लन्डन । नेपाली नर्सिङ एसोसिएसन यूकेले शनिबार आफ्नो १२औँ स्थापना दिवस मनाएको छ । लन्डनको ह्यारो बरो फुटबल क्लबमा नेपाली दूतावासका कार्यवाहक राजदूत विपिन दुवाडीको प्रमुख आतिथ्यमा दिवस मनाएको हो ।
संस्थाका अध्यक्ष रश्मिता दर्लामीको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव श्रीजा डंगोलले स्वास्थ्य र सुरक्षाबारे जानकारी गराएकी थिइन् । उपाध्यक्ष इन्दिरा बस्यालले स्वागत मन्तव्य राखेकी थिइन्।
कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञहरूले आ-आफ्नो प्रस्तुति दिएका थिए । लुइसम एन्ड ग्रीनविच ट्रस्टकी क्लिनिकल स्पेसियलिस्ट नर्स सुशीला कार्कीले क्यारियर पाथवे सत्र प्रस्तुत गरेकी थिइन् । एडभान्स्ड क्रिटिकल केयर प्राक्टिसनर प्रसुना कडेलले मानसिक स्वास्थ्य, कल्याण र नर्सिङमा लचकता विषयमा प्रस्तुति दिएकी थिइन् ।
यस्तै, बकिंघमशायर न्यू युनिभर्सिटीकी नर्सिङ विभागप्रमुख गीता लामिछानेले व्यावसायिक तथा शैक्षिक कोर्सका अवसरबारे जानकारी दिएकी थिइन् । हडर्सफिल्ड युनिभर्सिटीकी नर्सिङकी रिडर डा. विभा सिंखडाले नेपालमा नर्सिङको भविष्य र राष्ट्रिय सीपीडी फ्रेमवर्कको परिचय दिएकी थिइन् ।
कार्यक्रममा संस्थाका गतिविधिबारे वेलफेयर कोअर्डिनेटर बिनु लामिछानेले प्रस्तुति दिएकी थिइन् । ‘नर्सिङ वर्कफोर्स च्यालेन्ज: माइग्रेसन, रिटेन्सन र व्यावसायिक मान्यता’ विषयक प्यानल छलफलमा कल्पना गिरी, भिनिस थोमस, श्रीजना कोइराला, सुमन श्रेष्ठ, रश्मिता दर्लामी र राजेन्द्र पुडासैनी सहभागी थिए ।
प्रमुख अतिथि दुवाडी, एनएचएस इंग्ल्यान्डका प्रतिनिधि र एनएमसी प्रतिनिधिलाई मायाको चिनो प्रदान गरिएको थियो । अन्त्यमा अध्यक्ष दर्लामीले कार्यक्रमका वक्ता, सहभागी, प्रायोजक र साझेदारहरूलाई धन्यवाद दिँदै कार्यक्रम सम्पन्न गरेकी थिइन् ।