लन्डन । बेलायतको मिडल्यान्डमा सोमबार ‘चौथो मिडल्यान्ड नेपाली मेला’ सम्पन्न भएको छ । नेपाली समाज नटिङहमले आयोजना गरेको मेलामा २ हजार जनाभन्दा बढीको सहभागिता थियो ।
पूर्वअध्यक्ष विष्णु चालिसे र महासचिव डिलाराम गौतमले सञ्चालन गरेको कार्यक्रममा पूर्वअध्यक्ष रविन्द्र शर्माले स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रमको प्रमुख अतिथि बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडी रहेका थिए । समाजका अध्यक्ष लोकनाथ अधिकारी, प्रमुख अतिथि दुवाडी र संस्थापक अध्यक्ष रणबहादुर खाती क्षेत्रीले संयुक्त रूपमा उद्घाटन गरेका थिए ।
कार्यक्रममा बोल्दै कार्यवाहक राजदूत दुवाडीले बेलायतवासी नेपालीलाई एक ठाउँमा भेला गराई उनीहरुबीचको सद्भाव बढाउन मेलाले महत्वपूर्ण भूमिका खेलेको भन्दै आयोजकलाई धन्यवाद दिए । तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङले नेपाली कला, संस्कृति, भेषभूषा र परम्परा जगेर्ना गर्ने कार्यमा मेला सफल भएको बताए ।
मेलाको उद्घाटन सत्रमा साझा नेपाली समाज यूकेका अध्यक्ष नारायण फुयांल, गुल्मी जिल्ला समाज यूकेकी अध्यक्ष मञ्जु भण्डारी, पूर्व मेयर एवम् काउन्सिलर भीम सारु, नटिङहम महिला समूहकी अध्यक्ष विष्णु खरेललगायतले मन्तव्य राख्दै मेला सफलताको शुभकामना दिएका थिए ।
-1785249541.jpg)
सांस्कृतिक संयोजक सुदिप उप्रेतीले मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गरे । नेपालबाट आएका कलाकारहरू विष्णु खत्री, रमेशराज भट्टराई, इन्द्र जिसी र अस्मिता डल्लाकोटीको सांगीतिक प्रस्तुतिमा दर्शक झुमेका थिए ।
मेलाको अवसरमा आयोजित यूकेव्यापी भलिबल प्रतियोगिताको उपाधि ग्रीनवीच भलिबल परिवारले जित्यो । उनले ग्रीनवीचले १ हजार ५०० पाउन्ड नगदका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । उपविजेता गल्कोट समाज यूकेले ८०० पाउन्ड नगद पायो । प्रतियोगिता संयोजन समाजका पूर्वअध्यक्ष दीपक सापकोटाले गरेका थिए ।
यस्तै, सेभेन ए साइड फुटबलमा विजेता बनेको नटिङहम समाजले १ हजार पाउन्ड तथा उपविजेता कोभेन्ट्रीले नगद ५०० पाउन्ड प्राप्त गरे । सो अवसरमा बालबालिकाको फुटबल र विभिन्न उमेर समूहमा ५०० मिटर पार्क पनि सञ्चालन गरिएको थियो ।
चार वर्षअघि सुरु भएको नेपाली मेला चौथो संस्करणसम्म आइपुग्दा व्यापक र बृहत् बनेको समाजका अध्यक्ष अधिकारीले बताए । आगामी वर्षमा गैरनेपाली समुदायको सहभागितासहित मेलालाई थप बिस्तार र विकास गर्ने उनको भनाइ थियो ।
अध्यक्ष अधिकारीले मेला सफल पार्न योगदान गर्ने सबैलाई धन्यवाद दिए ।