बेलायत । तमु धीं यूकेको आयोजनामा हुने प्रतिष्ठित फुटबल प्रतियोगिता ‘गोरखा कप’को २४औँ संस्करणका लागि टिम र स्टल दर्ता प्रक्रिया ५ अप्रिलदेखि खुला भएको छ ।
आगामी मे २४ तारिखमा अल्डरसटस्थित क्वीन्स एभिन्युमा हुने यस खेल उत्सवका लागि तयारी तीव्र पारिएको आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा सहभागी हुन चाहने टिम र स्टलका लागि ३ मे २०२६ सम्मको समयसीमा तोकिएको छ ।
‘पहिले आउनेलाई प्राथमिकता’ दिइने गरी सुरु हुने यस प्रक्रियामा मुख्य विधा (मेन टिम) तर्फ ३५० पाउन्ड दर्ता शुल्क निर्धारण गरिएको छ । यस विधाको विजेताले ३५०० पाउन्ड र उपविजेताले २००० पाउन्ड राशिको पुरस्कार प्राप्त गर्नेछन्। साथै, उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ‘म्यान अफ द म्याच’ को आकर्षक पुरस्कार दिइनेछ ।
प्रतियोगिताका कोअर्डिनेटर एवं खेलकुद सचिव क्याप्टेन (रिटायर्ड) दीपक घलेले दिएको जानकारी अनुसार भेट्रानतर्फ ३५० पाउन्ड शुल्क तिरेर टिम दर्ता गर्न सकिनेछ, जसको प्रथम पुरस्कार १८०० र दोस्रो पुरस्कार १२०० पाउन्ड रहेको छ । त्यसैगरी, ३०० पाउन्ड दर्ता शुल्क तोकिएको महिलातर्फको खेलमा विजेताले ६०० र उपविजेताले ४०० पाउन्ड पुरस्कार पाउने उनले बताए ।
खेल हेर्न आउने दर्शकका लागि ५ पाउन्ड प्रवेश शुल्क तोकिएको छ भने सवारी पार्किङका लागि कारलाई ५ पाउन्ड र बस वा भ्यानलाई १० पाउन्ड शुल्क लाग्नेछ ।
केवल फुटबल प्रतियोगितामा मात्र सीमित नरही गोरखा कप बेलायतबासी नेपाली समुदायको ठूलो सांस्कृतिक उत्सवका रूपमा समेत परिचित छ । स्थानीय रसमोर काउन्सिलले आफ्नो वार्षिक क्यालेन्डरमै समेटेको यस कार्यक्रमले आपसी सद्भाव, एकता र व्यावसायिक प्रवर्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।
हजारौँको उपस्थिति रहने यस मेलामा खेलकुदका साथै नेपाली मौलिक भेषभूषा, विभिन्न परिकार र सांस्कृतिक प्रस्तुतिहरू समेत आकर्षणका रूपमा रहनेछन् ।
गोर्खा कपका लागि क्याप्टेन दीपक गुरुङ, स्टलका लागि उपाध्यक्ष दिलमाया गुरुङ र फुटबल टिम दर्ताका लागि कुमार घलेलाई सम्पर्क गर्न आयोजकले आग्रह गरेको छ ।