पोखरा । गण्डकी प्रदेश सरकारअन्तर्गतको प्रदेश खेलकुद परिषद्ले वितरण गरेको ‘गण्डकी प्रदेश खेलकुद पदक’ विवादमा परेको छ ।
प्रदेशका खेलाडी, प्रशिक्षक, खेल क्षेत्रमा लागेका व्यक्ति, संघसंस्था र उनीहरूले गरेको योगदानको सम्मान गर्ने उद्देश्यसहित सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयले ‘गण्डकी प्रदेश खेलकुद पदक स्थापना तथा व्यवस्थापनसम्बन्धी कार्यविधि, २०८१’ जारी गरेको थियो । सोही कार्यविधिअनुसार आर्थिक वर्ष ०८१/८२ को पदक ३० असार ०८३ मा वितरण गरिएको थियो । कार्यविधिविपरीत परिषद्का सदस्यसचिव श्रीधर शर्माले सेटिङ गरेर मनपरी पदक वितरण गरेको आरोप लागेको छ ।
आफैँ समितिमा बसेर आफू स्वयंले पदक लिने र आफू अध्यक्ष रहेको खेल संघलाई पुरस्कार दिइएको, पदकका लागि पेस भएको निवेदनको मूल्यांकन तथा पदक वितरणको व्यवस्था मिलाउने समिति, छनोट प्रक्रिया, जस्ता विषयका कारण पदक वितरणपछि चरम विवादमा परेको हो । पदक दाबी गर्न निकालिने सार्वजनिक सूचना, पर्याप्त आवेदन नपरेको, पदक सञ्चालक समितिको निर्णयको पनि आलोचना भइरहेको छ ।
विवाद र आलोचनापछि विभिन्न खेल संघसंस्था, खेलाडी, प्रशिक्षक एवं सरोकारवालाले सदस्यसचिवले मनपरी र स्वार्थ बाझिने गरी पदक वितरण गरेको बताउँदै सबै पदक फिर्ता गर्न माग गरेका छन् । आफ्नै संघलाई पदक र पुरस्कार पदक वितरणका लागि तयार गरिएको कार्यविधिमा पाँच सदस्यीय सञ्चालक समितिको मात्र व्यवस्था गरिएको छ । सञ्चालक समितिले नै आफ्नै संघलाई पदक र पुरस्कार मिलाएपछि विवाद सतहमा आएको हो ।
आमन्त्रित सदस्यसँगै पदकका लागि पेस भएको निवेदनको मूल्यांकन तथा पदक वितरणको व्यवस्था मिलाउने समितिका सदस्य रहेका हरिप्रसाद पराजुलीले आफू आबद्ध नेपाल भूतपूर्व खेलाडी मञ्चलाई ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल आयोजक संस्था’ अवार्ड दिलाएका थिए । त्यस्तै, केशव पाठकले ‘खेलकुद पत्रकारिता पदक’ लिएका छन् । पाठक नै अध्यक्ष रहेको ह्यान्डबल संघ गण्डकीले ‘प्रदेशभित्र रहेर वार्षिक रूपमा उत्कृष्ट कार्य सम्पादन गर्ने खेल संघ’का रूपमा दोस्रो हुँदै नगद ९० हजार पुरस्कार पाएको थियो ।
आमन्त्रित सदस्यका रूपमा नियुक्त भएका पराजुली नेपाल भूतपूर्व खेलाडी मञ्चका निवर्तमान अध्यक्ष, पाठक परिषद्को आर्थिक वर्ष ०८१/८२ मा बोर्ड सदस्यसँगै केही दिन परिषद्को निमित्त सदस्यसचिव, नेपाल ह्यान्डबल संघ गण्डकीको अध्यक्ष र नेपाल भूतपूर्व खेलाडी मञ्चका महासचिव हुन् ।
मञ्च र पाठकसँगै कार्यक्रममा राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही, आइटिएफ तेक्वान्दोकी सुस्मिता थापामगर, क्रिकेट प्रशिक्षक रिजन प्रजू, आर्चरीका योगेन्द्र शेरचन र असिम शेरचन गरी सातजनाले पदक पाएका थिए ।
यसबारेमा गण्डकी प्रदेशकी सामाजिक विकास युवा तथा खेलकुद मन्त्री रेखा गुरुङले यसबारेमा के भएको हो भन्ने बुझिरहेको बताईन् । यसबारे मन्त्रालयले जानकारी लिनुका साथै छानबिन गरिरहेको छ ।
कार्यविधिले पदक वितरणका लागि पाँच सदस्यीय समितिको व्यवस्था गरे पनि सदस्यसचिव शर्माले कार्यविधिभन्दा बाहिर गएर स्वार्थ बाझिने र आफ्नो उद्देश्यअनुसार काम गर्न सहज बनाउनका लागि समितिको हरेक बैठकमा आमन्त्रित सदस्यका रूपमा सहभागी हुने गरी तीनजनालाई आमन्त्रित सदस्य नियुक्ति गरे । निवेदनको मूल्यांकन तथा पदक वितरणको व्यवस्था मिलाउने भन्दै पाँच सदस्यीय अर्को उपसमिति पनि गठन गरे । गण्डकी प्रदेश टेक्निकल कमिटिका संयोजक हरिप्रसाद पराजुली, प्रदेश खेल समन्वय समितिका संयोजक केशव पाठक र गण्डकी प्रदेश रेफ्री कमिसनका संयोजक चित्रबहादुर थापालाई आमन्त्रित सदस्यका रूपमा नियुक्त गरेका थिए ।
उनीहरूलाई नियुक्ति गरिएको केही साताअघि मात्र सदस्यसचिव शर्माको अध्यक्षतामा खेल संघका प्रतिनिधिको बैठक बोलाएर संयोजकमा चयन गरिएको थियो । सिफारिस समितिका सदस्य मदन केसी संयोजक, आमन्त्रित सदस्यका रूपमा नियुक्त पराजुली, पाठक र थापासँगै परिषद्का अधिकृत तोपलाल भुसाल सदस्य रहेको समिति गठन गरेका थिए ।
यही समितिले पदक पाउने खेलाडी र खेल संस्था छनोट गरेको थियो । समितिका सदस्य र समितिका सदस्यकै खेल संघ र खेलाडीले पदक पाएपछि विवाद र आलोचना भएको हो ।