लन्डन । नेपाली दूतावास लन्डनले ‘बेलायतमा अध्ययनरत नेपाली विद्यार्थीका सरोकार’ विषयक एकदिने सम्मेलन आयोजना गरेको छ ।
दूतावासले ब्रिटेन नेपाल सोसाइटी (बीएनएस) को सहकार्यमा पहिलो पटक एकदिने सम्मेलन गरेको हो । सम्मेलनमा बेलायती विश्वविद्यालय र कलेजमा अध्ययनरत विद्यार्थी, गृह मन्त्रालय, शिक्षा विभाग, ब्रिटेन–नेपाल चेम्बर अफ कमर्स, एनआरएनए यूके, पूर्वविद्यार्थीहरु, प्राध्यापक, शैक्षिक परामर्शदाता एवं सञ्चारकर्मी गरी ६० बढी प्रतिनिधि सहभागी थिए ।
काठमाडौँस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र बेलायती दूतावासका अधिकारीहरू पनि भर्चुअल रूपमा जोडिएका थिए । कार्यक्रमको उद्देश्य बेलायतका विश्वविद्यालय तथा कलेजहरूमा अध्ययनरत नेपाली विद्यार्थीले भोगिरहेका चुनौतीहरू पहिचान, ती चुनौती समाधानका सम्भावित उपायको खोजी तथा आगामी दिनमा अघि बढ्न सकिने कार्ययोजना तयार गर्नु रहेको दूतावासको भनाइ छ ।
अन्तरक्रियाले यूकेमा अध्ययनरत विद्यार्थीका वास्तविक समस्या बुझ्न र दीर्घकालीन समाधानतर्फ अघि बढ्न सहयोग पुग्ने विश्वास आयोजकको छ । दूतावासका अनुसार यो कार्यक्रम अन्तिम वा पूर्ण समाधान निकाल्ने प्रयास नभए पनि भविष्यमा व्यवस्थित रूपमा अघि बढाउन सकिने पहलहरूका लागि सहमति र गति सिर्जना गर्ने लक्ष्यमा केन्द्रित छ ।

कार्यक्रमको बिहानको सत्रमा विद्यार्थीहरूसहित सरोकारवाला निकायका प्रतिनिधि, विज्ञ तथा व्यवहारिक अनुभव भएका व्यक्तिहरूले आफ्ना धारणा र सुझाव प्रस्तुत गरेका थिए । यसले विद्यार्थीहरूले सामना गरिरहेका आर्थिक, शैक्षिक, भाषिक तथा सामाजिक समस्याबारे साझा बुझाइ निर्माण गर्न सहयोग पुर्याएको थियो ।
दिउँसोको सत्रमा दुईवटा प्यानल छलफल आयोजना गरियो, जसमा सहभागीहरूबाट आएका सुझावका आधारमा भावी कार्ययोजनाका मुख्य आधारहरूमा सहमति निर्माण गर्ने प्रयास गरिएको थियो ।
कार्यक्रममा कार्यवाहक राजदूत विपिन दुवाडीले बेलायतमा अध्ययनरत नेपाली विद्यार्थीले पाएको शैक्षिक सफलता र अनुभवप्रति खुशी व्यक्त गर्दै दूतावासमा आएका विद्यार्थीका गुनासा, उनीहरूले भोगेका समस्या र त्यसको समाधानका लागि दूतावासले गरेका प्रयासबारे जानकारी दिए । उनले अभिभावक, शैक्षिक परामर्शदाता, विश्वविद्यालय, समुदायका अगुवा र नेपाल–बेलायत दुवै सरकारबीच अर्थपूर्ण समन्वय र सहकार्य आवश्यक रहेको समेत औंल्याए ।
दूतावासले बेलायतमा समस्यामा परेका धेरै नेपाली विद्यार्थीको उद्धार गरेको र मानसिक तनावका कारण उपचाररत विद्यार्थीहरूसंग सम्पर्क गरी सहयोग गरेको कार्यवाहक राजदूत विपिन दुवाडीले जानकारी दिए ।
ब्रिटेन नेपाल सोसाइटीका अध्यक्ष निक हिन्टनले सम्मेलनले बेलायतमा अध्ययनरत विद्यार्थीका समस्या उजागर गर्दै उनीहरुका चुनौति सामना गर्न एक मार्गदर्शन बनेको बताए ।
भर्चुअल माध्यमबाट सम्मेलनलाई सम्बोधन गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव शिवकुमार सापकोटाले सहभागीका जिज्ञासाको जवाफ दिएका थिए । उनले उच्च शिक्षासम्बन्धी कानून र नियमहरू पुनरावलोकन, शैक्षिक परामर्शदाताहरूको निगरानी एवं समस्यामा परेका विद्यार्थीका लागि सहयोग संयन्त्र बलियो बनाउने विषयमा मन्त्रालय तयार रहेको अवगत गराए ।
कार्यक्रममा काठमाडौँस्थित बेलायती दूतावासका निर्देशक डिएगो मोरोसोले भर्चुअल सम्बोधन गर्दै अन्तर्राष्ट्रिय विद्यार्थीलाई सहयोग गर्नु सबैको जिम्मेवारी भएको बताए ।
ब्रिटिश काउन्सिल काठमाडौँका निर्देशक रस्टम मोडीले नेपाली विद्यार्थीलाई सहयोग गर्न काउन्सिलले गरेका प्रयासबारे जानकारी दिँदै आगामी दिनमा सबै सरोकारवालासँग मिलेर काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेका अध्यक्ष राजेन्द्र पुडासैनीले विदेश अध्ययनमा जाने नेपाली विद्यार्थीहरूका लागि नेपाल सरकारले स्पष्ट मार्गनिर्देशन (गाइडलाइन) सार्वजनिक गर्नुपर्ने आवश्यकता औंल्याए। साथै उनले बेलायती विश्वविद्यालयहरूलाई अन्तर्राष्ट्रिय विद्यार्थीहरूको आर्थिक क्षमताको कडाइका साथ मूल्यांकन गर्न आग्रह गरे।
सम्मेलनमा विभिन्न प्रस्तुति र छलफलहरू भएका थिए। छलफलको निष्कर्षमा सरोकारवालाबीच समझदारी बढाउने, समस्या र समाधान पहिल्याउने, अनलाइन विज्ञ मञ्च बनाउने, धेरै सरोकारवाला सम्मिलित परिषद् स्थापना गर्ने, नीति सुझाव तयार गर्न कार्यदल बनाउने र सहयोग बढाउने सहमति भएको छ । सबै सरोकारवालालाई एकै ठाउँमा ल्याएर छलफल गर्न आवश्यक रहेको निष्कर्ष सम्मेलनले निकालेको छ ।
सम्मेलनले बेलायतमा पढ्ने नेपाली विद्यार्थीको हित र सफलताका लागि सहकार्य जारी राख्ने प्रतिवद्धता गरेको छ ।


