लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्ष पदमा बेलायतवासी डा.हेमराज शर्माले उम्मेदवारी घोषणा गरेका छन् ।
आइतबार भर्चुअल कार्यक्रममार्फत डा. शर्माले एनआरएनएको रिब्रान्डिङ्ग लागि १३ बुँदे रोडम्यापसहित नेपाली डायस्पोराको साझा शक्तिशाली संस्था बनाउने परिकल्पना गर्दै आफूले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । एनआरएनएको नयाँ नेतृत्वका लागि आगामी मार्च १४ देखि १६ सम्म काठमाडौंमा १२औं महाधिवेशन हुँदैछ ।
बेलायतस्थित लिभरपुल विश्वविद्यालयमा भौतिक शास्त्रका प्राध्यापक डा. शर्माले विगतमाभन्दा फरक पृष्ठभूमिको नेतृत्वलाई हेरौं भन्दै आसन्न १२औं महाधिवेशनमार्फत अध्यक्ष पदमा निर्वाचित भई फरक र नवीन दृष्टिकोणसहित एनआरएनएको रिब्रान्डिङ गर्ने प्रतिबद्धता व्यक्त गरे ।
एनआरएनएको स्थापनाकालदेखि संस्थामा सक्रिय डा. शर्माले संघको अभियानकै परिणामस्वरूप नेपाल सरकारले गैरआवासीय नेपाली सम्बन्धी ऐन, नागरिकता, लगानी, आप्रवासी श्रमिकसँग सम्बन्धित सामाजिक सुरक्षालगायत महत्त्वपूर्ण मुद्दाहरू सम्बोधन गरेको बताए ।
डा. शर्माले संस्थापनाकालको दाँजोमा प्रविधिको तीव्र छलाङ, देशको बदलिएको राजनीतिक परिदृश्य, विश्व अर्थतन्त्रको रूपान्तरण, दोस्रो पुस्ताका एनआरएनहरूको बढ्दो संख्या र उनीहरूको नेपालप्रतिको संभावित दूरी, साथै नयाँ गन्तव्य देशमा जाने नेपालीहरूको निरन्तर वृद्धिले आफूहरुलाई नितान्त फरक परिस्थितिमा ल्याएको बताए ।
उनले एनआरएनएको वर्तमान चुनौतीहरूलाई आत्मसात गर्दै आगामी कार्यकालका लागि एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्को अध्यक्ष पदमा उम्मेदवारी प्रस्तुत गरेको बताए । आफ्नो १३ बुँदे घोषणापत्रमार्फत एकीकृत, समावेशी, प्रविधियुक्त, परिणाममुखी, दिगो, गतिशील, उत्तरदायी, पारदर्शी र निष्ठावान एनआरएनए, बहुआयामिक ज्ञान, सीप, एनआरएनका लागि एनआरएन, नेपाल सरकारको भरपर्दो साझेदार र नव प्रवर्तनका लागि एनआरएनए बनाउने उनले प्रतिबद्धता जनाए ।
कार्यक्रममा एनआरएनएका अध्यक्ष महेशकुमार श्रेष्ठले संघको आगामी निर्वाचन परराष्ट्र मन्त्रालयको निर्देशनअनुसार नै सम्पन्न हुने स्पष्ट पारे ।