पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद (डीपी) अर्यालले प्रतिनिधि सभाको सभामुख पदका लागि आफ्नो मनोनयन दर्ता गराएका छन् ।
उनको उम्मेदवारीको प्रस्तावकमा पार्टी सभापति एवं प्रतिनिधि सभा सदस्य रवि लामिछाने रहेका छन् भने समर्थकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, कानुन मन्त्री सोविता गौतम र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल रहेका छन् । बिहीबार बसेको रास्वपाको बैठकले अर्याललाई सभामुखको उम्मेदवार बनाउने औपचारिक निर्णय गरेको थियो ।
सभामुख चयनका लागि चैत २२ गते निर्वाचन हुने तय भएको छ । संघीय संसद सचिवालयले आज (शुक्रबार) बिहान ११ देखि दिउँसो २ बजेसम्मका लागि उम्मेदवारी दर्ताको समय तोकेको छ भने साढे २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ । २२ गतेको बैठकमा प्रस्तावकले प्रस्ताव गर्ने र समर्थकले समर्थन गरेपछि उम्मेदवारीमाथि सामूहिक छलफल हुनेछ र त्यसलगत्तै निर्णयार्थ प्रस्तुत गरिनेछ । २७५ सदस्यीय प्रतिनिधि सभामा रास्वपासँग १८२ सिट रहेकाले दुई तिहाइ बहुमत नजिक रहेको अवस्थामा अर्याल सभामुख निर्वाचित हुने निश्चित जस्तै छ ।
सभामुखको निर्वाचन नहुँदासम्म प्रतिनिधि सभाको बैठकको अध्यक्षता ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीले गर्दै आएका छन् । यसैबीच, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने सभामुख पदमा आफ्नो उम्मेदवारी नदिने घोषणा गरेको छ । सत्तापक्षसँग संसदमा सहज बहुमत रहेको र सभामुख पद साझा व्यक्तित्वको हुनुपर्ने भन्दै उम्मेदवारी नदिने निर्णय गरिएको कांग्रेस महामन्त्री प्रदीप पौडेलले बताए । संसदलाई मर्यादित र निष्पक्ष ढंगले संचालन गर्ने दायित्व सभामुखकै भएकाले सदनको गरिमा बढाउन यस्तो निर्णय लिइएको उनले बताए ।
अर्कोतर्फ, नेकपा एमालेले भने सभामुखको निर्वाचनका विषयमा अहिलेसम्म कुनै ठोस निर्णय गरिसकेको छैन । एमाले सांसद ऐन महरले विपक्षी दलका तर्फबाट कसैले उम्मेदवारी दर्ता गरेमा समर्थन गर्ने यदि विपक्षीका तर्फबाट कसैले उम्मेदवारी नदिए एमाले आफैँले उम्मेदवारी दर्ता गर्ने बताए ।
नेपाली कम्युनिस्ट पार्टीले सभामुख पदमा उम्मेदवारी नदिने भएको छ । उसले रास्वपा उम्मेदवार डीपी अर्याललाई समर्थन गर्ने जनाएको छ । नेकपाले उपसभामुखमा दाबी गर्ने बताएको छ ।