लन्डन । तमु प्ये ल्हु संघ यूकेले सर्प वर्गको बिदाइ र घोडा वर्गको स्वागत गर्दै परम्परागत रूपमा पूजाआजा गरी धूमधामले त–ल्होसार महोत्सव मनाएको छ ।
लन्डनको हेरो लेजर सेन्टरमा ३० डिसेम्बरका दिन भव्य समारोह गरेर महोत्सव मनाएको हो । बिहान १० बजेदेखि तमु धर्मगुरुहरु पच्यु र क्ल्हेप्रीले सामूहिक रूपमा छ्योप, पार्क र थासोँ पूजा गरेर जाने वर्ग र आउने वर्गको स्वस्तिशान्ति गराइएको थियो ।

पूजामा जाने (सर्प) वर्ग र आउने (घोडा) वर्गका मानिसहरूको ग्रहशान्ति तथा सर्प वर्ग र घोडा वर्गले भोग गर्दा असर पर्ने अन्य वर्गको ग्रहदशा शान्ति गराइएको थियो । धार्मिक दृष्टिकोणले बढी मान्यता राख्ने यो ल्होसार पर्वमा विशेष गरी पूजामा जपिएका प्हैरु (रिप) लगाई प्रसाद ग्रहण गरेमा ग्रहशान्ति हुने विश्वास छ । यसर्थ पूजामा भक्तजनको घुइँचो लागेको थियो ।
बेलायतका लागि नेपाली एम्बेसीका कार्यवाहक राजदूत विपिन दुवाडीको प्रमुख आतिथ्य रहेको महोत्सवमा बेलायतमा क्रियाशील विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको आतिथ्य रहेको थियो ।

धार्मिक पूजा, औपचारिक र सांस्कृतिक गरी तीन चरणमा सञ्चालन गरिएको कार्यक्रमको औपचारिक कार्यक्रम दिउँसो चार बजेदेखि सुरु गरिएको थियो । सांस्कृतिक कार्यक्रम साँझ ६ बजे सुरु गरिएको थियो । संघको अध्यक्ष क्या. डेम बहादुर योज तमुको सभापतित्वमा सचिव भेग च्हाक्ली तमु, युवा एम्बेस्डर सिर्जना च्हम्रु तमु र युवा सल्लाहकार दुर्गा योज तमुले औपचारिक कार्यक्रम सञ्चालन गरेका थिए ।
सो अवसरमा विभिन्न विश्व विद्यालयबाट उच्च शिक्षामा विद्यावारिधि हासिल गरेका छात्रछात्रालाई सम्मान गरिएको थियो । त्यसैगरि विभिन्न संघसंस्थाको नयाँ नेतृत्वमा निर्वाचित अध्यक्ष तथा बेलायती सेनामा कार्यरत विशिष्ट तहमा पदोन्नति प्राप्त गरेका गोर्खा अफिसरलाई पनि सम्मान गरी बधाई दिइएको थियो ।

प्रमुख अतिथि कार्यवाहक राजदूत दुवाडीले ल्होसार पर्व सांस्कृतिक रूपमा नेपाललाई चिनाउने एउटा विशेष पर्व रहेको बताएका थिए । संघका अध्यक्ष क्या. डेम बहादुर योज तमुले ल्होसार पर्वको महिमा र कार्यक्रमको उद्देश्यबारे प्रस्ट्याएका थिए ।
उनले तमु जातिको परम्परागत धर्म, संस्कार, संस्कृति, भाषा, भेसभुसा तथा इतिहासको संरक्षण संवर्द्धन तथा प्रवर्धन गर्दै नयाँ पुस्तालाई सिकाउन र हस्तान्तरण गर्न तमु प्ये ल्हु संघले व्यवहारमा अभ्यास गरिरहेको बताए ।
छोटो र मिठो औपचारिक कार्यक्रमपश्चात् भएको सांस्कृतिक कार्यक्रममा स्थानीय कलाकारको बेजोड प्रस्तुति थियो । नेपालदेखि आएका चर्चित गायक चिज गुरुङ, निर्जला गुरुङ र बालकाशी गुरुङको विशेष प्रस्तुतिले सांस्कृतिक कार्यक्रममा रौनकता थपेको थियो । करिब डेढ घण्टाको रमाइलो प्रस्तुतिपछि ल्हो (वर्ग) स्थानान्तरणको प्रतीक स्वरूप ल्होसार मार्किङको लागि कन्फेटी पोप्पर पड्काएर खुसीयाली मनाइएको थियो ।

ल्होसार महोत्सवलाई थप मनोरञ्जनात्मक बनाउनको लागि राफल ड्र समेत समावेश गरिएको थियो जसको पुरस्कार प्रायोजन प्रथम, द्वितीय र तृतीय क्रमशः जय श्री कृष्ण ज्वैलर्स हेरो, लामा ज्वेलर्स अल्डरसट र गोर्खा किचन, अल्डरशोटले प्रायोजन गरेका थिए ।
करिब १५ सयको हाराहारीमा जनमानसको उपस्थिति रहेको त–ल्होसार महोत्सव समग्रमा पाहुना सत्कार, खानपिन, शुभकामना आदानप्रदान एवं रमाइलो भेटघाट सबै पक्षमा रंग भरिएको थियो ।