पोखरा । क्होला सोँप्रे ट्हो (क्व्होलासोँथर) को अनुसन्धान तथा अध्ययनका लागि हिडेको तमु प्ये ल्हु संघ युकेको टोलीको दोस्रो दिनमा लमजुङको ङ्हसिखोँमा पुगेको छ ।
अनुसन्धान तथा अध्ययनका टोलीका सदस्य तथा गोर्खा मिडियाका प्रवन्ध निर्देशक मिलन लेंगे तमुका अनुसार टोली सोमबार ङ्हसिखोँमा बास बस्नेछ । मंगलबार अर्थात तेस्रो दिन टोली क्होला सोँप्रे ट्हो (क्व्होलासोँथर) पुग्नेछ ।
तमु प्ये ल्हु संघको केन्द्रीय कार्यालयबाट आइतबार बिहान हिडेको टोली बेलुका भुजुङमा पुगेर बास बसेको थियो । भुजुङबाट बिदा भएर टोली सोमबार बिहानै ङ्हसिखोँको यात्रामा निस्केको थियो । टोलीले होँजोमा पुगेर खाना खाएर केही समय आराम गरी बेलुका ङ्हसिखोँमा बास बस्न पुगेको गोर्खा मिडियाका प्रवन्ध निर्देशक मिलन लेंगे तमुले जानकारी दिए ।
५३ जनाको ठुलो टोली (भरियाहरु सहित) सहभागी यस भ्रमणको नेतृत्व संघका अध्यक्ष क्याप्टेन डेमबहादुर गुरुङले गरेका छन् । उनले दिएको जानकारी अनुसार टोलीले पहिलो दिन लमजुङको बेशीशहर, घलेगाउँ र भुजुङमा निर्मित क्वोँईबोको दर्शन तथा अवलोकन गरेको थियो । त्यसपछि भुजुङ गाउँको संस्कार संस्कृति बुझ्नका लागि गाउँ अवलोकन तथा गाउँलेसँग भलाकुसारी गरेको थियो । सोही क्रममा युम्पो क्वोँईबोलाई आर्थिक सहयोग समेत हस्तान्तरण गरिएको थियो ।
अध्ययन तथा अवलोकन टोलीले वैशाख ११ गतेसम्म क्होला सोँप्रे ट्होको भ्रमण गर्नेछ । त्यहाँ पुगेर टोलीले सिमेभुमे, सिल्दोनाल्दो र पितृ–पुर्खाहरूको विशेष पूजा गरी आशीर्वाद लिने योजना बनाएको छ ।
यस भ्रमणको मुख्य उद्देश्य पुख्र्यौली थलोको वास्तविक अनुसन्धान र उत्खनन गरी यसलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन राज्यसँग पहल गर्नु रहेको संघका सचिव भेगलाल गुरुङले जानकारी दिए । भ्रमणका क्रममा टोलीले ऐतिहासिकता झल्किने डकुमेन्ट्री निर्माण गर्ने र खेगीगुरुहरूबाट प्राचीन जानकारी संकलन गरी ‘क्होला सोँप्रे ट्हो दर्पण’ प्रकाशन गर्ने लक्ष्यसमेत राखेको छ ।





