लन्डन । किरात बान्तावा रुङ्माहाङ राई वात्तोङ समिति यूकेको वार्षिक साधारणसभा तथा वंशीय भेला सम्पन्न भएको छ ।
यूकेको रिप्लेस्थित किरात राई हाउसमा २५ जुलाईमा कार्यक्रम भएको हो । सांस्कृतिक ऐक्यबद्धता र साङ्गठनिक सुदृढीकरणका लागि आयोजित सो समारोह ९३ वर्षीया दिलकुमारी राईको प्रमुख आतिथ्य एवं संस्थाका अध्यक्ष विनोद कुमार राईको अध्यक्षतामा सम्पन्न भएको हो ।
यसै वर्ष लागू नीति अनुसार अध्यक्ष विनोद कुमार राईले वंशीय झन्डोत्तोलन गरेका थिए । प्रमुख अतिथि र अध्यक्षले सुम्निमा-पारुहाङको तस्बिरमा माल्यार्पण र दीप प्रज्वलन गरी सभाको उद्घाटन गरे । वंशीय गान र दिवंगत पितृहरूको सम्झनामा १ मिनेट मौनधारणपछि उपाध्यक्ष पोपिराज राईले स्वागत मन्तव्य राखेका थिए ।
सम्मान तथा स्वागत:
सुरेश राई (अध्यक्ष, बान्तावा खिम युके): जुवाइँ चेला सुरेश राईलाई ससुरालीका तर्फबाट ढाका टोपी र खादा ओढाएर सम्मान।
काङमाङ नरेश (नरेश काङमाङ): 'अन्तरदेशीय प्रज्ञा पुरस्कार २०८२' बाट सम्मानित चर्चित कविलाई साहित्यिक योगदानको कदर गर्दै ढाका टोपी र खादाद्वारा सम्मान ।
नवआगन्तुक वंशज, छोरीचेली, बुहारी तथा जुवाइँहरूलाई खादा ओढाएर न्यानो स्वागत ।
बन्द सत्र र पारित ४ मुख्य प्रस्तावहरू: सचिव भूमिराज राईद्वारा प्रस्तुत सन् २०२४ देखि २०२६ सम्मको प्रगति प्रतिवेदन “सुखमा भन्दा दुःखमा वंश र आफन्तको बढी आवश्यकता पर्दछ; रगत र दूधको रक्षा गर्दै एकताबद्ध बनौँ” भन्ने मूल मर्मका साथ सर्वसम्मतिले पारित ।
पारित मुख्य निर्णयहरू:
१. युकेमा रहेका सम्पूर्ण रुङ्माहाङ राई वंशजहरूको एकीकृत विवरण (Database) तयार गरिने।
२. १८ वर्ष पूरा भएका वंशीय युवाहरूलाई संस्थाको आजीवन सदस्यता अनिवार्य गराइने।
३. धरानमा निर्माण हुन गइरहेको 'केन्द्रीय भवन'का लागि युकेबाट विशेष आर्थिक सहयोग समन्वय गरिने।
४. शीतकालीन (विन्टर) भेला आयोजनाका लागि सम्भाव्यता अध्ययन गरिने।

कार्यक्रममा कवि काङमाङ नरेशले लोगोमा दाहिनेतर्फ भाले चिन्डो र देब्रेतर्फ पोथी चिन्डो राख्दा पौराणिक अर्थ स्पष्ट हुने सुझाव दिँदै फेटा बाँध्ने सांस्कृतिक नियमबारे प्रकाश पारे ।
अध्यक्ष विनोद कुमार राईले समिति प्रकाशक रहेको 'दिवाहाङ बाक्खा बुलेटिन' नेपालबाट प्रकाशित भई आएको जानकारी दिए । उनले काठमाडौँमा 'माङ्खिम' निर्माण गर्दा जस्तै धरानमा बन्ने केन्द्रीय भवनका लागि पनि सहयोग गर्न आह्वान गरे ।
सामूहिक तस्बिरपछि दोस्रो सत्रमा वंशीय भोज, भलाकुसारी र कोषाध्यक्ष रञ्जित राईको संयोजनमा बुलेटिन, क्यालेन्डर, ब्याच तथा बेसबल क्याप वितरण गरियो ।
सचिव भूमिराज राई र सह-सचिव किरण राईले सञ्चालन गरेको कार्यक्रमको समीक्षा बैठक छिट्टै बस्ने जनाइएको छ।