मिचेट । तमु धीं यूकेले आगामी गोर्खा कपको तयारीबारे छलफल गरेको छ । तमु धीं भवन मिचेटमा १५ मार्च आइतबारका दिन सम्पन्न बैठकमा गोर्खा कपबारे छलफल भएको हो ।
यस्तै, बैठकमा आगामी २४ मेमा हुने २४औँ गोर्खा कपका बारेमा कोअर्डिननेटर एवं खेलकुद सचिव क्याप्टेन दीपक घलेले पावर प्वाइन्टमार्फत विस्तृत जानकारी गराएका थिए । उनले हालसम्मको तयारीबारे पनि अपडेट गराएका थिए । गोर्खा कपको बारेमा निवर्तमान अध्यक्ष हरि गुरुङ, संस्थापक अध्यक्ष मीन गुरुङ, सल्लाहकार ले. कुसाङ गुरुङ, पूर्वअध्यक्ष ग्याम गुरुङलगायतले पनि आफ्नो भनाइ राखेका थिए ।

यूकेमा रहेका नेपालीमाझ सबैभन्दा ठूलो र लोकप्रिय फुटबल उत्सवका रूपमा परिचित गोर्खा कप यस वर्ष पनि अल्डरसटस्थित क्वीन्स इभिन्यू फुटबल मैदानमा हुनेछ । यस वर्षको गोर्खा कपमा पनि तीनवटा मुख्य विधामा प्रतिस्पर्धा गराइनेछ । जसमा मुख्य पुरुषतर्फ मेन, भेट्रान्स र महिला टिमहरूबीच उपाधिका लागि भिडन्त हुनेछ । मैदानमा उत्कृष्ट फुटबल प्रदर्शन गर्ने टोलीहरूलाई विजेता र उपविजेताको ट्रफीसहित पुरस्कृत गरिनेछ । उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट ट्राइकर विधामा समेत पुरस्कारको व्यवस्था गरिएको छ ।
गोर्खा कपमा खेलकुदसँगै विभिन्न मनोरञ्जनात्मक कार्यक्रम हुनेछ । जसमा साँस्कृतिक कार्यक्रम, बच्चा र परिवारका लागि मनोरञ्जनात्मक खेल, नौमति बाजालगायतका गतिविधि हुनेछ । गत वर्ष सम्पन्न २३औँ संस्करणमा मुख्य विधा मेनमा नेपाली ड्रिमले जीत हासिल गरेको थियो भने भेट्रान्सतर्फ हिमालयन र महिला विधामा रन्डर बोल्टले उपाधि आफ्नो पोल्टामा पारेका थिए ।

यस्तै, आइतबारको बैठकले Trail Walker हरेक वर्ष भाग लिने पनि निर्णय गरेको छ । जसका लागि सल्लाहकार सान्तकुमार गुरुङको संयोजकत्वमा टिम बनाइएको छ । टिममा तमु धीं यूकेका उपाध्यक्ष कमल गुरुङ, सल्लाहकार तर्कजंग गुरुङ र गोर्खा किचनका प्रोप्राइटर एवं तमु धीं यूकेका आजीवन सदस्य भीम गुरुङ रहेका छन् । उक्त टिमलाई लजिस्टिकमा सचिव विमल गुरुङ र मिडिया सेक्रेटरी एसके गुरुङले सहयोग गर्नेछन् ।
टिम लिडर गुरुङले Trail Walker को बारेमा विस्तृत रूपमा जानकारी गराएका थिए । तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङको अध्यक्षतामा बसेको बैठक महासचिव डा. विशाल गुरुङले सञ्चालन गरेका थिए । वरिष्ठ उपाध्यक्ष परशु गुरुङले स्वागत मन्तव्य राखेका थिए ।

अन्त्यमा अध्यक्ष जुमकाजी गुरुङले बैठकमा उपस्थित सबैलाई धन्यवाद दिएका थिए । उनले सल्लाहकार दलबहादुर गुरुङको बुबा, सल्लाहकार कुमार गुरुङको आमा र सल्लाहकार अमृत गुरुङको ससुराको निधन भएकोमा दिवंगत आत्माप्रति समवेदना व्यक्त गर्दै बैठक समापन गरेका थिए ।