अल्डरसट । लमजुङ समाज आमा समूह यूकेको १४औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार, ४ अप्रिलका दिन अल्डरसटको दि लन्जमा सम्पन्न सभाले विगतका कार्यक्रमको समीक्षा गर्दै भावी योजना तथा कार्यक्रम तय गरेको छ ।
संस्थाका अध्यक्ष तारा गुरुङको अध्यक्षतामा भएको कार्यक्रम महासचिव मोनिका गुरुङले सञ्चालन गरेकी थिइन् । उपाध्यक्ष मनिता गुरुङले स्वास्थ्य र सुरक्षाबारे जानकारी गराएकी थिइन् भने वरिष्ठ उपाध्यक्ष लक्ष्मी गुरुङले स्वागत मन्तव्य राखेर सबैलाई स्वागत गरेकी थिइन् ।

संस्थापक अध्यक्ष इन्द्र गुरुङ र अध्यक्ष तारा गुरुङले दीप प्रज्वलन गरेका थिए । त्यसपछि नेपालको र यूकेको राष्ट्रिय गान प्रस्तुत गरिएको थियो । दिवंगत व्यक्तिहरूको सम्झनामा एक मिनेट मौन धारण गरिएको थियो ।
कार्यक्रममा संस्थापक अध्यक्ष इन्द्र गुरुङ, पूर्वअध्यक्ष लक्ष्मी गुरुङ, जुना गुरुङ, निवर्तमान अध्यक्ष माला घले तथा सल्लाहकारहरू चिजा गुरुङ, शुकदेवी गुरुङ र गुना गुरुङले शुभकामना मन्तव्य राखेका थिए ।
महासचिव मोनिका गुरुङले संस्थाको हालसम्मको गतिविधि र प्रगति विवरणबारे जानकारी गराएकी थिइन् । कोषाध्यक्ष शान्तमाया गुरुङले आयव्यय समेटिएको आर्थिक विवरण प्रस्तुत गरेकी थिइन् ।

सो अवसरमा सहभागीसमेतको छलफलबाट संस्थाका भावी योजना तय गरिएको थियो । अध्यक्षले हालसम्मको सहयोगका लागि आभार व्यक्त गर्दै भावी कार्यक्रमका लागि मद्दत गर्न सबैलाई आग्रह गरिन् । र उपस्थित सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन गरेकी थिइन् ।