बेलायत । साउथ वेस्ट नेपाली समाज यूकेको हालै सम्पन्न तेस्रो अधिवेशनले किसान जीसीलाई दोस्रो कार्यकालका लागि पुनः अध्यक्षमा निर्वाचित गरेको छ। सन् २०२६ जुन २२ मा भएको उक्त अधिवेशनले आगामी दुई वर्ष (२०२६–२०२८) का लागि जीसीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।
नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा लोकेन्द्र खड्का चयन भएका छन् भने उपाध्यक्षहरूको जिम्मेवारी गङ्गा सापकोटा, राजन घले र मुक्ति खरेलले पाएका छन्। त्यसैगरी, महिला उपाध्यक्षमा प्रतिमा ओली, महासचिवमा डेभिड बनियाँ, सचिवमा नमस्ते केसी, कोषाध्यक्षमा शम्भु पाण्डे र सहकोषाध्यक्षमा उज्ज्वल कँडेल चुनिएका छन्। समाजको युवा संयोजकको जिम्मेवारी कमल भण्डारी र महिला संयोजकको जिम्मेवारी उषा गिरिलाई सुम्पिएको छ। कार्यसमिति सदस्यहरूमा पी.के. क्षेत्री, राज डल्लाकोटी, देवेन्द्र बस्नेत, कृष्ण रामाजी, रोमन घले र सन्तोष ढकाल रहेका छन्।
संस्थाको सल्लाहकार समितिमा किशोर जीसीलाई वरिष्ठ सल्लाहकारको जिम्मेवारी दिइएको छ। अन्य सल्लाहकारहरूमा हरि काराखेति, माधव हुमागाई, धिरेन्द्र श्रेष्ठ, श्रीराम खरेल, कृष्ण गैरे र गणेश ओझा रहेका छन्। यसैगरी संस्थाको संरक्षकमा हेम सेढाई र दीपक गिरी छन् ।

पुनः अध्यक्षको जिम्मेवारी सम्हालेपछि किसान जीसीले आफूमाथि विश्वास गर्ने सम्पूर्ण साउथ वेस्टवासीप्रति हृदयदेखि आभार प्रकट गरे। उनले आफ्नो आगामी कार्यकालमा समाजको एकता, विकास, पारदर्शिता र संस्थागत सुदृढीकरणका लागि थप समर्पित भएर काम गर्ने प्रतिबद्धता जनाए। साझा प्रयास र सकारात्मक सोचले मात्र संस्थालाई अझ सशक्त र उदाहरणीय बनाउन सकिने धारणा उनले राखे।
अधिवेशनलाई सफलतापूर्वक सम्पन्न गराउन र निष्पक्ष एवं पारदर्शी ढंगले नेतृत्व चयनका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने समाजका संस्थापक अध्यक्ष दीपक ढकाल र अमृत सेढाईप्रति जीसीले उच्च सम्मान व्यक्त गरे। उनीहरूको समन्वयकारी भूमिका र मार्गदर्शनका कारण अधिवेशन ऐतिहासिक रूपमा सम्पन्न भएको उनले बताए। उनीहरूको योगदान समाजको हितका लागि सधैं स्मरणीय रहने कुरामा समेत उनले जोड दिए।