बेलायत । किरात याक्थुङ चुम्लुङ (केवाईसी) थामेन्दिङ मा चुम्लुङ यूकेको आयोजनामा बेलायतको मेडिस्टोनस्थित चुम्लुङदेनमा अन्तर शाखा हाजिरी जवाफ तथा लिम्बू भाषाको वक्तृत्वकला प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ ।
गत शनिबार आयोजित उक्त प्रतिस्पर्धामा हाजिरी जवाफ तर्फ आठवटा शाखाहरूले सहभागिता जनाएका थिए । प्रतियोगितामा दीपक येङ्देन, सुनिला जबेगु र रोशनी चेम्जोङ सम्मिलित केवाईसी वेल्स शाखाको टोलीले प्रथम स्थान हासिल गर्यो । त्यसैगरी चिरेन्द्र लावुङ, कोमल सेने र बुद्धमाया लिम्बूको केवाईसी ग्रेटर लण्डन जेष्ठ शाखा दोस्रो भयो भने लक्ष्मी लिवाङ, युवराज इस्पो र सेरु इङ्नाम सहभागी केवाईसी थोरक शाखाले तेस्रो स्थान प्राप्त गर्यो ।
लिम्बू भाषाको वक्तृत्वकला प्रतियोगिताका लागि 'मेल्लुङ फुसिङ' (सयमुन्द्री छिनाउने वा वागदत्त दिने) विषय तय गरिएको थियो । यस विधामा केवाईसी ग्रेटर लण्डन जेष्ठ शाखाका लोक बहादुर सेनेले पहिलो स्थान सुरक्षित गरे । केवाईसी ग्रेटर लण्डनका भक्ति आङ्देम्बे दोस्रो र केवाईसी थोरककी इन्दु पन्धाक इस्वो तेस्रो भए । प्रतियोगिताको मूल्याङ्कन भाषा तथा संस्कृतिविद् येहाङ लावती, समाजसेवी एवं कलाकार नरकुमारी वनेम र पूर्व विजेताहरू सानु सुब्बा तथा पूर्ण वोख्खिमले गरेका थिए । निर्णायक मण्डलका संयोजक लावतीले नतिजा सुनाउने क्रममा प्रवासमा बसेर पनि पहिचान, मुन्धुम, भाषा र संस्कार जोगाउन महिलाहरूले यस्तो महत्वपूर्ण कार्यक्रम गरेकोमा खुसी व्यक्त गरे । उनले यस्ता कार्यक्रम वर्षमा कम्तीमा दुई पटक आयोजना गर्नुपर्ने सुझाव समेत दिए ।
कार्यक्रममा विभिन्न क्षेत्रमा सफल र नेतृत्वदायी भूमिकामा रहेका महिलाहरूलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरूमा केवाईसी यूकेकी प्रथम महिला अध्यक्ष कमला सेन्दाङ लिम्बू, नेपाल पत्रकार महासंघ यूकेकी पहिलो महिला अध्यक्ष विमला सेने र नेपाल आदिवासी जनजाति महिला महासंघ यूकेकी अध्यक्ष नेत्रकला युमा लिम्बू रहेका छन् । त्यसैगरी लिला सेलिङ मावो, इन्दु पन्धाक, हाङ्मा लावती, मेनुका अन्छङ्बो, राजकुमारी तेम्बे, सानु सुब्बा, सकुन नेम्वाङ, होमा पाहिम, दिलु मादेन र विष्णु चेम्जोङलाई पनि उनीहरूको योगदानको कदर गर्दै दोसल्ला र कदर पत्रले सम्मान गरियो ।
केवाईसी यूकेकी केन्द्रीय अध्यक्ष कमला लिम्बूको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रमको औपचारिक सत्र महासचिव सुभ नेम्वाङले सञ्चालन गरेकी थिइन् भने सम्मान कार्यक्रम सचिव धन कुमारी थोक्लीहाङले चलाएकी थिइन् । कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष खड्कजंग आङ्वोहाङ, एनआरएनए आईसीसीका उपाध्यक्ष विश्वासदीप तिगेला, पाँचथर समाज यूकेका अध्यक्ष नगेन्द्र नेम्वाङ, एनआरएनए यूकेका महासचिव जुरेन्द्र खजुम, याक्थुङ कल्चर एण्ड हेरिटेज यूकेका संयोजक गणेश इजम र युमा साम्यो यूकेका अध्यक्ष प्रकाश चोंवाङ लगायत विभिन्न शाखाका प्रतिनिधि र सञ्चारकर्मीहरूको ठूलो उपस्थिति रहेको थियो ।



