पोखरा । तमु प्ये ल्हु संघ परिवार पोखराले यूके र हङकङदेखि नेपाल आएको टोलीलाई स्वागत गरेको छ । शुक्रबार केन्द्रीय फलिना क्होइबो, पोखरामा एक कार्यक्रमबीच नेपाल आएका संस्थागत व्यक्तित्वलाई स्वागत, सम्मान तथा आत्मीय भेटघाट गरेको हो ।
कार्यक्रममा विदेशमा रहेर तमु जातिको भाषा, धर्म, संस्कार–संस्कृति तथा पहिचान संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएका अग्रज व्यक्तित्वहरूबीच संस्थागत समसामयिक विषयमा छलफल भएको थियो । मातृभूमिसँगको सम्बन्ध सुदृढ गर्दै भावी दिनमा सहकार्यका सम्भावनाबारे कुराकानी भएको थियो ।

केन्द्रीय समितिका अध्यक्ष ओम थिम्जे तमु, केन्द्रीय निवर्तमान अध्यक्ष एवं सल्लाहकार संयोजक हितकाजी टुक्ल्हेप्री तमुले विश्वका विभिन्न मुलुकमा छरिएर रहेका तमु समुदायबीच आपसी एकता, संस्थागत सहकार्य र सांस्कृतिक निरन्तरताको आवश्यकता औँल्याउँदै यस्ता भेटघाटले सम्बन्ध थप प्रगाढ बनाउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा तमु प्ये ल्हु संघ यूकेका पूर्वअध्यक्ष मेजर खुशीमान ल्हेंगे तमु एमभीओ तथा श्रीमती मञ्जु टुक्ल्हेप्री तमु, तमु प्ये ल्हु संघ यूकेका उपाध्यक्ष अमर त्होर्जे तमु तथा श्रीमती मिना ल्हेंगे तमु, त्रिभाषीय पुस्तक लेखन यूकेका संयोजक क्याप्टेन नरबहादुर पर्जु तमु एमभीओ एमभीई तथा श्रीमती नीरकुमारी टुक्ल्हेप्री तमु, राजमान टुक्ल्हेप्री तमु तथा श्रीमती हरिमाया क्रोम्छें तमु रहेका थिए ।

तमु प्ये ल्हु संघ हङकङका आजीवन सदस्यद्वय पूर्णबहादुर ल्हों तमु र खेगी देब ल्हेंगे तमुलाई पनि सोही कार्यक्रमबीच स्वागत सम्मान गरिएको थियो ।