बेलायत । नेपालमा हालै आएको बाढी तथा विपद्बाट प्रभावित नागरिकका लागि तमु धीं यूकेले १ करोड १ हजार रुपैयाँ राहत सहयोग गर्ने घोषणा गरेको छ। बेलायतमा रहेका नेपाली संस्थामध्ये अग्रणी संस्थाका रूपमा रहेको तमु धीं यूकेले यसपटक आफ्नो वार्षिक नेपाली मेलालाई सांस्कृतिक उत्सवमा मात्र सीमित नराखी विपद्मा परेका नेपालीका लागि मानवीय सहयोग जुटाउने अभियानमा रूपान्तरण गरेको हो।
नेपाली मेला भव्य रूपमा सम्पन्न भएपछि बसेको जुम बैठकमार्फत संस्थाले राहत संकलन अभियानलाई थप तीव्रता दिने निर्णय गरेको हो। संस्थाका अनुसार नेपाल विपद्को कठिन घडीमा रहेका बेला नेपाली समुदायबाट प्राप्त सहयोगलाई एकताबद्ध गर्दै प्रभावित नागरिकसम्म पुर्याउने उद्देश्यले अभियान सञ्चालन गरिएको हो।
तमु धीं यूकेका उपाध्यक्ष तथा १७औँ नेपाली मेलाका संयोजक कमल कोने गुरुङले नेपाली मेलालाई केवल सांस्कृतिक कार्यक्रमका रूपमा सीमित नराखी मानवीय सेवाको माध्यम बनाउने उद्देश्यले राहत अभियान अघि बढाइएको बताए।
बैठकमा कोषाध्यक्ष अरुण गुरुङले हालसम्म संकलन भएको राहत रकमको विवरण प्रस्तुत गरेका थिए। सो क्रममा विभिन्न पदाधिकारी तथा इकाईहरूले थप सहयोग गर्ने घोषणा गरेका छन्।
अध्यक्ष जुम काजी गुरुङले £५०५, नेपाली मेला संयोजक तथा उपाध्यक्ष कमल गुरुङले £५००, खेलकुद संयोजक क्याप्टेन दिपक घलेले रु. ५० हजार, ह्याम्पशायर तथा सरी इकाईका अध्यक्ष महेन्द्र गुरुङले इकाईका तर्फबाट £१,०००, वोकिङ इकाईका अध्यक्ष शेरकाजी गुरुङले £१,००० तथा तमु धीं यूके आमा समूहले £१,००० सहयोग गर्ने घोषणा गरेका छन्।
यसअघि नेपाली मेला आयोजना भएको दिन गरिएको बकेट संकलनबाट मात्रै £५,११३ रकम संकलन भएको थियो।
तमु धीं यूकेले नेपाली मेलाअघि नै मेलाबाट प्राप्त आम्दानी नेपालमा विपद्बाट प्रभावित नागरिकको सहयोगमा खर्च गर्ने प्रतिबद्धता जनाएको थियो। सोही प्रतिबद्धतालाई निरन्तरता दिँदै संस्थाले १ करोड १ हजार रुपैयाँ तत्काल राहत सहयोग गर्ने घोषणा गरेको हो।
नेपाल कठिन विपद्को सामना गरिरहेका बेला पनि नेपाली मेलालाई निरन्तरता दिने निर्णय गरेकोमा तमु धीं यूकेले बेलायतस्थित नेपाली समुदाय, सहभागी संस्था, रेस्टुरेन्ट, स्टल तथा सहयोगीहरूप्रति आभार व्यक्त गरेको छ। संस्थाले नेपाली समुदायको साथ र सहभागिताकै कारण मेला भव्य रूपमा सफल भएको जनाएको छ।
१५ सेप्टेम्बरसम्म थप राहत संकलन
तमु धीं यूकेले राहत अभियानलाई अझ विस्तार गर्दै आफ्नो कार्यसमिति, पूर्वअध्यक्ष, ट्रस्टी, सल्लाहकार तथा आजीवन सदस्यहरूबाट समेत थप राहत रकम संकलन गर्ने भएको छ।
वरिष्ठ उपाध्यक्ष परशु गुरुङका अनुसार राहत संकलन अभियान १५ सेप्टेम्बर २०२६ सम्म सञ्चालन हुनेछ। त्यसपछि संकलित रकमलाई आवश्यक प्रक्रिया पूरा गरी नेपालका विपद्पीडित नागरिकको सहयोगमा पठाइने बताइएको छ।
नेपाली मेलामा राष्ट्रिय व्यक्तित्व र सञ्चारमाध्यमको सहभागिता
संस्थाका मिडिया सचिव सबिन कुमार गुरुङले यसपटकको नेपाली मेलामा बेलायतमा सक्रिय विभिन्न सञ्चारमाध्यमका साथै स्काई न्युजलगायतका सञ्चारमाध्यमको उपस्थिति रहेको जानकारी दिए।
उनका अनुसार विपद्को घडीमा नेपाली समुदायसँग ऐक्यबद्धता जनाउन माननीय इन्दिरा राना मगर, पर्वतारोही मिङ्मा डेभिड शेर्पा, गायक राजु लामा तथा गायक योगेश्वर अमात्यलगायतको पनि उपस्थिति रहेको थियो।
समाजका महासचिव डा. विशाल गुरुङको सञ्चालनमा सम्पन्न जुम बैठकमा नेपाली मेलाको समीक्षा तथा राहत अभियानलाई प्रभावकारी बनाउने विषयमा कार्यसमिति सदस्यहरूले सुझाव तथा सल्लाह दिएका थिए।
बैठकको अन्त्यमा १७औँ नेपाली मेला संयोजक कमल कोने गुरुङले नेपाली मेलालाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सहभागी संस्था, रेस्टुरेन्ट, स्टल सञ्चालक तथा सहयोगीहरूप्रति धन्यवाद व्यक्त गरे।
अध्यक्ष जुम काजी गुरुङले नेपाल विपद्को कठिन घडीमा कार्यसमिति एकजुट भएर राहत अभियान अघि बढाउन सफल भएकोमा सम्पूर्ण कार्यसमितिलाई धन्यवाद दिए। उनले नेपाली मेला सफल बनाउन तथा राहत अभियानमा योगदान पुर्याउने सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति विशेष आभार व्यक्त गर्दै तमु धीं यूकेले आगामी दिनमा पनि आवश्यकता अनुसार मानवीय तथा सामाजिक सेवाका कार्यक्रमलाई निरन्तरता दिने बताए।
तमु धीं यूकेको यो अभियानले बेलायतमा रहेका नेपाली समुदायको सामूहिक एकता, सामाजिक उत्तरदायित्व र मातृभूमिप्रतिको सहयोगी भावनालाई पुनः उजागर गरेको छ।