केन्ट । फूलैफूलको बगैँचा भनेर चिनिने बेलायतको सुन्दर ठाउँ केन्टमा बसोबास गर्ने तमु (गुरुङ) समुदायको संस्था गुरुङ सोसाइटी केन्ट युकेले तमु ल्होसार २०८२ भव्य र सौहार्दपूर्ण वातावरणमा सम्पन्न गरेको छ ।
केन्टको फोकस्टोनस्थित हकिङज कम्युनिटी सेन्टरमा मंगलबार, ३० डिसेम्बर २०२५ का दिन सम्पन्न कार्यक्रममा सप्रि–ल्हो (सर्प वर्ग) लाई बिदाइ गर्दै त–ल्हो (घोडा वर्ग) लाई स्वागत गरिएको थियो ।

समाजका अध्यक्ष गोलमान गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सचिव वसन्त गुरुङले स्वास्थ्य तथा सुरक्षा सम्बन्धी जानकारी गराएका थिए । द्वितीय उपाध्यक्ष एवं कार्यक्रम संयोजक तोरण गुरुङले उपस्थित सबैलाई स्वागत मन्तव्यले स्वागत गरे । औपचारिक कार्यक्रम महासचिव पवित्र गुरुङले सञ्चालन गरेका थिए ।
समाजका अध्यक्ष गोलमान गुरुङ र प्रमुख अतिथि क्याप्टेन रिटायर्ड देबीजङ गुरुङले संयुक्त रूपमा पानसमा दीप प्रज्वलन गरी कार्यक्रम उद्घाटन गरे । कार्यक्रमका प्रमुख अतिथि समाजका ज्येष्ठ नागरिक क्याप्टेन रिटायर्ड देबीजङ गुरुङ तथा उनकी धर्मपत्नी भयो गुरुङ रहेकी थिइन् ।

विशेष अतिथिमा लेप्टेनेन्ट कर्नेल ललित गुरुङ एमभीओ र धर्मपत्नी, १ आरजीआरका गोर्खा मेजर बबिन्द्र गुरुङ र धर्मपत्नी, १ आरजीआरका रेजिमेन्टल सार्जेन्ट मेजर हेमराज राना र धर्मपत्नी, सगरमाथा गोर्खा नेप्लीज कम्युनिटी आसफोर्ड केन्टका उपाध्यक्ष मेजर रिटायर्ड मिलन चन्द्र राई र धर्मपत्नी, फोकस्टोन नेपाली कम्युनिटीका उपाध्यक्ष क्याप्टेन रिटायर्ड सुमन चन्द्र राई, आश्मी ज्वेलर्सका सञ्चालक भरत श्रेष्ठ र सुपुत्र साथै तमु धी यूकेका पूर्वअध्यक्ष हरि गुरुङ र धर्मपत्नीको उपस्थिति थियो ।
कार्यक्रममा ल्होसारको शुभकामना आदान–प्रदान सँगै जीसीएसई परीक्षामा उत्कृष्ट अंक हासिल गरेकी मेहेना गुरुङलाई ब्राइट फ्युचर अवार्ड २०२५ प्रदान गरिएको थियो । साथै, समाजप्रति निरन्तर र अतुलनीय योगदान पुर्याउँदै आएका समाजका दुईजना सदस्य गौतम गुरुङ र लक्ष्मी घलेलाई योगदानको कदरस्वरूप २०२५ को प्रशंसा पत्र प्रदान गरिएको थियो ।

त्यसै गरी विभिन्न स्थानमा उत्कृष्ट नृत्य प्रस्तुति गरेबापत निलु गुरुङ, संस्कृति गुरुङ, निग्चेन गुरुङ र एञ्जल गुरुङलाई पनि प्रशंसा पत्र प्रदान गरिएको थियो । दोस्रो चरणको सांस्कृतिक कार्यक्रम सांस्कृतिक सचिव उमादेवी गुरुङ र सह–सांस्कृतिक सचिव निर्मला गुरुङको संयोजनमा सञ्चालन गरिएको थियो ।
कार्यक्रममा स्थानीय कलाकार एञ्जल गुरुङ, सृष्टि गुरुङ, प्रितिका गुरुङ, आश्मा गुरुङ, निलु गुरुङ, निग्चेन गुरुङ, संस्कृति गुरुङ र रोजिना गुरुङले गुरुङ तथा नेपाली भाषाका गीतमा सुन्दर नृत्य प्रस्तुत गरेर दर्शकको मन जितेका थिए । साथै, स्थानीय गायक अमृत गुरुङको प्रस्तुति पनि विशेष आकर्षण रह्यो ।

