बुद्धि सागरको उपन्यास ‘उसले दिएको उमेर’ पढेँ । गजब लाग्यो । म आफै पनि गाउँले ठिटो भएकाले पुस्तकमा उल्लेखित केही विषयवस्तु मेरो आफ्नै जीवनसँग ठ्याक्कै मेल खाए । कतै यो मेरै कथा त होइन ? जस्तो पनि लागिरह्यो ।
बुद्धि सागरको ‘कर्णाली ब्लुज’ पढेपछि उनीको लेखनसँग प्रेम बसेको हो । त्यसपछि ‘फिरफिरे’, ‘एक्लो’ र अहिले ‘उसले दिएको उमेर’ पनि पढ्ने अवसर पाएँ । उनी साँच्चै राम्रो लेखक मात्र होइन, संवेदनशील कवि पनि हुन् ।
उसले दिएको उमेर सरल भाषामा, सहज रूपमा बुझिने गरी लेखिएको पुस्तक हो । जम्मा १४ वटा शीर्षकमा पुस्तकलाई बाँडेर समेटिएको छ ।
जमुनाको रुख, मेरो पट्टु मेरो बिरालो, कमिक्सको मायाजाल, हुस गुरु, मैट्नी सो, प्रोजेक्टर, गोल्की, बर्मजङ्गको भिडियो, यो रेडियो नेपाल हो, उसले दिएको उमेर, मैले भगवान् देखेँ, भीरैभीर एउटा जिप, धन्नै मरिगएको र पिता ।
प्रायः सबै शीर्षक रोचक र आत्मीय छन् । सुस्मिता पञ्चदेवल माध्यमिक विद्यालयमा कक्षा १० मा भर्ना भएपछि कथाको कलम जवानीले सल्बलिएको देखिन्छ । सुस्मिता जहाँ जान्छिन्, बोकाहरू उतै लाग्छन् । उनलाई मन पराउन लेखक आफै पनि कस्सिएको देखिन्छ ।
कहिलेकाहीँ हेडसर नहुँदा अर्थशास्त्रको कक्षा नै हुँदैनथ्यो । सुस्मिता, म र साथी वसन्त सँगै डाँडा उक्लिन्थ्यौँ ।
‘आज मौका छ,’ वसन्तले सुटुक्क कानमा भन्यो, ‘चिठी दे ।’
‘चिठी त लेखेकै छैन,’ म तर्सिएँ ।
‘त्यसो भए आई लभ यू नै भन्दे । यस्तो मौका फेरि आउँदैन ।’
बुद्धि र सुस्मिताबीचको प्रेम अधुरै रहन्छ । एसएलसीपछि उनीहरूबीच भेटघाट नै हुँदैन । नौ वर्षपछि असनको ठेलमठेलमा अचानक भेट हुन्छ ।
‘म त काठमाडौँमै छु नि । मेरो त बिहे भइसक्यो । अहिले बुद्धनगर बस्छु । स्कुलमा पढाउँछु । छोरो पनि छ ।’
सुस्मिताले एकै सासमा सुनाउँछिन् । बुद्धि चुपचाप सुनिरहन्छ ।
रेडियोसम्बन्धी प्रसङ्ग त झन् मेरो आफ्नै जीवनसँग मिल्यो । गाउँमा हुँदा पञ्चायती व्यवस्था थियो । रेडियो राख्न पनि लाइसेन्स चाहिन्थ्यो । सीमित घरहरूमा मात्र रेडियो हुन्थ्यो । बुवा ब्रिटिस सेनाबाट अवकाश हुँदा फिलिप्स रेडियो ल्याउनुभएको थियो । त्यही रेडियो सुन्दै हुर्किएको हुँ म । रेडियो कार्यक्रममा आफ्नो नाम आउँदाको अनुभवलाई लेखकले अत्यन्तै अर्ग्यानिक ढंगले प्रस्तुत गरेको छ ।
घरमा बुवाको पैसा चोर्दाको डर, पिटाइ, गाउँमा भिडियो देखाउने नाममा पाएको धोका, कमिक्स पढ्दाको मज्जा, कराते सिक्दाको अनुभव, पट्टु र बिरालोसँगको आत्मीयता यी सबै बुझ्न पुस्तक आफै पढ्नैपर्छ ।
तर किन हो कुन्नि, पुस्तकको अन्त्यतिर आइपुग्दा दुई वटा शीर्षक जबरजस्ती घुसाइए जस्तो महसुस भयो । म जस्तो साधारण पाठकले यस्तो भन्नु जायज नहोला, तर आफ्नो अनुभूति मात्र राख्न खोजेको हुँ । ‘भीरैभीर एउटा जिप’ र ‘झन्नै मरिगएको’ पुस्तकका केही बोरिङ भागजस्तो लाग्यो । बुद्धि सागरजस्तो सशक्त लेखकले ती प्रसङ्गलाई छोट्याएर वा नसमेटे पनि हुन्थ्यो जस्तो लाग्यो ।
तर अन्तिम शीर्षक ‘पिता’ले भने सबै पाठकका आँखा अवश्य रसाउँछ ।
पिताजी अस्पतालको शय्यामा जीवनको अन्तिम घडीमा तड्पिरहेको बेला दाइ, दिदी र बहिनी कोही पनि साथमा थिएनन् । आमा र म मात्र थियौँ । मैले अवरुद्ध घाँटीले सोधेको थिएँ ।
‘बा, केही भन्नु छ ?’
सायद म पितालाई बिदा गरिरहेको थिएँ ।
‘केही छैन । मेरो मनमा कुनै बोझ छैन,’ पिताले भन्नुभयो ।
भन्छन्—प्रिय मान्छे टाढा हुँदा उसको मोह थाहा हुन्छ । तर कहिल्यै नफर्किने गरी गएको प्रिय मानिसप्रतिको मोह अझै गाढा हुन्छ, किनकि ऊ फेरि कहिल्यै भेटिँदैन ।
पिताहरू धेरै कुरा दिन्छन्, हामी बुझ्दैनौँ । जब बुझ्छौँ, पिता हुँदैनन् ।
लेखकले भावुक शैलीमा पुस्तकको बिट मारेका छन् । पुस्तक छोटो छ, मिठो छ, र गहिरो छ । अवश्य रमाउनुहुनेछ । पढ्नुहोला भन्छु ।
बुद्धि सागरज्यूलाई हार्दिक धन्यवाद ।