पोखरा । तमु धीं यूकेका उपाध्यक्ष कमल गुरुङले गोर्खा मिडियाले यूकेमा बस्ने नेपालीहरूलाई सूचना प्रवाहमा अग्रणी भूमिका खेलेको बताएका छन् ।
सोमबार पोखरामा गोर्खा मिडियाद्वारा आयोजित सम्मान हस्तान्तरण कार्यक्रममा बोल्दै उपाध्यक्ष गुरुङले यूकेमा हुने हरेक कार्यक्रममा गोर्खा मिडिया पुगेको बताएका हुन् । ‘गोर्खा मिडियाका प्रबन्ध निर्देश मिलन तमु सुरुमा फोटो पत्रकारिता मात्र गर्नुहुन्थ्यो । पाँच वर्षयता अनलाइन मिडिया सञ्चालन गर्नुभएको छ । यूकेमा जहाँ ठूलो कार्यक्रम हुन्छ त्यहाँ मिलन तमु पुगेको हुन्छ,’ कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका उनले भने, ‘मिलनको कामप्रति हामी एकदम गौरव गर्छौं ।
गोर्खा मिडियाकै कारण आफूहरूले छिटो सूचना तथा समाचारहरू पाउने गरेको उनको भनाइ थियो । ‘गोर्खा मिडियाका सञ्चालनक मिलन गुरुङ पल्टनमा हुँदा देखि नै फोटो खिच्न अब्बल हुनुहुन्थ्यो । रिटायर्ड भएपछि त्यसैलाई निरन्तरता दिनुभएको छ,’ उनले भने, ‘उहाँले आफ्नो मिडियामा कार्यरत पत्रकार र विभिन्न समाजसेवीहरूलाई समेत सम्मान गरेर अझै उल्लेखनीय काम गर्नु भएको छ ।’

कार्यक्रमका विशेष अथिति एवं गुरुङ सोसाइटी केन्ट यूकेका अध्यक्ष गोलमान गुरुङले २१औँ सताब्दीमा मिडियाले परिवर्तनको संवाहकको भूमिका खेलिरहेको बताए । त्त्यसमा यूकेबाट सञ्चालन भएको गोर्खा मिडियाले एउटा महत्वपूर्ण इट्टा थप्ने काम गरेको उनको भनाइ थियो । ‘मिलन तमु मेरो पुरानो साथी पनि हुनुहुन्छ । लडाइँको मैदानमा पनि हामी सँगसैगै थियौँ । बन्दुक समाउने हातले अहिले कलम समाएर समाजलाई सुसूचित गर्नुभएको देख्दा धेरै खुसी लागेको छ,’ उनले भने, ‘अझै धेरै प्रगतिको कामना छ । मिडियालाई हामीले पनि सहयोग गर्नुपर्छ ।’
सम्मानित पत्रकार जुना थापाले गोर्खा मिडियाबाट सम्मानित हुन पाउनु आफ्ना लागि ठूलो उपलब्धि भएको बताइन् । ‘यसरी सम्मान पाउँला भन्ने सोचेर गोर्खा मिडियासँग काम सुरु गरेकी थिइनँ । यस्तो सम्मान र कदर गर्नुहोला भन्ने सपनामा पनि सोचेकी थिइनँ,’ उनले भनिन्, ‘मेरो काममा विश्वास गरेर अवसर प्रदान गर्नुभएकोमा अनि सम्मानका लागि हृदयदेखि आभार प्रकट गर्दछु ।’

गोर्खा मिडियाका प्रवन्ध निर्देशक मिलन गुरुङले गोर्खा मिडियाले समाज सेवा र नेपालबाट समाचार सम्पादनमा सीताराम गुरागाईं र समाचार वाचिकाका रूपमा थापाले पुर्याएको योगदानका कदर गर्दै सम्मान गरिएको जानकारी दिए । आगामी दिनमा पनि ‘सूचना र सामाजिक सेवा सँगसँगै’ मूल नारालाई आत्मसात् दिँदै अघि बढ्ने उनले प्रतिबद्धता जनाए ।
सो अवसरमा गोर्खा मिडियाले पत्रकारद्वय सीताराम गुरागाईं र जुना थापालाई सम्मान गरेको थियो । गोर्खा मिडियाको पाँचौँ वार्षिकोत्सवमा घोषणा भएर हस्तान्तरण हुन बाँकी रहेको पुरस्कार प्रदान गरिएको हो । दुवै जनालाई कार्यक्रमका प्रमुख अतिथि कमल गुरुङ, तमु धीं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ र गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमुले जनही नगद २० हजार रुपैयाँसहित सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
गोर्खा मिडियाले १४ सेप्टेम्बर २०२५ मा यूकेमा आफ्नो पाँचौँ वार्षिकोत्सव मनाइसकेको छ । उक्त समयमा बाँकी रहेको सम्मान प्रबन्ध निर्देशक मिलन गुरुङ नेपाल आएको बखत प्रदान गरिएको हो ।
कार्यक्रममा सहारा यूकेका निवर्तमान अध्यक्ष कृष्ण गुरुङ, कोल्मा बहाकोट समाजका अध्यक्ष चन्द्र गुरुङ, समाजसेवी भोज गुरुङ र कृष्ण गुरुङ, रोदी टेलिभिजनका संरक्षक मगबहादुर गुरुङ, एभरेस्ट एफएमका प्रबन्ध निर्देशक दीपेन्द्र श्रेष्ठ, फोटो पत्रकार संघ कास्कीका अध्यक्ष राम गुरुङ, गोर्खा एफएमका स्टेसन मेनेजर खिमा गुरुङ, पत्रकार सुमन गुरुङ, साहित्यकार गोरी तमु, समाजसेवी राजनकुमार ढकालसहित पोखराका स्थानीय समाजसेवी र पत्रकारहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रम सञ्चालन स्टार स्टुडियोका प्रोप्राइटर जशु गुरुङले गरेकी थिइन् भने नेपाल मगर संघ समन्वय समिति कास्कीका निवर्तमान अध्यक्ष सरिता सारु मगरले सहयोगीको भूमिका निर्वाह गरेकी थिइन् । सोयेत श्रेष्ठले फोटो खिचेका थिए ।