पोखरा । स्टार्स स्टुडियो नेपालले स्टार्स फाउन्डेसन नेपालसँगको सहकार्यमा आगामी मार्च ३० देखि अप्रिल ८ तारिखसम्म पोखरामा ‘स्टार्स समर क्याम्प २०२६’ आयोजना गर्ने भएको छ।
१० दिनसम्म सञ्चालन हुने क्याम्प पोखराको लेकसाइड, खहरेस्थित स्ट्रिट नम्बर २१ ‘ए’मा रहेको प्यासन नेपाल इको लजमा हुनेछ । १८ वर्षसम्मका बालबालिका तथा किशोरकिशोरीहरूलाई लक्षित गरिएको यस शिविरमा ५० वटा विभिन्न रचनात्मक तथा प्रयोगात्मक क्रियाकलापहरू समावेश गरिएको कार्यक्रम संयोजक जसु गुरुङले जानकारी दिइन् ।
सहभागीहरूले व्यक्तित्व विकासका लागि सार्वजनिक भाषण, योग, चित्रकला, संगीत कार्यशाला, विभिन्न विधाका नाच, र खेलकुदअन्तर्गत फुटबल तथा भलिबलमा भाग लिन पाउनेछन् । यसैगरी, बालबालिकाहरूलाई व्यावहारिक सीप सिकाउन मःमः बनाउने कक्षा, मेहेन्दी कला, प्राथमिक उपचार तालिम, पाल टाँग्ने सीप र पदयात्रा जस्ता रोचक गतिविधिहरू पनि गराइने आयोजकले जनाएको छ ।
यस वर्षको शिविरमा जर्मनीबाट पनि सहभागी हुने भएकाले अन्तर्राष्ट्रिय अनुभव र सांस्कृतिक आदानप्रदान गर्ने अवसर पाउनेछन् । शिविरमा मानसिक स्वास्थ्य सचेतना, व्यवसायिक विचार सत्र र सामाजिक कार्य जस्ता गम्भीर तर महत्त्वपूर्ण विषयहरूमा पनि छलफल हुनेछ ।
सहभागीहरूका लागि आयोजकले यातायात, बिहानको खाजा, खाना, आवास (होस्टल), एम्बुलेन्स र स्वास्थ्यकर्मीको सुविधा उपलब्ध गराएको कार्यक्रम व्यवस्थापक दीपक गुरुङले जानकारी दिए । शुल्कको विवरण अनुसार, आफैँ आवतजावत गर्नेका लागि १५ हजार रुपैयाँ, ल्याउने र पु¥याउने सुविधासहितका लागि २० हजार रुपैयाँ र आवासमै बसेर भाग लिन चाहनेहरूका लागि २५ हजार रुपैयाँ तोकिएको छ । समयमै नाम दर्ता गर्नेहरूका लागि १० प्रतिशत छुटको समेत व्यवस्था गरिएको छ ।
थप जानकारी तथा दर्ताका लागि कार्यक्रम संयोजक जसु गुरुङ र व्यवस्थापक दीपक गुरुङलाई सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ। बालबालिकाहरूको प्रतिभा प्रस्फुटनसँगै क्षमता विकासका लागि यो शिविर एउटा महत्त्वपूर्ण मञ्च बन्ने विश्वास लिइएको छ ।