीसँग गर्नुभएको कुराकानीको सम्पादित अंश :
इन्डोस्कोपिक स्पाइन सर्जरी भनेको के हो, यो कत्तिको जटिल काम हो ?
इन्डोस्कोपिक स्पाइन सर्जरी भनेको खासगरी दुरबिन प्रयोग गरेर गरिने शल्यक्रिया हो । पहिले ओपन माइक्रोस्कोपबाट स्पाइन सर्जरी हुने गर्थ्यो । त्यतिबेला खुला गरेर वा चिरेर गरिन्थ्यो । तर प्रविधिको विकास हुँदै जाँदाखेरी सानो चिरा पारेर दुर्बिन भित्रै छिराएर, भिजिबिलिटी बढाएर बिरामीको ट्रमा कम गराएर गरिने सर्जरीलाई इन्डोस्कोपिक स्पाइन सर्जरी भनिन्छ । सामान्यतया: ढाडको नसा च्याप्ने भनिन्छ । विशेषगरी नसा च्याप्ने रोगका लागि इन्डोस्कोपिक स्पाइन सर्जरी गर्ने गरिन्छ ।
इन्डोस्कोपिक स्पाइन सर्जरी गर्दा बिरामीलाई बेहोस् पार्नुपर्छ कि पर्दैन ?
अचेत बनाउनुपर्छ । इन्डोस्कोपिक सर्जरीको धेरै विधिहरु छन् । त्यसमध्येमा लेटेस्ट विधि भनेको बाइ पोर्टल इन्डोस्कोपी भनिन्छ । यो भनेको दुई प्वाल बनाएर भित्र गएर गरिने इन्डोस्कोपी हो । यो विधिमा बेहोस् गराउनै पर्छ । कुनै कुनै विधिहरुमा बेहोस नगरी पनि सर्जरी गर्न मिल्छ । त्यसलाई ट्रान्स्फोरामिनल विधि भनिन्छ । यस्ता सर्जरी गर्दा कत्तिको ठूलो घाउ बनाउनुपर्छ ? भित्र जानका लागि चिरफार त गर्न परिहाल्यो । चार वा छ एमएमको दुरबिन हुन्छ । त्यो दुरबिन जाने प्वाल/टनेल मात्रै बनाउने हो । त्यसका लागि दुई/अढाई सेन्टीमेटिरको स्किन सिरिन्ज हुन्छ । त्यसबाट टनेल बनाएर काम गर्नुपर्ने ठाउँमा दुर्बिन छिराइन्छ र काम गर्नुपर्ने हुन्छ ।
रोगकहाँ निर छ भन्ने पत्ता लगाउँन एमआरआई पहिले गर्नुपर्ने हुन्छ होला । सर्जरीका लागि एकपटकको एमआरआईले पुग्छ ?
युजल्ली एकपटक एमआरआई गर्दा पुग्छ । ब्याकको कन्डिसन सबैको एकै खालका हुँदैनन् । मैले अघि भनेअनुसार फरक फरक मोडालिटीमा एमआरआई गर्नुपर्ने हुन्छ । डिक्स भन्ने पार्ट हुन्छ । डिक्सले मात्रै थिचेको छ भने एमआरआई गरे मात्रै पुग्छ । कतिपयको हड्डी नै बढेको हुन्छ, त्यस बेला हामी सिटिस्क्यान नै गरेर हेर्छौं ।
नसाको सर्जरी गरिसकेपछि इन्फेक्सन हुने लगायत सम्भावना हुन्छ कि ?
यो मात्रै होइन, हरेक अप्रेसनमा इन्फेक्सन हुन्ने सम्भावना हुन्छ । इन्डोस्कोपी सर्जरीमा एउटा प्वालबाट पानी पठाउने गरिएकोले घाउबाट बग्ने रगत र अन्य फोहोर पखालिरहने भएकोले इन्फेक्सनको कम चान्सेज हुन्छ । इन्फेक्सन हुने विषयमा धेरे फ्याक्टर्सहरु जोडिएका हुन्छन् ।
सर्जरी भएका बिरामी कति समयमा सामान्य अवस्थामा फर्किन्छन् वा रिकभरि भइसक्छ ?
यो सर्जरी हामीले सुरु गरेको करिब ८ महिना भयो । यो विधिबाट ३०/३५ वटा अप्रेसन गरिसकेका छौं । अहिलेसम्मको अनुभवमा तीन दिनमा डिस्चार्ज गर्ने गर्छौं । जस्तो आज अप्रेसन गर्छौं । भोलि कन्डिसन हेर्छौं र पर्सि/निको पर्सि डिस्चार्ज गर्ने गरेका छौं ।
नियमित काममा फर्किने अवस्थामा पुग्न चाहिँ कति समय लाग्छ ?
