बेलायत । बेलायतको अल्डरशटमा बसोबास गर्ने गोर्खा तथा नेपाली समुदायका सदस्यहरूमाथि विभेदकारी र जातीय भेदभावपूर्ण व्यवहार भएको छ। गत १६ जुन २०२६ मा भएको उक्त घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै ग्रेटर रस्मूर नेपाली कम्युनिटी (जीआरएनसी) ले स्थानीय काउन्सिल र प्रहरी प्रशासनलाई यसबारे औपचारिक जानकारी गराएको छ।
ग्रेटर रस्मूर नेपाली कम्युनिटीका अध्यक्ष लिला सेलिङ माबोले घटनाको गम्भीरतालाई ध्यानमा राख्दै सम्बन्धित निकायसँग समन्वय भइरहेको बताईन् । अन्तरिम प्रबन्ध निर्देशक इयान ह्यारिसनबाट प्राप्त जानकारीअनुसार यस विषयमा ठोस छलफल र समाधान खोज्नका लागि चाँडै नै एक विशेष बैठक आयोजना हुने भएको छ। उक्त बैठकमा काउन्सिल, प्रहरी प्रशासन, स्थानीय प्रमुख निरीक्षक (चीफ इन्स्पेक्टर), मेयर, उपमेयर, काउन्सिल लिडर तथा काउन्सिलरहरूका साथै जीआरएनसीका प्रतिनिधिहरूको सहभागिता रहने अध्यक्ष माबोले बताईन् ।
घटनापछि उत्पन्न हुनसक्ने संवेदनशीलतालाई मध्यनजर गर्दै संस्थाले सम्पूर्ण समुदायलाई संयमित रहन आग्रह गरेको छ। अध्यक्ष माबोले घटनाको थप विवरण र आधिकारिक निर्णय नआएसम्म सबैलाई शान्त र धैर्यवान बन्न अपिल गर्दै सुरक्षाप्रति सजग रहन समेत अनुरोध गरे। यसबारे थप बुझ्न चाहनेले जीआरएनसीको कार्यालय वा महासचिवसँग सम्पर्क गर्न सक्ने संस्थाले जनाएको छ।
ग्रेटर रस्मूर नेपाली कम्युनिटीका अध्यक्ष लिला सेलिङ माबोले दिएको जानकारी यस्तो छ :
आदरणीय सम्पूर्ण महानुभावहरूमा हार्दिक नमस्कार,
मिति १६ जुन २०२६ मा अल्डरशटमा गोर्खा/नेपाली समुदायका सदस्यहरूमाथि भएको विभेदकारी तथा जातीय भेदभावपूर्ण व्यवहार सम्बन्धी घटनाबारे सम्पूर्णमा जानकारी गराउन चाहन्छु।
ग्रेटर रस्मूर नेपाली कम्युनिटी (GRNC) ले उक्त घटनाको जानकारी सम्बन्धित काउन्सिल तथा प्रहरी प्रशासनलाई गराइसकेको छ। अन्तरिम प्रबन्ध निर्देशक इयान ह्यारिसनबाट प्राप्त इमेलअनुसार यस विषयमा छलफल तथा समाधानका लागि काउन्सिल, प्रहरी, स्थानीय प्रमुख निरीक्षक (Chief Inspector), मेयर, उपमेयर, काउन्सिल लिडर, काउन्सिलरहरू तथा ग्रेटर रस्मूर नेपाली कम्युनिटी (GRNC) का प्रतिनिधिहरूबीच चाँडै बैठक आयोजना हुने जानकारी प्राप्त भएको छ।
यस विषयमा थप जानकारी नआएसम्म सम्पूर्णमा शान्त, संयमित तथा धैर्यवान रहन हार्दिक अनुरोध गर्दछु।
थप जानकारी आवश्यक परेमा कृपया GRNC कार्यालय वा महासचिवसँग सम्पर्क गर्नुहोस्।
सबैजना सुरक्षित रहनुहोस्।
हार्दिक शुभकामनासहित,
लिला सेलिङ माबो
अध्यक्ष