लन्डन । तमु समाज युकेले तमु समुदायको भेषभूषा, भाषा, संस्कृति, संस्कार तथा परम्पराको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले ल्होछार विशेष कार्यक्रम आयोजना गर्ने भएको छ । उक्त कार्यक्रमअन्तर्गत समाजले 'उत्कृष्ट मौलिक तमु पोसाक' शीर्षकमा विशेष पुरस्कारको घोषणा गरेको छ।
कार्यक्रममा सहभागी महानुभावहरूमध्येबाट मौलिक तमु पोसाकमा उत्कृष्ट १ जना पुरुष र १ जना महिला छनोट गरी विशेष ट्रफीद्वारा सम्मान तथा पुरस्कृत गरिने तमु समाज युकेले जनाएको छ ।
तमु समाज युकेले हरेक वर्षझैं विविध कार्यक्रमसहित आगामी ३ जनवरी २०२६ मा ल्होछार/ल्होसार समारोह आयोजना गर्दै छ । ह्यारो लेजर सेन्टरको बायरन हलमा त ल्हो (घोडा वर्ग)को अवसरमा हुने कार्यक्रममा शुभकामना आदानप्रदान तथा बृहत् सांस्कृतिक कार्यक्रमलगायत आकर्षण गरेको तमु समाज युकेकी अध्यक्ष विन्दु कुमारी घले गुरुङले जानकारी दिइन् । उनका अनुसार नेपालबाट आएका गायक चिज गुरुङ, गायिका निर्जला गुरुङको दोहोरी भिडन्तलगायत कार्यक्रम हुनेछन् । कार्यक्रम साँझ ४:३० बजेदेखि राति साढे १२ बजेसम्म हुनेछ ।
यस्तै तमु समाज यूकेका प्रतिभाशाली कलाकारहरूद्वारा मनमोहक मौलिक सांस्कृतिक नृत्यहरू, गुरुङ समुदायको पारम्परिक भेषभूषा र सांस्कृतिक पोसाक पहिरिएका युवा युवतीहरुद्वारा त ल्हो (घोडा वर्ग) को स्वागत गरिने छ ।
राफल ड्रमा आकर्षक उपहार तथा पुरस्कारहरू जित्ने अवसरसमेत आयोजकले जनाएको छ ।
कार्यक्रममा सपरिवार उपस्थितिका लागि बेलायतवासी सम्पूर्ण तमु तथा नेपाली दाजुभाइ, दिदीबहिनी तथा आमाबुवाहरूलाई तमु समाज युकेले निमन्त्रणा गरेको छ ।
तमु वर्गचक्रअनुसार सप्री–ल्हो (सर्प वर्ग)को बिदाइ र घोडा वर्गलाई स्वागत गर्दै यस वर्ष तमु (गुरुङ) समुदायले बेलायत, नेपाल लगायत देशमा त ल्हो ल्होछार मनाउँदै छन् । गुरुङ समुदायले हरेक वर्ष पुस १५ लाई नयाँ वर्षको रुपमा मनाउँछन् ।