लन्डन । बेलायत वेल्सको ब्रेकन सहर र नेपालको धम्पुस गाउँबीच मितेरी सम्बन्धको सातौं वार्षिकोत्सव मनाइँदै छ ।
धम्पुस र ब्रेकनबीच स्थापित भगिनी (ट्विनिङ) सम्बन्धको सातौं वार्षिकोत्सव यही २७ माघ बिहान ११ बजेदेखि धम्पुसको पोखरी गाउँस्थित आहालडाँडा पार्कमा एक समारोहबीच मनाउन लागिकै हो । सोही अवसरमा नेपालको प्रमुख पर्यटकीय गन्तव्य धम्पुसमा ङ्यो (आहाल) डाँडा पार्कको औपचारिक उद्घाटनसमेत गरिन् मेजर खुसीमान गुरुङ एमभीओले जानकारी दिए ।
गण्डकी प्रदेशका सांसद गणेशमान गुरुङको प्रमुख आतिथ्यमा आयोजना हुने कार्यक्रममा गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङ, वडा नं. ७ का अध्यक्ष बैकुण्ठ भण्डारी र धम्पुस परिवार यूकेका पदाधिकारीहरूको उपस्थिति रहने छ । पार्क उद्घाटन समारोहमा सहभागी हुन धम्पुस–ब्रेकन ट्विनिङ टाउनका संयोजक मेजर खुसीमान गुरुङ एमभीओलगायतको टोली धम्पुस पुगिसकेको छ ।
मेजर गुरुङका अनुसार पार्क निर्माणका लागि हाल बेलायतमा बसोबास गर्ने नेपालीहरूको संस्था धम्पुस परिवार यूकेले आर्थिक सहयोगमा मुख्य भूमिका निभाएको छ । साथै स्थानीय संघ-संस्था तथा चन्दादाताहरूको थप सहयोगमा पार्क निर्माण सम्पन्न भएको हो । योजना परिकल्पनाकार धम्पुस परिवार यूकेका गुप्तबहादुर गुरुङ हुन् । मेजरले अर्थ संकलन संयोजकको जिम्मेवारी निभाएका थिए ।
स्थानीयस्तरमा निर्माण कार्यको नेतृत्व निर्माण समिति संयोजक क्याप्टेन रक्षबहादुर गुरुङले गरेका थिए । धम्पुस परिवार यूकेका पूर्वअध्यक्ष इन्द्र (नारण) गुरुङको कार्यकालमा निर्माण सुरु भएको पार्क वर्तमान अध्यक्ष धनबहादुर गुरुङको कार्यकालमा सम्पन्न भएको हो । पार्कलाई सफल बनाउन संस्थाका पूर्वअध्यक्षहरू क्या. देवबहादुर गुरुङ, दयामल गुरुङ, अमरसिद्ध गुरुङ र कुमार गुरुङको पनि महत्वपूर्ण योगदान रहेको छ ।
पार्कको निर्माणसँगै धम्पुसको पर्यटनमा नयाँ आयाम थपिने र नेपाल–बेलायतबीचको जनस्तरको सम्बन्ध अझ प्रगाढ हुने विश्वास लिइएको छ ।
धम्पुस–ब्रेकन मित्रता थप सुदृढ हुने अपेक्षा
धम्पुस र ब्रेकनबीचको भगिनी सम्बन्धले दुई फरक संस्कृति र भूगोलका समुदायहरूलाई आपसी मित्रता, सद्भाव र सहकार्यको सूत्रमा बाँध्दै आएको छ । सातौं वार्षिकोत्सवको अवसरमा आयोजना हुने कार्यक्रमले यस सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास गरिएको छ । ब्रेकनबाट आएका पाहुनाहरूले धम्पुसको प्राकृतिक सौन्दर्य, संस्कृति र आतिथ्यको अनुभव गर्नेछन् ।
साथै सोही अवसरमा धम्पुसका सम्पूर्ण विद्यालयका छात्र–छात्रालाई पोलो सर्ट, ट्र्याकसूट सेट तथा स्टेशनरी सामग्री वितरण गर्ने कार्यक्रम पनि छ ।