पोखरा । अभिनेता तथा निर्देशक माओत्से गुरुङको निर्देशनमा बनेको नयाँ चलचित्र ‘पेन्सन पट्टा’ आगामी भदौ २६ गतेबाट देशभरका सिनेमा हलमा प्रदर्शनमा आउने भएको छ ।
पोखरामा चलचित्र पत्रकार संघ कास्कीले आयोजना गरेको वार्षिक क्यालेन्डर विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रमका बीच निर्देशक गुरुङले फिल्मको प्रदर्शन मिति सार्वजनिक गरेका हुन् । त्यस अघि उनले फेसबुकमा नयाँ वर्षको शुभकामनाको पोस्टरमा फिल्मको प्रदर्शन मिति उल्लेख गरेका थिए । फिल्ममा मीन कोन्मे गुरुङ (यूके), भोजबहादुर गुरुङ(यूके), माया गुरुङ (हङकङ) र सपना गुरुङको लगानी रहेको छ ।
यो चलचित्रले एउटा लोभी स्वभावको युवक कसरी दानी व्यक्तिमा रूपान्तरण हुन्छ भन्ने रोचक कथालाई समेटेको निर्देशक गुरुङले बताए । उनले समाजकै एउटा प्रतिनिधि पात्रको जीवनमा आउने उतारचढाव र परिवर्तनलाई पर्दामार्फत प्रस्तुत गर्ने कोसिस गरिएको जानकारी दिए । माओत्से गुरुङ फिल्मसको ब्यानरमा निर्माण भएको यस चलचित्रको कथा पनि निर्देशक गुरुङले नै लेखेका हुन् । यसअघि उनको निर्देशनमा बनेको डेब्यु फिल्म ‘दयारानी’ बक्स अफिसमा सफल ठहरिएको थियो ।
‘पेन्सन पट्टा’ मा नेपाली चलचित्र क्षेत्रका स्थापित कलाकारहरूको अभिनय हेर्न पाइनेछ । फिल्ममा दयाहाङ राई, सुनिल थापा, पशुपति राई, गौमाया गुरुङ, बुद्धि तामाङ र विल्सनविक्रम राई जस्ता नाम चलेका कलाकारहरू मुख्य भूमिकामा छन् । त्यसैगरी राज थापा काउचा, लुनिभा तुलाधर, विश्वास गुरुङ, माया गुरुङ र यासिली राईले पनि यसमा अभिनय गरेका छन् ।
डिबी गुरुङ निर्माण नियन्त्रक रहेको यस फिल्मलाई सुशन प्रजापतिले छायांकन गरेका हुन् भने सुरज तमु कास्टिङ निर्देशकका रूपमा रहेका छन् । चलचित्रको संगीत पक्षलाई उत्कृष्ट बनाउन झुमा लिम्बु, मनोज थापा मगर र शिव बराइलीले संगीत निर्देशनको जिम्मेवारी निभाएका छन् ।