पोखरा । गुरुङ गहना घर प्रालिले आफ्नो पाँचौँ वार्षिकोत्सव तथा घटस्थापनाको अवसरमा पोखरामा आयोजना गरेको खुला रक्तदान कार्यक्रममा ११४ युनिट रगत संकलन भएको छ ।
पोखरा–९, न्युरोडस्थित प्रालिको प्राङ्गणमा आइतबार आयोजित कार्यक्रममा रक्तदाताहरूले रक्तदान गरेका हुन् । कार्यक्रममा तमु धीं नेपालका मानार्थ सदस्य विग्नेश थापालाई नगद २० हजार रुपैयाँ सहित कदरपत्र र दोसल्ला प्रदान गरी सम्मान गरिएको थियो । तमु धीं नेपाल लगायत विभिन्न संघसंस्थामा सक्रिय थापालाई प्रालिका सञ्चालक सीमा गुरुङ, प्रबन्ध निर्देशक नेल्सन गुरुङ र नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशका अध्यक्ष एमबी आस्था लगायतले सम्मान गरेका थिए । कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक नवीन कार्की, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय कास्कीका अनुसन्धान अधिकृत मोहनबहादुर कुँवर, सशस्त्र प्रहरी बल कालिका गण मालेपाटनका सशस्त्र प्रहरी नायब उपरीक्षक तुलसीराम पाण्डे, पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल लगायत व्यवसायी, खेलाडी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रालिका सञ्चालक सीमा गुरुङले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरिएको बताइन् । आर्थिक चुनौतीका बाबजुद पनि देशकै अर्थतन्त्रमा योगदान पु¥याउने र स्वदेशमै केही गर्ने उद्देश्यले सुनचाँदी व्यवसायमा लागेको उनको भनाइ थियो ।
प्रबन्ध निर्देशक नेल्सन गुरुङले ठाउँको अभावका कारण व्यवसाय विस्तार गर्नुपरेको बताए । गत वर्ष असोज ६ गते घटस्थापनाको दिन भाटभटेनी अगाडि रहेको मुख्य पसलसँगै न्युरोडमै अर्को शाखा विस्तार गरिएको उनले जानकारी दिए । युवाहरू विदेश पलायन बढिरहेका बेला स्वदेशमै केही गर्ने हुटहुटी सहित आफू व्यवसायमा सक्रिय रहेको उनले बताए ।
गुरुङ गहना घर प्रालि परम्परागत संस्कृति र आधुनिक डिजाइनको संयोजनमा तयार गरिएका सुनका गरगहना तथा चाँदीका पुचै, छाप्री र भाँडाका लागि परिचित छ । गुरुङ महिलाद्वारा सञ्चालित यस गहना घरमा अनुभवी तथा दक्ष कालिगढमार्फत परम्परागत र आधुनिक डिजाइनका आकर्षक गरगहना उपलब्ध हुँदै आएका छन् ।