धम्पुस । बेलायत वेल्सको ब्रेकन सहर र नेपालको कास्की जिल्ला माछापुच्छ्रे गाउँपालिका-७ स्थित पर्यटकीय गाउँ धम्पुसबीच मितेरी सम्बन्धको सातौँ वार्षिकोत्सव मनाइएको छ । मंगलबार धम्पुसस्थित डंयो (आहाल)डाँडा पार्कमा भव्य समारोहबीच वार्षिकोत्सव मनाइएको हो ।
धम्पुस समाज यूकेका अध्यक्ष धनबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रम समाजका वरिष्ठ उपाध्यक्ष एवं गुरुङ सोसाइटी केन्ट यूकेका अध्यक्ष गोलमान गुरुङले सञ्चालन गरेका थिए । उनले स्वास्थ्य र सुरक्षाबारे जानकारी गराउँदै कार्यक्रम सुरु गरेका थिए ।

धम्पुस समाज यूकेका संरक्षक एवं कार्यक्रम संयोजक मेजर खुसीमान गुरुङ एमभीओले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गरेका थिए । कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य गणेशमान गुरुङ प्रमुख अतिथि रहेका थिए । विशेष अतिथिहरूमा संविधानसभा सदस्य शारदा पौडेल, माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङ, उपाध्यक्ष सीता अधिकारी, ब्रेकन धम्पुस ट्विनिङ एसोसिएसनका उपाध्यक्ष एन माथियास तथा ब्रेकन वेल्सका सदस्यहरू, वडा नं ७ का अध्यक्ष वैकुण्ठ भण्डारी, वडा नं १ का अध्यक्ष इन्द्र गुरुङ, अन्नपूर्ण संरक्षण क्षेत्र व्यवस्थापन समिति धम्पुसका अध्यक्ष दलबहादुर गुरुङ, कवि रमेश श्रेष्ठ, समाजसेवी एवं सफल व्यवसायी अशोक पालिखे, मोटिभेसनल स्पिकर इन्द्र गुरुङ र राजी श्रेष्ठ गुरुङ, हिमालय ग्रिन यूकेका प्रबन्ध निर्देशक राम क्षेत्री, धम्पुस पोखरी गैरेखरे घोताने परिवार यूकेका अध्यक्ष एवं समाजसेवी सूर्यबहादुर गुरुङ, भूपू प्रधानपञ्च इन्स्पेक्टर पानबहादुर गुरुङ वडा नं ७ का पूर्ववडाध्यक्ष सोमबहादुर गुरुङ रहेका थिए ।

यसका साथै यूके तथा नेपालका विभिन्न स्थानबाट आएका व्यक्तित्वहरू, समाजसेवी तथा स्थानीयहरूले बाक्लो उपस्थिति रहेको थियो । प्रमुख अतिथि प्रदेशसभा सदस्य गणेशमान गुरुङ, अध्यक्ष धनबहादुर गुरुङ, एसोसिएसनका उपाध्यक्ष एन माथियासले संयुक्त रुपमा पानसमा बत्ती बालेर उद्घाटन गरेका थिए । त्यसपछि नेपाल र वेल्सको राष्ट्रिय गान प्रस्तुत गरिएको थियो । Dhampus Brecon Twinning Monument र Directional Post पनि उद्घाटन गरिएको थियो । जसको उद्घाटन एसोसिएसनका उपाध्यक्ष माथियास, संयोजक मेजर खुसीमान गुरुङ एमभीओ र मन्जु गुरुङले गरेका थिए ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि गुरुङले स्वदेश र विदेशमा रहेका सबै नेपाली मिलेर आफ्नो गाउँ बनाउनुपर्ने बताए । धम्पुस गाउँ र ब्रेकन सहरको सम्बन्ध संसारमा सबैले प्रशंसा गर्ने बनेको उनको भनाइ थियो । ‘हामी यहाँ छौँ, उनीहरू वेल्समा छन्, तर गाउँको विकासमा हामी सँगसँगै छौँ,’ उनले भने । उनले धम्पुसको विकासमा आफू लागिपरेको जनाउँदै दैनिक १५ हजार पर्यटक भित्र्याउने गरी योजना बनाइरहेको सुनाए ।

