लण्डन । १७ औँ नेपाली मेलालाई भव्य रूपमा सम्पन्न गर्ने उद्देश्यका साथ तमु धीं यूके र लण्डनस्थित नेपाली दूतावासका प्रतिनिधिहरूबीच एक विशेष बैठक सम्पन्न भएको छ । २४ जुलाई २०२६ शुक्रबारका दिन नेपाली दूतावासमा आयोजित उक्त बैठकमा मेलाको तयारी र व्यवस्थापनका विविध पक्षमा केन्द्रित रहेर छलफल गरिएको थियो ।
बैठकको सुरुआतमा कार्यवाहक राजदूत विपिन दुवाडीले तमु धीं यूकेको टोलीलाई दूतावासमा स्वागत गरेका थिए । कार्यक्रमको सञ्चालन तमु धीं यूकेका महासचिव डा. विशाल गुरुङले गरेका थिए । उनले बैठकमा स्वास्थ्य तथा सुरक्षाका मापदण्ड र बैठकको कार्यसूचीबारे जानकारी गराएका थिए । वरिष्ठ उपाध्यक्ष परशु गुरुङले स्वागत मन्तव्य दिएका थिए । बैठकमा १७ औँ नेपाली मेलाका संयोजक एवं तमु धीं यूकेका उपाध्यक्ष कमल गुरुङले मेलाको अहिलेसम्मको तयारी र प्रगतिबारे पावरपोइन्ट प्रस्तुतिमार्फत विस्तृत जानकारी दिएका थिए । उनले मेलालाई प्रभावकारी बनाउन भइरहेका प्रयास र आगामी कार्ययोजनाबारे दूतावास र उपस्थित सदस्यहरूलाई अवगत गराएका थिए ।
सो अवसरमा राजदूत दुवाडीले नेपाली कला र संस्कृतिको प्रवद्र्धनमा तमु धीं यूकेले निर्वाह गर्दै आएको भूमिकाको उच्च प्रशंसा गरेका थिए । उनले नेपाल सरकारले गर्नुपर्ने स्तरको काम एउटा जातीय संस्थाले प्रवासमा रहेर गरिरहेको भन्दै खुसी व्यक्त गरे । मेलालाई अझै व्यवस्थित बनाउन दूतावासको तर्फबाट आवश्यक सल्लाह, सुझाव र पूर्ण सहकार्य रहने प्रतिबद्धता समेत उनले जनाएका थिए ।
बैठकको अन्त्यमा तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङले दूतावासले देखाएको आत्मीयता र सहकार्यको भावनाप्रति आभार प्रकट गरे । उनले मेला सफल पार्न सहयोग गर्ने कार्यसमिति, सल्लाहकार र संस्थापकहरू लगायत बैठकमा उपस्थित सम्पूर्णमा धन्यवाद ज्ञापन गर्दै बैठकको समापन गरेका थिए ।
उक्त महत्वपूर्ण बैठकमा तमु धीं यूकेकी आमा समूहकी अध्यक्ष कमला गुरुङ, संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङ, पूर्व अध्यक्ष ज्ञाम गुरुङ, पूर्व अध्यक्ष हितकाजी गुरुङ, वरिष्ठ उपाध्यक्ष परशु गुरुङ र उनकी धर्मपत्नी नन्द गुरुङ, उपाध्यक्ष कमल गुरुङ र उनकी धर्मपत्नी जयन्ती गुरुङ, सल्लाहकार डेभिड गुरुङ, लण्डन एकाइका अध्यक्ष भरत गुरुङ र उनकी धर्मपत्नी सिर्जना गुरुङ, लण्डन एकाइ आमा समूहकी अध्यक्ष देबकला गुरुङ, उपाध्यक्ष ईश्वर गुरुङ, तमु धीं यूकेका सह–कोषाध्यक्ष प्रेमकाजी गुरुङ, तमु धीं यूकेका सदस्य भोज गुरुङ, तमु धीं लण्डन एकाइका महासचिव रक गुरुङ, डा. विशाल, गोरखा मिडियाका निर्देशक मिलन तमु र सल्लाहकार शान्तकुमार गुरुङ, जुपिता गुरुङ, खेलकुद सचिव क्याप्टेन दिपक घले, सल्लाहकार जगदीश गुरुङ र लमजुङ समाज यूके आमा समूहकी अध्यक्ष तारा गुरुङ सहभागी थिए ।



