पोखरा । तमु समुदायको अग्रणी सामाजिक संस्था तमु धिं नेपालको आगामी ३ वर्षका लागि पदाधिकारी निर्विरोध निर्वाचित भएको छ ।
तमु धिं नेपालको असोज ९ र १० गते पोखरामा हुने ४२औँ वार्षिक साधारणसभा तथा १७औँ महाधिवेशनबाट आगामी नेतृत्वका लागि गठित निर्वाचन समितिको कार्यतालिका अनुसार शनिबर पदाधिकारीका लागि भएको मनोनयनमा एकल उम्मेदवारी दर्ता भएसँगै निर्विरोध भएका हुन् ।
तथापि निर्वाचन समितिले निर्वाचित भएको असोज ९ गते घोषणा गर्ने प्रमुख निर्वाचन अधिकृत एवं तमु धिं नेपालका संस्थापक उपाध्यक्ष शंकर गुरुङले बताए ।
असोज ३ गते शनिबार पदाधिकारीका लागि मनोनयन दर्ता गर्ने निर्वाचन कार्यक्रमअन्तर्गत तमु धिं नेपालको अध्यक्षमा सुबेदार मेजर श्रीप्रसाद गुरुङ, वरिष्ठ उपाध्यक्षमा गीमाया गुरुङ,प्रथम उपाध्यक्षमा अधिवक्ता जुनाकुमारी गुरुङ, द्धितीय उपाध्यक्षमा गोपाल गुरुङ, महासचिवमा कृष्णकुमार गुरुङ, सचिवमा श्रीजंग गुरुङ, सहसचिवमा बालकुमारी गुरुङ, कोषाध्यक्ष जगतबहादुर गुरुङ र सहकोषाध्यक्षमा काशीमाया गुरुङको एकल मनोनयन परेको थियो ।
कास्की जिल्ला मादी गाउँपालिका वडा नं. २ ताङतिङ गाउँ घरु भई भारतीय सेनाबाट सुबेदार मेजर दर्जामा सेवा निवृत्त श्रीप्रसाद गुरुङ तमु धिं नेपालको वर्तमान वरिष्ठ उपाध्यक्ष, यस पूर्व दुई कार्यकाल कोषाध्यक्ष, केन्द्रिय सदस्य, साथै ताङतिङ दुधपोखरी तमु समाज पोखराको सफल नेतृत्व गरिसकेका छन् ।
तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले लगातार दुई कार्यकाल अध्यक्षपश्चात् अग्रज, अनुभवी सुबेदार मेजर गुरुङलाई जिम्मेवारी हस्तान्तरण गर्ने र अन्य पदाधिकारीमा सर्वसहमतिका लागि पटक पटकको पहलबाट सम्भव भएको हो ।
२०४२ साल जेठ ५ गते स्थापना भएको तमु धिं नेपालको १७ महाधिवेशन सम्पन्न गर्न संस्थापक उपाध्यक्ष शंकर गुरुङ प्रमुख निर्वाचन अधिकृत, पूर्व उपाध्यक्ष अधिवक्ता अनिता गुरुङ, पूर्व महासचिव रुद्रकुमारी गुरुङ मैना, संरक्षक परिषद्को सहसंयोजक मेजर लक्ष्मीप्रसाद गुरुङ र समाजसेवी क्या.चन्द्रप्रसाद गुरुङ रहेको निर्वाचन समिति गठन गरिएको थियो ।