‘खुला चिडियाखानको कन्सेप्टमा माछापुच्छ्रे पार्क धम्पुसको परियोजना अघि बढाउँदै छौँ, जसले पोखराबाट २० किलोमिटर टाढा रहेको यस गाउँमा सयौँको संख्यामा रोजगारी सिर्जना गर्नेछ । विश्वभरका अध्ययन र अनुसन्धानकर्ताहरूलाई ल्याउनेछौँ, उनले भने, ‘किनभने धम्पुसबाट जस्तो हिमालको दृश्य संसारको कुनै पनि स्थानबाट देखिँदैन ।’
विशेष अतिथि एवं गाउँपालिका अध्यक्ष गुरुङले सबैले आआफ्नो स्थानबाट योगदान गरेमा मात्रै गाउँको विकास हुने बताए । ‘तपाईं हामी सबै मिलेर गाउँलाई चिनाउने हो । पालिकाले सबै सहयोग गरेन तयार रहेको छ,’ उनले भने ।
वडा नं ७ का वडाध्यक्ष वैकुण्ठ भण्डारीले दुई सहरबीचको भगिनी सम्बन्ध कायम भएपछि संस्कृति आदानप्रदान गर्न पाएको बताए । धम्पुसको विकाशका लागि स्वदेश तथा विदेशमा रहेका सबैले हातेमालो गर्नुपर्ने र त्यसमा सहयोग गर्न पालिका तयार रहेको बताए ।

कार्यक्रम संयोजक खुसीराम गुरुङ एमभीओले आजको दिन ब्रेकन र धम्पुसका लागि विशेष तथा ऐतिहासिक रहेको बताए । ‘यो मितेरी सम्बन्धको सातौँ वर्ष हो । यस ऐतिहासिक कार्यक्रममा ब्रेकनबाट आउनुभएका पाहुनाहरूलाई स्वागत गर्न पाउँदा हामी भाग्यमानी छौँ,’ उनले भने, ‘मलाई विश्वास छ कि हामी हाम्रो सम्बन्धमार्फत स्वास्थ्य शिक्षा कृषि संस्कृति र आतिथ्य सत्कार होटल व्यवसायमा धेरै प्रकारका लागी गर्न सक्छौँ । यसमा हामी अनि सकारात्मक हुनु जरुरी छ ।’
समुन्द्र सतहबाट २ हजार मिटर उचाइमा रहेको रमणीय धम्पुस गाउँमा जन्मिएर जीवनयापन गर्न पाउनुलाई आफूले ठूलो सौभाग्यका रूपमा लिएको उनको भनाइ थियो । ‘धम्पुसमा २ हजार ८०० जनसंख्या र ५५० घरधुरी रहेका छन् । वेल्सको नेसनल पार्कमा रहेको ब्रेकनको जनसंख्या ९ हजार रहेको छ । प्राकृतिक हिसाबले पनि ब्रेकन र धम्पुस उस्तै छन्,’ मेजर गुरुङले भने ।

ट्विनिङ एसोसिएसनका सेक्रेटरी आसिम गुरुङले धम्पुसमा जन्मिएर यूकेमा कर्मथलो बनाएका पहिलो पुस्ताले गाउँको विकासका लागि योगदान गरेको उल्लेख गर्दै यूकेमै जन्मिएको दोस्रो पुस्तालाई पनि पुर्खाको गाउँ चिनाउन आवश्यक रहेको बताए । ‘तपाईंहरूले आफ्ना छोराछोरी नातीनातिनाहरूलाई पनि गाउँ चिनाउन कम्तीमा वर्षमा एक पटक गाउँ पठाइदिनुहोस् । दोस्रो पुस्ताले पनि योगदान दिनुहुन्छ भन्ने विश्वास छ,’ विदेशमा पसिना बगाएर कमाएको रकम यहाँ लगानी गर्नु भएको छ । जन्मभूमिलाई कहिले पनि नबिर्सिनुहोला। भविष्यमा पनि यसरी नै स्वागत गर्न चाहान्छौँ ।’

