बेलायत । सिक्लेस पार्चे समाज यूकेको वार्षिक भेटघाट तथा समर BBQ कार्यक्रम १८ जुलाई २०२६, शनिबारका दिन फानब्रो स्थित सामलकोडी स्कुलमा भव्यताका साथ सम्पन्न भएको छ। समाजका अध्यक्ष टंक मार्टिन गुरुङको अध्यक्षतामा कार्यक्रम भएको हो ।
अध्यक्ष गुरुङसहित प्रमुख अतिथि बयोवृद्ध ज्येष्ठ सदस्य टौ कुमारी गुरुङ, संरक्षक नन्द जंग गुरुङ र फर्स्ट लेडी रिता गुरुङले संयुक्त रुपमा दीप प्रज्ज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।
कार्यक्रममा सिक्लेस पार्चे समाज यूके निवर्तमान अध्यक्ष जीत गुरुङकाे भाञ्जी मिर्गौला रोगबाट पीडित उर्मिला गुरुङको उपचारका लागि समाजले संकलन गरेको १३ हजार २२५ पाउण्ड (करिब २७ लाख नेपाली रुपैयाँ) को चेक हस्तान्तरण गरियो। उक्त सहयोगका लागि जित गुरुङले समाजलाई धन्यवाद दिए।
कार्यक्रममा नवनिर्वाचित काउन्सिलर उत्तर बहादुर गुरुङ र उनकी धर्मपत्नीलाई फेटा, पछ्यौरी र फूलले सम्मान गरिएकाे थियो । सम्मानपछि काउन्सिलर गुरुङले सम्मानका लागि समाजलाई धन्यवाद् दिएका थिए । यस्तै विशेष अतिथिका रूपमा बेल्जियमबाट आएका तमु समाज बेल्जियमका निवर्तमान अध्यक्ष एवं नेपाल जनजाति महासंघ बेल्जियमका उपाध्यक्ष ओमराज गुरुङ र सिक्लेस पार्चे कल्याण कोष बेल्जियमका महासचिव टिका गुरुङलाई समाजले फेटा, पछ्यौरी र फूलले सम्मान गरिएको थियो ।
औपचारिक सत्रमा उपाध्यक्ष लाल बहादुर गुरुङले स्वागत मन्तव्य राखेका थिए भने सहसचिव चित्र प्रसाद गुरुङले स्वास्थ्य तथा सुरक्षा (Health & Safety) सम्बन्धी जानकारी गराउँदै कार्यक्रमको सञ्चालन गरे।
सांस्कृतिक पक्ष कार्यक्रमको अर्को आकर्षण बनेको थियो । चेतान (प्रदीप) गुरुङले सञ्चालन गरेको सांस्कृतिक कार्यक्रममा नेपालबाट आएकी चर्चित गायिका प्रिया गुरुङले आफ्ना गीतहरू प्रस्तुत गरिन् । स्थानीय कलाकार तथा गाउँका चेलीबेटीहरूले पनि विभिन्न नृत्यहरू प्रस्तुत गरेर सहभागीहरूलाई मनोरञ्जन दिए । डीजे दिपेश गुरुङले सांगीतिक माहोललाई अझ तताएका थिए।
कार्यक्रममा तमु प्ये ल्हु संघ यूकेका अध्यक्ष क्याप्टेन डेम बहादुर गुरुङ र उनका धर्मपत्नी, तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, आमा समूहकी अध्यक्ष कमला देवी गुरुङ, तमु धीं यूकेका उपाध्यक्ष कमल गुरुङ, तमु फोरम यूकेका डाइरेक्टर क्याप्टेन राजु गुरुङ, याङ्जाकोट समाज यूकेका अध्यक्ष वर्तमान गुरुङ तमु धीं यूकेका संस्थापक अध्यक्ष मिन प्रसाद गुरुङ, गोर्खा मिडियाका निर्देशक मिलन तमु लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको बाक्लो उपस्थिति थियो।
कार्यक्रममा तमु प्ये ल्हु संघ यूकेका अध्यक्ष क्याप्टेन डेम बहादुर गुरुङ र तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङले शुभकामना मन्तव्य राखेका थिए।
यस अवसरमा समाजले भर्खरै विवाह बन्धनमा बाँधिएका नयाँ दम्पतीहरू र शैक्षिक क्षेत्रमा सफलता हासिल गरेका (ग्रेजुएसन गरेका) हरूलाई पनि बधाई तथा सम्मान गरिएको थियो ।
कार्यक्रममा सिक्लेस पार्चे समाज यूकेका नवनिर्वाचित अध्यक्ष टंक मार्टिन गुरुङ र फर्स्ट लेडी रिता गुरुङलाई संरक्षक नन्द जंग गुरुङ र उनका धर्मपत्नीले फेटा र पछ्यौरी सम्मान गरेका थिए ।
कार्यक्रममा सहभागीहरूका लागि स्वादिष्ट भोजनको व्यवस्था गोरखा प्यालेस रेस्टुरेन्टका सञ्चालक एवं एनआरएनए यूकेका पूर्व अध्यक्ष सूर्य गुरुङले गरेका थिए । अन्त्यमा, अध्यक्ष टंक मार्टिन गुरुङले सबै प्रायोजक, अतिथि र स्वयंसेवकहरूलाई धन्यवाद दिँदै आगामी वर्ष फेरि भेट्ने बाचाका साथ कार्यक्रम समापन गरेका थिए ।

