लन्डन । नेपाल आदिवासी जनजाति महासंघ बेलायतले आइतबार एक च्यारिटी डिनर नाइट आयोजना गरेको छ ।
संस्थाको कोष अभिवृद्धिका लागि अल्डरसटस्थित एम्पायर हलमा कार्यक्रम भएको हो । सो अवसरमा सांगीतिक प्रस्तुति र विशेष सम्मान प्रदान गरियो ।
कार्यक्रम संयोजक मेजर रि. इन्द्रप्रसाद राईले स्वागत मन्तव्य एवं 'हेल्थ एण्ड सेफ्टी ब्रीफ' गरेका थिए ।
कार्यक्रमको शुरुवातमा नेपाली, ब्रिटिश र आदिवासी राष्ट्रिय गीत बजाइएको थियो भने शहीदप्रति पाइपर धुनबाट श्रद्धान्जली अर्पण गरियो ।
मन्तव्यका क्रममा प्रमुख अतिथी बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीले नयां सरकारले आदिवासी जनजाती अधिकारका लागि राम्रो काम गर्ने विश्वास व्यक्त गरे ।
उनले आदिवासी जनजातीहरुले बेलायतमा जातजातीको पहिचान एवं नेपाली पर्व, भाषा, भेषभूषा, गरगहना आदि जोगाइरहेको र नेपाललाई जोडिरहेको बताए । दुवाडीले आदिवासी जनजातीका मुद्दामा सरकार गम्भीर रहेको र नेपाली दूतावास सधैं खुल्ला रहने पनि बताए ।
कार्यवाहक राजदूत दुवाडीले सेवाग्राहीका लागि कन्सुलर सेवा र राहदानी लिन धेरै सहज व्यवस्था गरिएको उल्लेख गर्दै १६० वर्ष पुरानो दूतावास भवन मर्मत गरि अझ सेवा विस्तार गर्ने योजना बनाइएको जनाए ।
कार्यक्रमका सभापति नेफिन यूके अध्यक्ष मेजर योगेश राईले च्यारिटी नाइटको उद्देश्य संस्थाका वार्षिक कार्यक्रमलाई आर्थिक सहयोग जुटाउन र अप्ठेरो परेका व्यक्तिलाई सहयोग गर्न आर्थिक कोष अभिवृद्धिका लागि रहेको बताए । उनले आफ्नो संस्थाले वार्षिक रुपमा अन्तर्राष्ट्रिय आदिवासी मेला, आदिवासी फिल्म अवार्ड, देउसी भैलो र भाषा संस्कृति प्रवर्धन जस्ता गतिविधि गर्दै आएको अवगत गराए ।
अध्यक्ष राईले आदिवासी पहिचान, भाषा, संस्कृति र अधिकार संरक्षणमा लाग्न आवश्यक रहेकामा जोड दिए ।
उनले बेलायतमा स्थानीय निर्वाचनमार्फत रिफर्म यूकेको उदय र नेपालमा बालेन सरकारले गैर आवासीय नेपालीले सम्पत्ति बेच्दा कर लगाउने जस्ता प्रावधान ल्याउन लागेको प्रति स्मरण गराउंदै प्रवासका नेपाली चेपुवा पर्ने खतरा बढेकाले यसविरुद्ध संयुक्त रुपमा आवाज उठाउनु पर्ने खांचो औंल्याए ।
अध्यक्ष राईले अतिथी, कलाकार, मिडियाकर्मी, चन्दादाताहरु, प्रायोजक, समस्त कार्यसमिति लगायत सहयोगीप्रति आभार समेत व्यक्त गरे ।
शुभकामना मन्तव्यका क्रममा तमुधिं यूके अध्यक्ष जुमकाजी गुरुङले नयां पुस्तालाई मातृभूमि, जातजाती, धर्मसंस्कृति, संस्कार, भाषा, भेषभूषा आदि हस्तान्तरण गर्नुपर्नेमा जोड दिए ।
किरात राई यायोख्या यूकेका अध्यक्ष मेजर रि. तिलबहादुर राईले नेफिन यूकेले आदिवासी जनजाती अधिकारका लागि आवाज बुलन्द पारिरहेको बताए । किरात याक्थुङ चुम्लुङ यूके अध्यक्ष कमला लिम्बुले पहिचान, संस्कृति, संस्कार नयां पुस्तालाई हस्तान्तरण गरेर अगाडि लैजाने संस्थाको साझा उद्देश्यप्रति ऐक्यवद्धता जनाइन् ।
सुनुवार वेलफेयर सोसाइटी यूके अध्यक्ष आकाश सुनुवारले नेफिन यूकेका एजेण्डामा एक भएर अगाडि बढ्न सुझाव दिए ।
मगर संघ यूके अध्यक्ष लालबहादुर पुनले सामाजिक हितमा काम गर्ने उद्देश्यले आयोजित च्यारिटी डिनर प्रशंसनीय भएको बताए ।
नेफिन यूके निवर्तमान अध्यक्ष एवं प्रमुख सल्लाहकार कर्मा पहाडी शेर्पाले वंशजको नेपाली नागरिकता निरन्तरता मुद्दा र विश्व मानचित्रमा रहेको नेपालको पहिचान जोगाउनु पर्नेमा जोड दिए ।
