बेलायत । नेपाली चलचित्र ‘पेन्सन पट्टा’ बेलायतको अल्डरसटमा पनि हाउसफूल भएको छ । प्रिन्सेस हलमा २ दिनयता फिल्म हेर्न गएका कतिपय दर्शकले फिल्म निकै राम्रो बनेको र आफूहरुको जीवनसँग मेल खाने प्रतिक्रिया दिएका छन् ।
लाहुरे परिवेशमा बुनिएको कथा र विशेष पेन्सनपछिको जीवनका उतारचढाव र प्रेमको गहिराइलाई चलचित्रले निकै रोचक ढंगले प्रस्तुत गरेको उनीहरुको भनाइ छ । बेलायतमा नेपाली ब्रिटिस लाहुरेहरुको उत्तिकै बाहुल्य छ । पोखरा, गुरुङ समुदाय तथा पेन्सन पट्टासँग त उनीहरुको झनै अट्याचमेन्ट छ ।
यूकेमा ‘पेन्सन पट्टा’ हेर्न पुगेका दर्शकले चलचित्र एकदमै राम्रो बनेको प्रतिक्रिया दिएका छन् । उनीहरुले चलचित्र हेरेपछि लाहुरे परिवारको जीवन, पारिवारिक सम्बन्ध, पुस्तान्तरण र विगतमा लुकेका रहस्यको कथाले मन छोएको प्रतिक्रिया दिएका थिए ।
यो चलचित्रले नेपालमा पनि राम्रो शुरुवात गरेको छ । शुरुवात चरणमा अन्यसँगै प्रदर्शन हुने फिल्मलाई भन्दा केही शोहरु पेन्सन पट्टालाई दिइएको छ । फिल्म प्रदर्शनसँगै दर्शकले अब देशभरका विभिन्न हलमा अग्रिम टिकट बुकिङ गरेर पनि आफ्नो सिट सुरक्षित गर्न सक्नेछन्। विशेषगरी प्रदर्शनको सुरुवाती दिनमा दर्शकको चाप बढेको देखिएको छ ।
निर्देशक माओत्से गुरुङसहित कलाकार विश्वास गुरुङ, माया गुरुङ र डिबी गुरुङ पोखराका विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गरेका थिए । चलचित्र हेरेपछि कतिपय दर्शकले फिल्ममा आफ्नै परिवार वा समाजमा घटेका घटनाको झल्को पाएको प्रतिक्रिया दिएका छन् ।
फिल्ममा दयाहाङ राई, गौमाया गुरुङ, पशुपति राई, विल्सन विक्रम राई, बुद्धी तामाङ, सुरज तमु, माया गुरुङ, विश्वास गुरुङ, सोल गुरुङ, डिबी गुरुङ, सुनिल थापा र मनिता गुरुङलगायतका कलाकारको अभिनय छ ।