लन्डन । लन्डनस्थित नेपाली दूतावासले शनिबार ‘One Child, One Plant: A Day at the Nepal Embassy’ कार्यक्रम सम्पन्न गरेको छ ।
बेलायतका विभिन्न विद्यालयमा अध्ययनरत ५ देखि १५ वर्ष उमेर समूहका नेपालीमूलका बालबालिकालाई लक्षित गरेर दूतावास परिसरमा फूल तथा बिरुवा रोप्ने कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा उपस्थित बालबालिकालाई कार्यवाहक राजदूत विपिन दुवाडीले स्वागत गरेका थिए । बेलायतमा जन्मिएर हुर्किएका नेपाली मूलका बालबालिकामा मातृभूमि नेपालप्रति अपनत्वको भावना विकास गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनले बताए ।
यस्ता कार्यक्रमले बालबालिकामा नेपालको गौरवशाली इतिहास र सांस्कृतिक सम्पदाप्रति गहिरो सम्बन्ध र आत्मीयता बढाउनुका साथै वातावरणीय चेतना अभिवृद्धि गर्ने विश्वास व्यक्त गरे ।
-1777170008.jpeg)
कार्यक्रम ‘ओंकार’, गणेश वन्दना, सरस्वती वन्दना तथा गायत्री मन्त्र उच्चारणबाट सुरु भई नेपालको राष्ट्रिय गानसँगै अघि बढेको थियो । बालबालिकाले दूतावास परिसरभित्र बहुवर्षीय तथा मौसमी फूलको बिरुवा रोपणमा सहभागिता जनाएका थिए ।
दूतावास परिसरमा लालीगुराँस, गुलाब, हाइड्रेन्जिया, जेरेनियम, बेगोनिया, चेरी जस्ता फूलका बिरुवा रोपिएको थियो । बालबालिकासँगै आएका अभिभावक पनि रोपण कार्यमा सक्रिय रूपमा सहभागी भए ।
कार्यक्रममा बालबालिका र उनीहरूका अभिभावकसहित करिब १०० जनाको उपस्थिति थियो । सहभागीहरू बेक्सली, स्विन्डन, बेसिङस्टोक तथा लन्डनका विभिन्न क्षेत्रबाट आएका थिए ।