वरिष्ठ सल्लाहकार भक्त दुराले आदिवासी जनजातीको साझा उद्देश्य आफ्नो पहिचानसंग गांसिएका विषय जगेर्ना गर्नु रहेको बताए । नेपालका शासकहरुले आदिवासी अधिकार वञ्चित गरिरहेको जिकिर गर्दै उनले यसका लागि लड्नु पर्ने उल्लेख गरे ।
गैर आवासीय नेपालीलाई वंशजको नागरिकताबाट वञ्चित गरिएकाले यसलाई सशक्त रुपमा उठाउन समेत उनको सुझाव थियो ।
संस्थाका संस्थापक अध्यक्ष थर्क रानाले बेलायतले अंगीकृत नागरिकता लिएका व्यक्तिलाई जहिले पनि फर्काउन सक्ने दावी गर्दै नेपाल सरकारले पनि आफूहरुको वंशजको नागरिकता खोस्ने जोखिम बढेको औंल्याए ।
गोर्खा भर्तीका कारण बेलायतमा रहेका गोर्खा र तिनका सन्तानको वंशजको नागरिकता निरन्तरता वञ्चित गरिएकाले यसलाई सरकारले छिटो व्यवस्था गरोस् भन्ने माग रानाको थियो ।
मन्तव्यका क्रममा एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले इगो त्यागेर सबै एकजुट भई नेपाली र गोर्खाहरुको वंशजको नागरिकता लडाईंमा सामेल हुन अपिल गरे । गाहामगरले आउंदो मे २५ मा एम्पायर हलमा नागरिकता सम्बन्धि अन्तरक्रिया राखिएको जनाउंदै सहभागिताका लागि सबैमा अनुरोध गरे ।
एनआरएनए आइसीसी उपाध्यक्ष विश्वासदीप तिगेलाले केही वर्ष छिन्नभिन्न एनआरएनए अहिले एक हुन पुगेको जनाउंदै अब गैर आवासीय नेपालीको हितमा कटिवद्ध हुने अठोट व्यक्त गरे ।
समाजका विभिन्न व्यक्तित्व सम्मानित
महासचिव फारामबहादुर दुराले सञ्चालन गरेको औपचारिक कार्यक्रममा समाजका विभिन्न लब्ध प्रतिष्ठित तथा वौठिक व्यक्तित्वहरु सम्मानित भएका छन् ।
सो क्रममा जातीय संस्थाहरुका प्रमुख तमुधिं यूके अध्यक्ष जुमकाजी गुरुङ, मगर संघ यूके अध्यक्ष लालबहादुर पुन, किरात राई यायोख्या यूके अध्यक्ष दिलकुमार राई, सुनुवार वेलफेयर सोसाइटी यूके अध्यक्ष आकाश सुनुवार, किरात राई यायोख्या यूके पूर्व अध्यक्ष आशा राई र दुरा समाज यूके अध्यक्ष देवबहादुर दुरा सम्मानित भए ।
त्यसैगरि रसमोरबाट नवनिर्वाचित काउन्सिलरहरु उत्तरबहादुर गुरुङ र जीव बेल्वासे, ब्रिटिश गोर्खा सेवामा उच्च तहमा पुग्न सफल ले. कर्णेल टोल खाम्चामगर दम्पत्ति, ज्ञानेन्द्र राई एवं श्रीमति लुना राई र ले. कर्णेल देवेन्द्र आले सम्मानित भए ।
कार्यक्रममा शैक्षिक क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने डा. सुमाया राई र डा. दूत पुन एवं चिकित्सा क्षेत्रका डा. बिजेन्द्र राई, डा. विमर्श राई, डा प्रमोद कोयी राई र डा. सिदन शोभा दुरालाई सम्मान प्रदान गरियो ।
सामाजिक अभियन्ताहरु एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगर, आइसीसी केन्द्रिय उपाध्यक्ष विश्वासदीप तिगेला, नेफिन यूके संस्थापक अध्यक्ष थर्क राना, ग्रेटर रसमोर नेपलिज कम्युनिटी अध्यक्ष लिला सेलिङ माबो समेत सम्मानित भए ।
त्यसैगरि नेपालबाट आएका राष्ट्रिय कलाकारहरु गायिका मञ्जु बिक, डान्सर एवं मोडल अस्मिता रानामगर, लोक गायिकाहरु निरा थापा मगर, सोनी कुंवर क्षेत्री, ललिता पुन मगर, डान्सर सरिष्मा रम्जाली मगर र निरुता पुनलाई सम्मान गरिएको छ ।
संस्थाले मिडियाकर्मीहरु नेपाल पत्रकार महासंघ बेलायत अध्यक्ष विमला सेने, नगेन्द्र नेम्वाङ, नवीन पोखरेल र प्रकाश कंडेललाई पनि सम्मान गरेको थियो ।
प्रमुख अतिथी कार्यवाहक राजदूत विपिन दुवाडी र नेफिन यूके अध्यक्ष मेजर योगेश राईले सम्मान प्रदान गरेका हुन् ।
कार्यक्रममा नेपालबाट आएका ७ जना कलाकारहरु डान्सरद्धय सरिष्मा रम्जाली मगर एवं अस्मिता रानामगर, लोक गायिकाहरु मन्जु बिक, निरा थापा मगर, सोनी कुंवर क्षेत्री, ललिता पुन मगर र निरुता पुनले आआफ्नो कला प्रस्तुत गरेका थिए ।