अन्त्यमा, अध्यक्ष धनबहादुर गुरुङले ब्रेकनसँग जोडिन पाउनु धम्पुसका लागि गर्वको विषय रहेको बताए । धम्पुस र ब्रेकनबीचको सम्बन्ध प्रगाढ रहेको जनाउँदै आफूहरूले गाउँको विकासमा आर्थिकलगायत सबै सहयोग गरिरहेको र भविष्यमा पनि जारी राख्ने उनले बताए । ‘धम्पुसेहरूले यूकेमा व्यवसाय, समाजसेवा तथा विभिन्न संघसंस्थामा आबद्ध भएर रहरलाग्दो प्रगति गरिरहेका छन्,’ उनले भने, ‘त्यसैले धम्पुसे हुनुमा गर्व लाग्छ ।’ अध्यक्ष गुरुङका अनुसार यूकेमा ९८ घर धम्पुसेहरू रहेका छन् । भगिनी सम्बन्ध बलियो बनाउन र पार्क निर्माणमा खटिने एवं सबैखालको सहयोग गर्ने सबैलाई उनले धन्यवाद दिँदै कार्यक्रम समापन भएको घोषणा गरेका थिए ।
पार्क एक्याप र वडा कार्यालयको अधीनमा रहनेछ । जसका लागि संरक्षण तथा व्यवस्थापन समिति पनि गठन गरिएको छ र पार्कको चाबी समितिलाई हस्तान्तरण गरिएको थियो । स्वागत नृत्यसहित कार्यक्रमको बीचबीचमा विभिन्न आकर्षक नृत्यहरू पनि प्रस्तुत गरिएको थियो ।

सो अवसरमा पार्क बनाउन सहयोग गर्ने र सम्बन्ध स्थापित गर्न सहयोग गर्ने सबैलाई मायाको चिनो प्रदान गरिएको थियो । अग्रजहरूलाई अभिनन्दनसमेत गरिएको थियो । औपचारिक कार्यक्रमअघि ब्रेकनको टोलीलाई मेजर खुसीमानको घरमा स्वागत गरिएको थियो ।
पार्क निर्माणका लागि हाल धम्पुस परिवार यूकेले मुख्य आर्थिक सहयोग गरेको छ । साथै स्थानीय संघ-संस्था तथा चन्दादाताहरूको थप सहयोगमा पार्क निर्माण सम्पन्न भएको हो । योजना परिकल्पनाकार धम्पुस परिवार यूकेका गुप्तबहादुर गुरुङ हुन् ।
स्थानीयस्तरमा निर्माण कार्यको नेतृत्व निर्माण समिति संयोजक क्याप्टेन रक्षबहादुर गुरुङले गरेका थिए । धम्पुस परिवार यूकेका पूर्वअध्यक्ष इन्द्र (नारण) गुरुङको कार्यकालमा निर्माण सुरु भएको पार्क वर्तमान अध्यक्ष धनबहादुर गुरुङको कार्यकालमा सम्पन्न भएको हो । पार्कलाई सफल बनाउन संस्थाका पूर्वअध्यक्षहरू क्या. देवबहादुर गुरुङ, दयामल गुरुङ, अमरसिद्ध गुरुङ र कुमार गुरुङको पनि महत्वपूर्ण योगदान रहेको छ ।
धम्पुस र ब्रेकनबीचको भगिनी सम्बन्धले दुई फरक संस्कृति र भूगोलका समुदायहरूलाई आपसी मित्रता, सद्भाव र सहकार्यको सूत्रमा बाँध्दै आएको छ ।