प्रकाश सिधाने
चैत बैशाखको तातो हावामा
तिम्रो सम्झना सितल भएर आउँछ
ओठ सुख्दा पनि मन भिज्छ
किनकि अझै पनि
तिमीलाई भेट्ने मन छ।
वर्षौँ बिते, समय टाढियो
तर तिमी कहिल्यै टाढा भएनौ
मनको कुनै कुनामा
अझै उज्यालो भएर बसेकी छौ
त्यही उज्यालोलाई छुन
तिमीलाई भेट्ने मन छ।
समाजले बीचमा काँडेतार तानेको छ
रीतिरिवाजले बाटो रोकेको छ
तर मायाले न मान्ने रहेछ सिमाना
मनले चुपचाप भन्छ
एकचोटि मात्र भए पनि
तिमीलाई भेट्ने मन छ।
संसार कोलाहलले भरिएको छ
मानिसहरू भीडमा हराउँदैछन्
तर यो भीडभित्र पनि
मेरो मनले खोजिरहन्छ एउटै अनुहार
त्यो तिमी हौ,
जसलाई भेट्ने मन छ।
तिमी कहाँ छौ, कस्तो छौ
यो प्रश्नले कहिल्यै छोडेन
फेसबुकका अक्षरहरूमा
इन्स्टाग्रामका तस्वीरहरूमा
कतै तिमी भेटिन्छौ कि भनी
मन अझै अलमलिन्छ
किनकि
तिमीलाई भेट्ने मन छ।
बितेका दिनहरू सम्झिँदा
मुटु हल्का दुख्छ
तर त्यो पीडामा पनि मिठास छ
किनकि त्यो तिमीसँग जोडिएको छ
त्यो मिठो पीडालाई फेरि महसुस गर्न
तिमीलाई भेट्ने मन छ।
उमेरले धेरै कुरा सिकायो
समयले धेरै कुरा खोस्यो
तर एउटा चाहना भने अझै बाँकी छ
मन अझै थाकेको छैन
आशा अझै मरेको छैन
तिमीलाई भेट्ने मन छ।
सायद तिम्रो जीवनमा
अरू कसैले ठाउँ लिइसकेको होला
सायद तिमी खुसी छौ
त्यसैमा म पनि खुसी हुन सिकेको छु
तर एकपटक मात्र
टाढाबाट भए पनि हेर्न
तिमीलाई भेट्ने मन छ।
होमवर्क नगर्दा पिटाइ खाएको दिन
स्कुलको आँगन
हाम्रो चुपचाप हेराहेरी
ती सबै यादहरू
अझै जिउँदो छन्
ती यादहरू सँगालेर
तिमीलाई भेट्ने मन छ।
विदेशका सहरहरू घुमेँ
लन्डनका झिलिमिली बत्तीहरू
न्यूयोर्कका अग्ला भवनहरू
सबै देखेँ
तर कतै पनि तिमी जस्तो
मन भर्ने दृश्य देखिनँ
त्यसैले
तिमीलाई भेट्ने मन छ।
तिमीसँग बोल्न सकिनँ कहिल्यै,
लजालु मनले शब्द रोकेको थियो
आज भने शब्दहरू बग्न थालेका छन्
तर ती शब्दहरू सुन्ने
तिमी नै चाहिन्छौ
त्यसैले
तिमीलाई भेट्ने मन छ।
“बाह्र वर्षमा खोला फर्किन्छ” भन्छन्
मेरो समय त झन् धेरै बगिसक्यो
तर मनको खोला अझै सुक्न मानेको छैन
त्यो अझै बगिरहेकै छ
तिमीतिर
किनकि
तिमीलाई भेट्ने मन छ।
सपनामा तिमी धेरैपटक आयौ
हास्यौ, बोल्यौ, हरायौ
ब्यूँझिँदा खालीपन मात्र बाँकी रह्यो
सपना कहिल्यै यथार्थ बनेन
त्यही अधुरो सपना पूरा गर्न
आज पनि
तिमीलाई भेट्ने मन छ।