नेपालबाट बेलायत सांगीतिक यात्रामा रहेका चर्चित लोक तथा दोहोरी गायक मौसम गुरुङ र गायिका सुनिला गुरुङको विशेष सांगीतिक प्रस्तुतिले ल्होसार साँझलाई अझै अविस्मरणीय बनाएको थियो । कार्यक्रममा गुरुङ भेषभूषा प्रतियोगितासमेत आयोजना गरिएको थियो । जसमा पुरुषतर्फ लेख गुरुङ र महिलातर्फ युवरानी गुरुङ विजयी भए ।
कार्यक्रममा समाजकी महिला संयोजक इशु गुरुङ र हिरा घलेद्वारा सञ्चालन गरिएको भाग्यशाली चिट्ठा (राफल ड्र) अन्तर्गत प्रथम पुरस्कार स्वरूप आधा तोला सुन लक्ष्मी घलेले जित्न सफल भइन् । राफल ड्रमा अन्य आकर्षक पुरस्कार पनि समावेश गरिएको थियो । साथै, समाजका सदस्यले आर्थिक सहयोग गरेको राफल ड्रमा गोर्खा भिल्ला आसफोर्डले डिनर भाउचर, गोर्खा हिल र एभरेस्ट क्यास एन्ड क्यारीले पनि आर्थिक सहयोग गरेका थिए ।

कार्यक्रमको व्यवस्थापनमा विभिन्न सहयोगी हातको महत्वपूर्ण योगदान थियो । लेमन लिफ रेस्टुरेन्ट फोकस्टोनले भोजन व्यवस्थापन, गंगाराज राईले पीए सिस्टम र सुशी गुरुङ लिम्बुले सजावटको जिम्मेवारी सम्हालेका थिए । कलाकारका लागि श्रीमती सुधा गुरुङ र परिवारले १२ बक्स आकर्षक उपहार प्रायोजन गरेका थिए । सुलभ गुरुङ र परिवारले सम्पूर्ण छपाइ सामग्रीको प्रायोजन गरेका थिए ।
समाजका कोषाध्यक्ष मानबहादुर गुरुङ, सहकोषाध्यक्ष सन्तोष गुरुङ (क), सन्तोष गुरुङ (ख), खाना संयोजक नरेन्द्र गुरुङ, पेय पदार्थ संयोजक गणेश गुरुङ, महिला संयोजक इशु गुरुङ र हिरा घलेलगायत कार्यसमिति सदस्य तथा सल्लाहकारले प्रवेशद्वारदेखि स्वागत र सम्पूर्ण व्यवस्थापन सम्म उल्लेखनीय भूमिका निर्वाह गरेका थिए ।

कार्यक्रमको समापनमा समाजका अध्यक्ष गोलमान गुरुङले ल्होसारको शुभकामनासहित गुरुङ भाषा, संस्कार, संस्कृति, परम्परा, रीतिरिवाज साथै भेषभूषाको संरक्षण र संवर्द्धन गर्नुपर्नेमा जोड दिए । साथै वंशजको आधारमा गोर्खाहरूको नागरिकता निरन्तरता सम्बन्धी सबैलाई जानकारी गराए ।
कार्यक्रममा प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सबैप्रति धन्यवाद तथा आभार व्यक्त गर्दै अध्यक्ष गुरुङले सबैलाई तमु ल्होसार २०८२ र अंग्रेजी नयाँ वर्षको शुभकामना दिएका थिए ।
अन्त्यमा आमाबाबुदेखि युवायुवती र बालबालिका सबै सहभागीले उत्साहपूर्वक रमाइलो नाचगानमा सहभागी भई कार्यक्रमलाई झनै उल्लासमय र अविस्मरणीय बनाएका थिए ।