सर्जरी पछि हामी दुई हप्ताको समयमा फलोअपमा बोलाउँछौं । त्यतिबेला हामी फिजियो थेरापीहरु सिकाएर पठाउँछौं । उहाँहरु ४ देखि ६ हप्तामा सामान्य आफ्ना कामहरु गर्ने अवस्थामा पुग्नुहुन्छ । दुई महिना कटिसकेपछि स्वस्थ भएको बेला जसरी काम गर्न सक्ने हुन्छन् ।
यस्तो सर्जरीका लागि कति खर्च लाग्छ ?
इन्डोस्कोपी सर्जरीमा लाग्ने सामानहरु अरु भन्दा महँगो हुन्छ । तर ओपन सर्जरीभन्दा नेपालीको परिवेशमा २०/३० हजार अतिरिक्त लाग्ने हो । शल्यक्रियाको खर्च हरेक अस्पतालमा सेवा, सुविधाको आधारमा फरक-फरक हुन्छ ।
शल्यक्रियापछि कस्तो किसिमको बेडमा बस्ने भन्ने एउटा पाटो होला । तर विशुद्ध सर्जरी चार्जमात्रै फिगरमा भन्न मिल्छ?
सामान्यतया: ढाड चिरेर गरिने अप्रेसन एक/डेढ लाखमा हुन्छ भने इन्डोस्कोपी सर्जरीमा २०/२५ हजार बढी लाग्छ । जेहोस् १ लाख ५० हजारभित्र अप्रेसन हुन्छ ।
बेलायतमा विशेषगरी पूर्वगोर्खाहरु धेरै हुनुहुन्छ । उहाँहरु धेरैमा ब्याक प्रबलम छ । यहाँ न्यूरो सर्जन भएको नाताले के सजेसन दिनुहुन्छ ?
संसारभरिका मान्छेमा ८०/९० प्रतिशतमा कुनै न कुनै समयमा ब्याक प्रबलम हुन्छ, हुन्छ । आर्मीहरुमा बढी हुने भयो । एउटै पोजिसनमा बस्ने मान्छेहरुमा हुने भयो । त्यो अलग भयो । तर ब्याक प्रबलम हुने सबैलाई अप्रेसन चाहिँदैन । शल्यक्रिया गर्नुपर्नेको संख्या १०/१५ प्रतिशत हो । हामीलाई त्यस समस्या छ भने त्यसलाई कसरी कम गर्ने भन्ने हो । एउटा, शारीरिक क्रियाकलाप, दोस्रो, फिजियोथेरापी भयो, बसाइमा सधैं झुकेर नबस्ने, सामानहरु झुकेर नउठाउने । सधैं झुकेर बस्न थाल्यो भने समस्या बढी हुन्छ । त्यसकारण पोस्चरहरुलाई मेन्टेन गरेमा यसको समस्या कम हुन्छ । त्यस्तै हिँड्डुल गर्ने, शरीरको तौल मेन्टेन गर्ने, चुरोट सूर्ती त्याग्नु पर्यो। यस्ता कुराहरुमा ख्याल गर्न अनुरोध गर्छ ।
यहाँ एउटा प्रसिद्ध पेसामा हुनुहुन्छ । यहाँको पारिवारिक पृष्ठभूमि गोर्खा समुदायसँग सम्बन्धित हुनुहुन्छ भन्ने सुनिन्छ, त्यस्तो हो ?
मेरो वाइफको बुबा (अहिले हामीमाझ हुनुहुन्न) पहिले उहाँ पनि ब्रिटिस आर्मीमा हुनुहुन्थ्यो । पछि सर्भिस छोडेर आउनुभयो । मेरो वाइफहरुको पुर्ख्यौली दार्जिलिङ हो । त्यस्तै वाइफकै भेना गोर्खा आर्मीमै हुनुहुन्थ्यो। उहाँलाई पनि मैले यूकेमै भेटेको थिएँ । तर स्याड्ली कोभिडको बेला बित्नुभयो। इन वे हामी पनि गोर्खा समुदायसँग सम्बन्धित हौं ।
अन्त्यमा केही भन्न चाहनुहुन्छ ?
न्यूरो सर्जरी र न्यरोलोजीसम्बन्धी समस्या रिलेटेड मान्छेहरु कसैलाई नपरोस् भन्ने हो, हामी न्यूरो सर्जन भए पनि । दिमाग र नसा भन्ने यस्तो पार्ट हो, त्यो कसैलाई समस्या नपरोस् । तर समस्या भइहालेमा सुझाव सल्लाहका लागि मलाई भेट्नु वा उपेन्द्र देवकोटा मेमोरियल हस्पिटल भ्रमण गर्न अनुरोध गर्छु । सकेसम्म समस्या नपरोस् । परिहालेमा हामी सेवा दिन सधैं तयार छौं।